बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

ओलीलाई प्रचण्डको जवाफ : ‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएँ, तपाईंले तिर्नुपर्ने अझै एउटा बाँकी छ !

सोमबार, ०६ चैत २०७९, १७ : ०३
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अन्तर्गत नै अघि बढेको जवाफ दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आफुले पेस गरेको विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिए । उनले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गरे । पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफु खोज्दै त्यहाँ नगएको पनि बताए । 

‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन’, प्रचण्डले भने, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’ प्रधानमन्त्री प्रचण्डले आफुले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए ।  ‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

उनले अराजक ढंगले अघि बढेको भन्न नमिल्ने पनि बताए । ‘हामी विधि र संविधान अन्तर्गत नै अघि बढेका छौ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति सम्झौताभित्रै रहेर यहाँसम्म आएका छौ । राष्ट्रको हित र शान्तिका लागि हो ।’ उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताए । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भएपनि नेताको तहबाट अनुमोदित हुन नसकेको बताए । 

‘जनताले अनुमोदित गरे, कार्यकर्ताले अनुमोदित गरे, ठुलो आशाको सञ्चार भयो देशभर तर हामीले तीन बर्ष टिकाउन सकेनौ’, प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा विभाजन र संसदको पटकपटक विघटनबारे समीक्षा गर्नुपर्ने बताए ।  ‘त्यसको समीक्षा गर्नुपर्दैन ? एकले अर्कालाई दोषरोपण र कुर्तक गरेर हुँदैन । हामीसँगको केन्द्रीय सरकार र प्रदेश सरकार किन गुम्यो ? यो समीक्षा नगरी पानीमाथिको ओभानो बन्न मिल्दैन’ प्रचण्डको भनाइ छ । दुई महिनामा किन यस्तो भयो ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले शान्ति, संविधान र लोकतन्त्र गणतन्त्रका लागि भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप