शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेशसभा

प्रचण्डले एमालेलाई धोका दिए : थपलिया

शुक्रबार, १० चैत २०७९, १५ : ०६
शुक्रबार, १० चैत २०७९

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई विश्वासघात गरेको आरोप लगाए । उनले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सत्ता स्वार्थमा लागेर प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिएको बताए ।

‘संविधानले परिकल्पना गरेको दलीय व्यवस्थामा कुनै एउटा दलको सिद्धान्त समग्र देशको भूगोलमा एकै हुन्छ । हाल केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले सरकार बन्दा एमालेसँग गरिएको सहमति तोडेर सत्ता स्वार्थका लागि अनेकौं बहानाबाजी गर्दै विश्वासघात गरेको छ,’ उनले भने, ‘नयाँ समीकरणको संघीय सरकारले झन् विभिन्न १०÷११ वटा राजनीतिक दलसँग घाँटी जोड्नुपर्ने बाध्यात्मक स्थिति छ र यसले  स्थिर सरकार दिन्छ भन्ने अपेक्षा गर्न कठिन छ ।’

सहमति र सहकार्यलाई अन्तिम बिन्दुमा नपु¥याई केन्द्रबाट जुन खालको धोकाको राजनीति सुरुवात भयो, त्यसको बाछिटा बागमती सरकारसम्म नआइपुग्ला भन्न नसकिने उनको भनाइ छ ।

सम्भावित घटनाक्रमलाई आकलन गरेरमात्र आज निर्णय गर्नु भन्ने गरिए पनि नेपालको राष्ट्रिय राजनीतिमा यस विषयलाई दृष्टिगत नगरी सत्ताको चोचो मोचो मिलाउन र विभिन्न प्रभावहरुमा परेर प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहमति तोडेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले खोला तरेर लौरो बनेको एमालेलाई बिर्सिएको उनको भनाइ छ ।

देशकोे भूराजनीतिक अवस्थाका कारण देशी तथा विदेशी शक्तिहरूले आ–आफ्नो स्वार्थ पूरा गर्ने प्रयास निरन्तर भइरहेको उल्लेख गर्दै उनले नेपाली राजनीतिक दलहरु उक्त विषयको मोहरा बन्नु दुःखद भएको बताए ।

एमाले राष्ट्रिय हितमा लाग्दै गर्दा देशी विदेशी शक्तिको प्रभावमा परी सत्ता समीकरण बदल्ने, सरकारी अंगहरु कमजोर पार्ने, आर्थिक नीति, विकास नीति र परराष्ट्र नीति असन्तुलनमा राख्ने, भ्रष्टाचार र पार्टीहरू बिचको सत्ता केन्द्रित द्वन्द्व कायम राख्ने दुस्प्रयास भएको उनले बताए ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्ष दलको दाबी गरेर दोहोरो चरित्र देखाएको थपलियाले बताए । ‘यस अगाडि स्पष्ट रुपमा को प्रतिपक्षी दल भन्ने स्पष्ट नभइकन कांग्रेसले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो । तर सरकारमाथि विश्वास छ पनि भन्ने अनि फेरि प्रतिपक्षी हौँ पनि भन्ने देखियो,’ उनले भने, ‘कांग्रेसको जस्तो दोहोरो चरित्र एमालेले देखाउँदैन । २ डुंगामा खुट्टा राखेर प्रदेश सरकारलाई अस्थिर बनाउने खेलमा एमाले लाग्दैन ।’

अब नेकपा एमालेको स्पष्ट बाटो भनेको सशक्त प्रतिपक्षी नै रहेको उनको दाबी छ । एमालेले अराजक र अराजनीतिक निर्णयको सधैँ खबरदारी गरिरहने उनले बताए ।

नयाँ समीकरणको सरकारले मितव्ययी र भ्रष्टाचारमुक्त रहँदै जनताप्रति थप उत्तरदायी बन्नुपर्ने उनको भनाइ छ ।

प्रदेशमा बन्ने आगामी सरकारले, संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सत्ता केन्द्रित राजनीतिबाट माथि उठेर गणतन्त्र संस्थागत गर्न, राष्ट्रियता सुदृढ पार्न, राजनीतिक स्थिरता ल्याउन, सामाजिक न्याय र सुशासन कायम राख्न सक्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप