सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेश : सरकारको नेतृत्वबारे कांग्रेस र माओवादीबीच बन्यो त सहमति ?

एमालेका साथीहरुले भोलि सरकार छाड्नुहुन्छ : मुख्यमन्त्री
बिहीबार, ०९ चैत २०७९, २१ : १०
बिहीबार, ०९ चैत २०७९

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वको विषयमा सत्ता समीकरणका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच हानथाप चलेको छ । सरकारको नेतृत्वको विषयमा दुवै दलबिच विवाद हुँदा बुधाबारको प्रदेशसभा बैठकसमेत प्रभावित बनेको थियो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका लागि आह्वान गरिएको उक्त बैठकमा कांग्रेस अनुपस्थित भएको थियो । कांग्रेस उपस्थित नहुँदा मुख्यमन्त्री जम्कट्टेलको पेस गर्ने विश्वासको मत सम्बन्धी प्रस्ताव २ दिन पर धकेलिएको थियो । कांग्रेसले सरकारको नेतृत्व र सहभागिताको विषय टुङ्गिएपछि मात्र मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन आग्रह गरेको थियो । तर मुख्यमन्त्री जम्कट्टेल भने तत्काल विश्वासको मत सम्बन्धी प्रस्ताव टुङ्ग्याउने तयारीमा देखिन्थे ।

कांग्रेस र माओवादी केन्द्रबिच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्को विवाद कायमै छ । एमालेले सरकारबाट राजीनामा गरेपछि मात्र विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन कांग्रेसले मुख्यमन्त्री समक्ष शर्त राखेको थियो ।

उक्त शर्त पूरा नहुँदा प्रदेशसभा बैठक नै स्थगित गरी पुनः चैत १० गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव टेबुल गर्ने र छलफल अघि बढाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ । नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर लामाले भोलिको प्रदेशसभा बैठकमा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत दिने बताएका छन् । उनले विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागवण्डाका विषयमा भने छलपल हुनुपर्ने बताए ।

गठबन्धन दलहरुको बिचमा न्यूनतम सहमति भएपछि मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा हतार गर्नाले बुधबारको बैठक हुन नसकेको उनले बताए । त्यसमा कांग्रेस दोषी नभएको उनको दाबी छ ।

लामाले आफूहरुले मुख्यमन्त्रीसँग छलफलका लागि समय मागेको तर गठबन्धनका दलहरुभित्र हुनुपर्ने न्यूनतम समझदारीमा मुख्यमन्त्रीले चासो नदिँदा बुधबारको घटना भएको प्रस्ट पारे । प्रदेश सरकारको नेतृत्वको विषयमा भने गठबन्धन दलहरुका शीर्ष नेताहरुको निर्देशन अनुसार नै अगाडि बढ्ने नेता लामाले स्पष्ट पारे ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्ले पनि कांग्रेसले सरकारको नेतृत्वमा दाबी नछोडेको बताउँछन् । उनले प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने र त्यसका लागि पार्टीभित्र आन्तरिक तयारीहरु गर्नुपर्ने भएकाले बुधबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसकेको बताए ।

सरकारको नेतृत्व केन्द्रले टुङ्ग्याउने भए पनि प्रदेश तहबाट स्पष्ट खाका तयार गरेर अघि बढ्ने कांग्रेसको तयारी रहेको उनको भनाइ छ । वर्तमान सरकारको निरन्तरताभन्दा पनि बदलिएको राजनीतिक समीकरणमा कांग्रेसको माग र दाबीका विषयमा मुख्यमन्त्रीदेखि पार्टी केन्द्रलाई पनि प्रस्ट पार्ने तयारी गरिएको उनले बताए ।

‘सरकारको नेतृत्वमा हाम्रो दाबी कायम छ । त्यसैको तयारीमा हामी हिजो आन्तरिक छलफलमा व्यस्त भयौँ । बदलिएको राजनीतिक समीकरणमा सरकारको नेतृत्व कांग्रेले पाउनुपर्छ भन्ने हाम्रो माग हो । सोही अनुसार मुख्यमन्त्रीदेखि पार्टी केन्द्रलाई स्पष्ट बनाउन हाम्रो तयारी हो,’ उनले भने ।

सरकारको नेतृत्व र सहभागिताको विषयमा प्रस्ट खाका बनाउन कांग्रेस संसदीय दलको बैठक बसेका कारण बुधबार आफूहरु प्रदेशसभा बैठकमा उपस्थित हुन नसकेको उनको भनाइ छ ।

उनका अनुसार कांग्रेसले शुक्रबारको प्रदेशसभा बैठकमा उपस्थित भएर मुख्यमन्त्रीलाई विश्वासको मत प्रदान गर्नेछ । ‘हिजो नै हामीले काठमाडौंमा संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरिसकेका छौं । सोही अनुसार हामी भोलिको बैठकमा उपस्थित भएर विश्वासको मत दिन्छौँ । सांसदहरुलाई सोही अनुसार निर्देशन जारी भएको छ,’ उनले भने ।

कांग्रेसकी सांसद माया श्रेष्ठले पार्टी केन्द्रबाट मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने गरी सूचना प्राप्त भएकाले सोही अनुसार शुक्रबारको प्रदेशसभा बैठकमा उपस्थित हुने बताइन् । यसअघि प्रदेश सरकारको नेतृत्वको विषयमा समस्या हुँदा पार्टीले बैठकमा उपस्थित नहुन निर्देशन दिएको र सोही अनुसार आफूहरु बुधबारको प्रदेशसभा बैठकमा अनुपस्थित भएको उनको भनाइ छ ।

सत्ता राजनीतिको विषयमा सांसदहरुले पार्टी केन्द्रको निर्देशन पालना गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।

कांग्रेसका प्रदेश सांसद प्रभात तामाङका अनुसार प्रदेशको ठुलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक हो । त्यसै विषयमा गठबन्धन दलहरुबिच छलफल अघि बढाउने तयारी कांग्रेसले गरेको उनले बताए ।

केन्द्रसँगको समन्वयमा प्रदेश सरकारको नेतृत्वको छिनोफानो गरेर अघि बढ्न कांग्रेस बागमती प्रदेश संसदीय दलको तयारी रहेको उनको भनाइ छ । कांग्रेसले सत्ता समीकरणमा नेतृत्व र सहभागिताको विषय टुङ्ग्याएर अघि बढ्न अगुवाई गरेको उनले बताए ।

यता नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेल शुक्रबारको बैठकबाट आफूलाई विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छन् । सरकारको नेतृत्व केन्द्रीय तहबाट निर्णय हुने भएकाले सो विषयमा विवाद नरहेको उनले बताए ।

उनका अनुसार अहिले सरकारको आधिकारिकता र सहभागिताको विषय भएको र यसमा सत्ता समीकरणका दलहरुबिच समस्या नरहेकाले प्रदेशसभा बैठकमा कांग्रेसका सांसद उपस्थित भएर विश्वासको मत प्रदान गर्ने उनको भनाइ छ ।

‘सरकारको नेतृत्वमा सत्ता साझेदार दलहरु सबैको दाबी छ । त्यो स्वाभाविक हो । नेतृत्वको विषय केन्द्रले टुङ्ग्याउँछ, त्यसैले यसमा विवाद छैन,’ उनले भने, ‘समीकरणमा रहेका दलहरु बीच आन्तरिक समस्या सुल्झाउन नसक्दा बुधबारको परिस्थिति बनेको हो । शुक्रबारको बैठकमा कांग्रेसका सांसदहरु उपस्थित हुनुहुनेछ र विश्वासको मत प्रदान गर्नुहुन्छ ।’

उनले एमालेका मन्त्रीहरुले पनि भोलि नै सरकार छाड्ने बताए । ‘एमालेका साथीहरुले पनि सहजै सरकारलाई मार्ग प्रशस्त गर्छु भन्नु भएको छ । उहाँहरुले संसद बैठकमा बोलेर राजीनामा गर्छु भन्नुभएको छ । राजनीतिक रुपमा त्यो पनि ठिकै हो । प्रदेशमा केन्द्र कै समीकरण अनुसार सरकार बन्छ । मैले शुक्रबारको बैठकमा विश्वासको मत पाउँछु ।’ उनले भने ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले नियुक्त भएको ६७ दिनमै दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशमा पुस २५ गते सरकारको नेतृत्व गरेका मुखयमन्त्री जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी र राप्रपाको समर्थन थियो । राष्ट्रपतिको निर्वाचनमा बनेको समीकरणपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सोही कारण चैत १२ गतेसम्ममा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।

गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप