अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा
काठमाडौँ । कीर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
१ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका १९ ओटा र लाइटहरू दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो ।
नियमित रूपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।