शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बारासँग उपेन्द्र यादवको कस्तो छ सम्बन्ध ?

सबै शक्ति त्यही केन्द्रित
शनिबार, ११ चैत २०७९, १४ : ५२
शनिबार, ११ चैत २०७९

काठमाडौँ । वैशाख १० गते हुने उपचुनावलाई लिएर बारा र उपेन्द्र यादव यति बेला चर्चामा छन् । बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

सप्तरीबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका यादवले आफू संसद्मा आउनकै लागि रामसहाय यादवलाई उपराष्ट्रपति बनाएको टिप्पणी भइरहेको छ । यादवले आखिर बारा नै किन रोजे ? जबकि सप्तरी–१ बाट प्रतिनिधि सभा सदस्यमा जितेका नवलकिशोर साहले पनि आफू उपराष्ट्रपति बन्न तयार रहेको बताएका थिए । अन्य कुनै क्षेत्र खाली गराएर उनी चुनाव लड्न सक्थे । 

तर उपेन्द्र बारालाई रोज्नुको कारण त्यो ठाउँसँग उनको पुरानो सम्बन्ध नै हो । यादव र बाराको सम्बन्ध आजको मात्र होइन । उनी कम्युनिस्ट नेता हुँदादेखि नै बारा आवतजावत हुन्थ्यो । कम्युनिस्ट पार्टीका पुराना नेता हरिहर यादवसँग यादवको राम्रो सम्बन्ध थियो । 

हरिहर यादव नेपाल कम्युनिस्ट पार्टीको नेता हुँदा यादव सो पार्टीका विद्यार्थी नेता थिए । विद्यार्थी नेताको हैसियतमा हरिहर यादवसँग उनले पटक पटक प्रशिक्षण लिनुको साथै पटक पटक भेटेका पनि छन् । 

यादव भन्छन्, ‘हरिहर यादव तत्कालीन नेकपाका ठुलै नेता हुनुहुन्थ्यो, म त्यतिबेला विद्यार्थी नेता थिए । हाम्रो तत्कालीन नेता भएको कारणले हामीबीच भेटघाट भइरहन्थ्यो, कहिले काठमाडौँमा भेट हुन्थ्यो कहिले प्रवासमा त कहिले बारामा नै हुन्थ्यो ।’ 

त्यतिबेला पार्टीको कामका लागि बारामा बस्ने गर्थे । त्यतिबेला उपेन्द्र यादव सोचेका थिएन कि त्यही ठाउँबाट एक दिन चुनाव लड्नुपर्ने अवस्था आउनसक्छ । यादवले भने, ‘म त्यहाँबाट चुनाव लड्ने कि नलड्ने विषयमा पार्टीले कुनै निर्णय गरेको छैन यदि पार्टीले मलाई त्यहाँ चुनाव लड्न पठायो भने मेरो लागि सौभाग्य हुन्छ किनभने त्यो ठाउँसँग मेरो पुरानो सम्बन्ध छ । यदि म त्यहाँबाट चुनाव लड्ने मौका पाए भने सौभाग्यशाली ठान्छु ।’ उपेन्द्र यादव कम्युनिष्ट नेताकै रूपमा त्यहाँ जाँदा बतहु यादव, गोपाल ठाकुर जस्ता थुप्रै कम्युनिस्ट नेताहरूसँग चिनजान भएको थियो । रामबाबु यादव भन्छन्, ‘अहिले पनि बारामा उहाँ (उपेन्द्र यादव)लाई नयाँ भन्दा पुराना बुढापाकाहरूले धेरै चिन्छन् ।’ 

जसपा अध्यक्ष यादव सामाजिक संस्था (एनजिओ)को रूपमा मधेसी जनअधिकार फोरम नेपाल गठन गरेपछि पनि बारा जिल्ला पटक पटक जाने गर्थे । त्यहाँ पुरानो चिनजान भएको कारण उपेन्द्र यादवलाई त्यहाँ संगठन बनाउन समस्या भएन । रामबाबु यादव (वकिल), रामसहाय यादवलगायतका नेताहरूलाई त्यहिबेला नै फोरमसँग जोडेका थिए । त्यही भएर अहिले पनि बारामा जसपाको राम्रो संगठन छ ।  

सायद त्यही भएर होला जसपाका अध्यक्ष उपेन्द्र यादवले सारा शक्ति बारामा नै केन्द्रित गरेका छन् । उपराष्ट्रपति, मुख्यमन्त्री, यसअघि सभामुख, जसपा मधेस प्रदेश समितिका अध्यक्ष सबै बाराका नै हुन् । अब उपेन्द्र यादव स्वयं त्यहीबाट चुनाव लड्ने अन्तिम तयारीमा छन् । 

मधेस प्रदेशका सभामुख बारा जिल्लाकै सरोजकुमार यादव बनेका थिए । त्यही सरोजकुमार यादव अहिले मधेस प्रदेशका मुख्यमन्त्री बनेका छन् । उनी पनि बाराकै हुन् ।  

बाराबाट मुख्यमन्त्री मात्र होइन, त्यहाँबाट उपराष्ट्रपति पनि बनाएका छन् उनले । २०७९ मङ्सिर ४ गते भएको चुनावमा बारा–२ बाट जितेका रामसहाय यादवलाई उपेन्द्र यादवले उपराष्ट्रपति बनाएका छन् । त्यही खाली भएको ठाउँबाट आफू निर्वाचित हुने गरी चुनाव लड्ने तयारीमा छन् । 

यसरी बाराबाट नै उपराष्ट्रपति, मुख्यमन्त्री, सभामुख, मधेस प्रदेशका अध्यक्ष भएपछि पार्टीका आकर्षण त्यहाँ देखिएको छ । अब पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि त्यही ठाउँबाट चुनाव लड्ने निश्चित भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरू खुसी देखिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप