बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष

कसरी सुरु भयो उपेन्द्र र सीकेबीच अन्तरद्वन्द्व ?
बिहीबार, ०९ चैत २०७९, १३ : ०५
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । सत्ता साझेदार दल जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि एक पटक आमनेसामने हुने भएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने उद्घोष नै गरेका हुन् । बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाए । यादवमाथि खनिएका राउतले उनलाई ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरे । 

गत मङ्सिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा यादव राउतसँग पराजित भएका थिए । त्यसैले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादव सो क्षेत्रबाट संसद्मा ‘कम्ब्याक’को तयारी लागेका छन् । तर राउतले बारामा पनि यादवका विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

उनले यादवलाई नहराएसम्म मधेसमा परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् । ‘के बारामा कोही माइकालाल छैन, उपेन्द्र यादवसँग चुनाव लड्ने ?,’ उनले प्रश्न गरे । राउतले बारामा आफ्नो पार्टीबाट जबरजस्त उम्मेदवारी दिलाउने घोषणासमेत गरेका छन् । उनले गढीमाइको दर्शन गरेर ‘मिसन–२’ सुरुसमेत गरेका छन् । 

अहिले जसपा र जनमत पार्टी एउटै गठबन्धनमा छन् । मधेस प्रदेश सरकारमा पनि दुवै दल सहकार्य गरेका छन् । तर अध्यक्ष राउत गठबन्धनले गरेको निर्णयविपरीत गइरहेका छन् । यसअघि गठबन्धनले जसपाका रामसहाय यादवलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउँदा  राउतले आफ्नो पार्टीबाट पनि उपराष्ट्रपतिमा उम्मेदवार उठाएका थिए । गठबन्धनको बैठकमा अध्यक्ष राउतलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवारलाई निष्क्रिय गर्न आग्रह गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका थिए । 

बारा–२, चितवन–२ र तनहुँ–१ मा को–कसलाई उम्मेदवार बनाउनेबारे अहिलेसम्म गठबन्धनमा कुनै निर्णय भएको छैन । गठबन्धनमा रहेका दलहरू गठबन्धनको निर्णयको प्रतीक्षामा छन् । जसपाले बारा–२ का लागि औपचारिक रूपमा उम्मेदवारको घोषणा गरिसकेको नभए पनि जनमत पार्टीले सार्वजनिक रूपमा नै उम्मेदवारी दिने घोषणा गरेको छ । यसले जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच चर्को अन्तरद्वन्द्व रहेको पुष्टि हुन्छ । यद्यपि, अघिल्लो चुनावको तथ्याङ्क हेर्दा जनमत पार्टी बारामा निकै कमजोर देखिएको छ । बारा–२ मा सबभन्दा राम्रो संगठन जसपाको नै रहेको छ । 

राउत भर्सेस यादव

यादव र राउतबीचको राजनीतिक टकराव धेरै अघिदेखिको हो । राउत मधेस आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा प्रवेश गरेका थिए । मधेसी मोर्चाले २०६४ सालमा टुँडिखेलमा आयोजना गरेको आमसभामा राउत पहिलोपटक देखिएका थिए । राउतको ‘इन्ट्री’ लाई यादवले भने रुचाएका थिएनन् । मधेसका अन्य पार्टीसँग राउतको सम्बन्ध राम्रो रहे पनि यादवले उनलाई कहिले महत्त्व दिएनन् । त्यहीँबाट बीजारोपण भएको यादव र राउतबीचको राजनीतिक द्वन्द्व अहिलेसम्म जारी रहेको छ । 

रोचक कुरा, दुवै नेता एउटै जिल्लाका मात्र होइन, एउटै पालिकाका हुन् । तर आन्दोलनमा हुँदा राउतले सबैभन्दा बढी ‘टार्गेट’ यादवको पार्टीलाई नै गर्थे । यहाँसम्म कि राउतले यादवलाई ‘काला नाग’ भनेर सम्बोधन गर्थे  । 

राउतले तराई मधेसमा आफ्नो प्रतिस्पर्धीका रूपमा यादवको पार्टीलाई नै मान्दै आएका छन् । जसपालाई कमजोर नगरेसम्म मधेसमा बलियो हुन नसक्ने जनमतको निष्कर्ष छ । मधेस प्रदेशमा सबैभन्दा बलियो रहेको जसपाले पनि पछिल्लो समय आफ्नो प्रतिस्पर्धीका रूपमा जनमत पार्टीलाई नै देखेको छ ।

मूलधारमा सिके 

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ फागुन २४ गते सीके राउतसँग वार्ता गरेर उनलाई मूलधारको राजनीतिमा ल्याएका थिए । त्यतिबेला जसपा अध्यक्ष उपेन्द्र यादव सोही सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए । ओलीले राउतलाई यसरी महत्त्व दिएर मूलधारमा ल्याएको कुरा यादवलाई फिटिक्कै मनपरेको थिएन । यादवले सरकारमा त्यसको विरोधसमेत गरेका थिए ।

त्यतिबेला ओली र यादवबीच पनि राम्रो सम्बन्ध थिएन । यादवलाई कमजोर गर्नकै लागि ओलीले ‘राउत कार्ड’ प्रयोग गरेको धेरैको बुझाइ रहेको छ । २०७५ भदौ ७ गते यादव बर्दिया जाँदा राउतका कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राउतका कार्यकर्ता राममनोहर यादवको थुनामै निधनसमेत भयो । त्यो घटनाले उपेन्द्र यादव र सीके राउतबीच झन् दुरी बढायो । त्यसपछि जनमत पार्टीका कार्यकर्ताले जहिल्यै पनि यादव नेतृत्वको पार्टीलाई निशाना बनाइरहे । 

गत माघ ५ गते जसपा नेतृ एवम् तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेणु यादव एउटा कार्यक्रमका लागि जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कालो झण्डा देखाए । भाटा नै लिएर बसेका उनीहरूले मन्त्रीलाई कार्यक्रममा जानबाट उनीहरूले रोक्ने प्रयास गरे । त्यसपछि बाध्य भएर रेणु यादव अर्को बाटो हुँदै कार्यक्रममा सहभागी भइन् ।

त्यसरी नै जसपाका तत्कालीन नेता महिन्द्रराय यादव कृषि मन्त्री भएको बेला बाँके जाँदा त्यहाँ जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । त्यहाँ पनि तत्कालीन मन्त्री यादवले बीचमै कार्यक्रम छाडेर हिँड्नुपरेको थियो । त्यतिबेला अन्य पार्टीका मन्त्री तथा नेताहरूलाई मधेसमा सीके राउतका कार्यकर्ताले निशाना बनाएनन् तर जसपाका नेता तथा मन्त्री उनीहरूको तारो बनिरहे ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि मधेसवादी दल मानिन्छ । तर राउतले सो दललाई कहिल्यै निशाना बनाएनन् । जसरी राउतले लोसपाका बारेमा टिप्पणी गर्दैनन्, त्यसरी लोसपाले पनि राउतको पार्टीको बारेमा टिप्पणी गरेको छैन । बरु सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सीके राउतले गरेको आन्दोलनलाई विज्ञप्तिमार्फत समर्थन जनाएका थिए । सो पार्टीका अन्य नेताहरू पनि सीके राउतको आन्दोलनप्रति सकारात्मक देखिन्छन् । लोसपाले जनमत पार्टीसँग मिलेर गठबन्धन पनि बनाएको छ । दुवै दल मुद्दामा सहकार्य गर्ने सहमति पनि गरेको छ ।

सीके राउतको मुद्दा

राउत तेस्रो मधेस आन्दोलनको विरोधी रहँदै आएका छन् । उनले स्वायत्त मधेस प्रदेशको विरोध गर्दै स्वतन्त्र मधेसको मुद्दा उठाएका थिए । २०६९ मा स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दादेखि नै राउतले यादवले उठाएको ‘स्वायत्त मधेस, एक प्रदेश’ मागको विरोध गर्दै हिँडेका थिए । 

उनले मधेसवादी पार्टीले उठाउने संघीयता, समावेशिता, समानुपातिक तथा लोकतन्त्रको नारा लिएर कहिल्यै आन्दोलन गरेनन् । उनी भ्रष्टाचारविरोधी अभियान, किसान आन्दोलन, नागरिकतालगायतका विषयमा बढी केन्द्रित रहे । संविधान संशोधनको मुद्दा उनको प्राथमिकतामा कहिल्यै परेन । उनले विभिन्न विषयमा आन्दोलन गरिरहे र मधेसलाई जगाइरहे । 

मधेसवादी दललाई कमजोर गर्न सीके राउतले ‘कोठली बाहर मोहर’ (कोठा बाहिर मतदान) को अभियानसमेत चलाएका थिए । जनमत पार्टीले गरेको आन्दोलनको विरुद्धमा जसपाले सप्तरीमा भाटासहितको र्‍याली नै निकालेको थियो । मधेसमा जनमत पार्टी बलियो भयो भने जसपा कमजोर हुन्छ भन्ने सो पार्टीका नेताहरूको बुझाइ छ ।

उपेन्द्रको सिको गर्दै सीके

इतिहासलाई हेर्ने हो भने राजनीतिमा सीके राउतले उपेन्द्र यादवकै सिको गरिरहेको देखिन्छ । यादवले पनि आन्दोलन सुरुवात गर्दा नेपाल सद्भावना पार्टीलाई आलोचना गर्थे, जसरी राउत जसपाको गर्ने गरेका छन् । यादवले पनि सुरुमा ठूल्ठूला नेतालाई वास्ता नगरी पार्टी बनाउँदा युवालाई नै भित्र्याउने काम गरे । अहिले राउतले पनि मधेसका युवालाई नै टार्गेट गरेका छन् ।

एउटा सामाजिक संस्थाबाट मधेसमा आन्दोलन सुरु गरेका यादवले पनि सीके राउतजस्तै क्रान्तिकारी भाषण गर्थे, युवाहरूमा जोस भर्थे र उनीहरूलाई सडकमा ओराल्थे । 

उपेन्द्र र सीकेको शक्ति

अघिल्लो चुनावमा मधेस प्रदेशमा मधेसी दलमध्ये सबैभन्दा लोकप्रिय पार्टी सीके राउत नेतृत्वको जनमत पार्टी भएको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार जनमत पार्टीले मधेस प्रदेशमा तेस्रो स्थान ल्याएको छ । पहिलो स्थानमा कांग्रेसको छ भने दोस्रो स्थान एमालेले ल्याएको छ । 

जनमत पार्टीले तीनलाख २९ हजार १७७ मत ल्याउँदा जसपाले दुई लाख ९८ हजार ७७४ मत मात्र ल्याएको छ । जनमतले जसपाभन्दा ३० हजार ४०३ मत बढी ल्याएको छ । 

यद्यपि, मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ जनमतले एउटा मात्र सिट जित हासिल गर्दा प्रदेश सभातर्फ ६ वटा सिट जितेको छ । यादव नेतृत्वको जसपाले प्रतिनिधि सभातर्फ ६ वटा र प्रदेश सभातर्फ नौ सिट जितेको छ । 

जनमत पार्टीले मधेस प्रदेशको समानुपातिकतर्फ सबैभन्दा बढी मत सप्तरीमा नै ल्याएको छ । राउत पनि सप्तरी–२ बाट नै निर्वाचित भएका हुन् । 

मधेस प्रदेशको समानुपातिकतर्फ जनमतले सप्तरीबाट ८६ हजार ७०७, सिरहाबाट ५४ हजार ६५४, सर्लाहीबाट ४४ हजार ४९९, धनुषाबाट ४३ हजार ५२६, महोत्तरीबाट ३७ हजार १९३, रौतहटबाट ३० हजार ९९०, बाराबाट २४ हजार ३१३ र पर्साबाट सात हजार २५४ मत ल्याएको छ । 

मधेस प्रदेशमा जनमत लोकप्रिय मत ल्याए पनि त्यहाँको सरकारको नेतृत्व जसपाले गरेको छ । सो सरकारमा जनमतले दुईटा मन्त्रालय र उपसभामुख पाएको छ । यता केन्द्रमा पनि जसपाले उपराष्ट्रपति पाएपछि जनमत पार्टीका अध्यक्ष राउतले असन्तुष्टि जनाउँदै आएका छन् । सरकारको नेतृत्व र उपराष्ट्रपति दुवै जसपाले पाउन नहुने उनको तर्क छ । उनले दुईवटा मध्ये एउटा आफ्नो दलले पाउनुपर्ने अडान लिए पनि गठबन्धनमा उनको कुराको कुनै सुनुवाइ भएन ।

यता संघीय सरकारमा जनमत पार्टी एउटा मन्त्रालय लिएर सहभागी भएको छ । तर जसपा हालसम्म सहभागी भएको छैन । जसपाले पनि दुईटा मन्त्रालय पाएको थियो तर त्यसमा चित्त नबुझेको कारण पार्टी सरकारमै सहभागी भएन । त्यसो त खानेपानी मन्त्रालयमा जनमत पार्टीलाई पनि चित्त बुझेको थिएन । केही दिन त मन्त्रालयको कार्यभार नै सम्हालेन । तर पछि त्यही मन्त्रालय सम्हाल्न जनतम बाध्य भयो ।

अहिले हुने मन्त्रिपरिषद् विस्तारमा पनि जनमत पार्टीले थप मन्त्रालय पाउनुपर्ने दबाब गठबन्धनलाई दिइरहेका छन् । जसपाले पनि उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउनुपर्ने गठबन्धनमा कुरा राख्दै आएको छ । 

यद्यपि, जसपाले सरकारभन्दा बढी महत्त्व बारा–२ को उपचुनावलाई दिएको छ । बारामा जसरी पनि चुनाव जित्ने रणनीति बनाउन जसपा लागेको छ । सकभर गठबन्धनको साझा उम्मेदवार बन्नका लागि जसपाले प्रयास गरिरहेको छ । तर त्यो सम्भावना देखिएको छैन । 

जनमतका अध्यक्ष राउतले आफ्नो पार्टीले पनि त्यहाँ उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यी दुई नेताको टक्करले बारा–२ मा कस्तो परिणाम ल्याउँछ त्यो हेर्न बाँकी नै छ । बारामा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप