बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बारा–२ उपेन्द्र यादवलाई छोड्नु परे मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

कांग्रेसबाट राधेचन्द्र यादव उम्मेदवारका लागि सिफारिस, माओवादीका शिवचन्द्र कुशवाहा पनि उम्मेदवार बन्ने
सोमबार, १३ चैत २०७९, १७ : ०१
सोमबार, १३ चैत २०७९

बारा । बारा–२ मा आगामी वैशाख १० गते संघीय सांसदको लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन नजिकिएसँगै गठबन्धनको आधिकारिक उम्मेदवार को हुने भनेर रस्साकस्सी सुरु भएको छ । बारा–२ बाट संघीय सांसद निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । 

केन्द्रमा चारदलीय गठबन्धनका शीर्ष नेताहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा उठाउने आन्तरिक रूपमा तयारी गरिरहेका छन् । तर, केन्द्रमा ठूला दलका शीर्ष नेताहरूले गरेको निर्णय तिनकै कार्यकर्ताहरूले मान्ने अवस्था भने जिल्लामा देखिँदैन ।

गएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा शून्य अवस्थामा पुगेको कांग्रेसले यस पटक बारा–२ आफूले पाउनुपर्ने क्षेत्रीय सभापतिहरूको दाबी छ ।

नेपाली कांग्रेस बारा क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादवले केन्द्रमा शीर्ष नेताहरूले निर्णय गर्दैमा बारा–२ मा कांग्रेसका मतदाताले उपेन्द्र यादवलाई भोट नहाल्ने बताएका छन् । 

‘कांग्रेसका मतदाताले सधैँ अरू दलका उम्मेदवारलाई भोट हाल्नुपर्ने ? केन्द्रका नेताहरूको आफ्नो स्वार्थ होला तर हामी उपेन्द्र यादवलाई कुनै हालतमा स्वीकार्दैनौ ।’ क्षेत्रीय सभापति यादवले भने, ‘ठूला नेताहरूको कारण आज बारामा कांग्रेस शून्य अवस्थामा पुगेको छ, हाम्रो माग मित्रवत् प्रतिस्पर्धा हुनुपर्छ भन्ने हो ।’ 

बारा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका ५ वटा स्थानीय तहमध्ये महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको प्रमुख, उपप्रमुख नेपाली कांग्रेसको नेतृत्वमा छ । 

क्षेत्रीय सभापति यादवले कांग्रेसले आफ्नो उम्मेदवार उठाए उपेन्द्र यादवको हार निश्चित भएको दाबी गरेका छन् । ‘मधेस प्रदेशमा चुनावी गठबन्धन सफल भएको छैन । केन्द्रमा सरकार बनाउन भएको गठबन्धनलाई चुनावी गठबन्धन भन्न मिल्दैन । बारा–२ मा हामी गठबन्धन स्वीकार्दैनौ, कांग्रेसले आफ्नो उम्मेदवार उठाउँछ’ उनले प्रष्ट शब्दमा भने ।

नेपाली कांग्रेस बारा–४ का क्षेत्रीय सभापति सुनिलकुमार गुप्ता  पनि बारा–२ मा कांग्रेस एक्लै लड्दा जित सुनिश्चित भएको दाबी गर्छन् । उनले पहिले गठबन्धनले बारामा कांग्रेस शून्य स्थितिमा पुगेको बताउँदै अब मित्रवत् प्रतिस्पर्धामा जाँदा उचित हुने विचार राख्छन् ।

उता नेपाली कांग्रेस बारा क्षेत्र नं ३ का क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले बारा–२ उपेन्द्र यादवका लागि छाड्नु परे मधेस प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने जिकिर गर्छन् । 

‘बारा–२ उपेन्द्र यादवका लागि छोड्नुपरे गठबन्धनको ठूलो दलको हिसाबले कांग्रेसले मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ क्षेत्रीय सभापति चौरासियाले भने । उनले जसपालाई उपराष्ट्रपति, मधेस प्रदेशको मुख्यमन्त्री र बारा–२  सबै छोड्न नसकिने बताए ।

बारा–४ (ख) का अर्का क्षेत्रीय सभापति लोकेश सिंहले भने, ‘बारा–२ नं क्षेत्रमा नेपाली कांग्रेसको जो सुकै उम्मेदवार उठेपनि सजिलै जित्छ । अरू दललाई स्वीकार गर्ने कांग्रेस बारा जिल्लाको स्थिति छैन ।’ 

कांग्रेसबाट राधेचन्द्र यादवको नाम सिफारिस

वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले राधेचन्द्र यादवको नामक सिफारिस गरेको छ । कांग्रेस बारा–२ का क्षेत्रीय सभापति रामप्रवेश यादवका अनुसार क्षेत्रीय समितिले सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा नाम पठाएको हो ।

 ‘उहाँ चुनाव लड्न इच्छुक हुनुहुन्न तर बारा–२ मा राधेचन्द्र यादव नै चुनाव जित्ने हाम्रो बलियो उम्मेदवार हो । उहाँको नाम क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिलाई पठाइसकेका छौँ, अब जिल्लाले निर्णय गरेर केन्द्रमा पठाउँछ ।’ 

७ दशक नाघिसकेका अहिले सिफारिस भएका राधेचन्द्र यादव यसअघि २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, ४ पटक बारा जिल्ला सभापति, पार्टीको पूर्व केन्द्रीय सदस्य समेत हुन् । 

यता, नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले २ नं क्षेत्रबाट आएको सुझावका आधारमा जिल्ला कार्यसमितिको बैठकबाट थप निर्णय गर्ने बताएका छन् ।

माओवादीका कुशवाहाको पनि उम्मेदवारी

यसअघि मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यमा बारा–२ मा रामसहाय यादव निर्वाचित भएका थिए भने झिनो मतान्तरले माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहा पराजित भएका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशवाहाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले केन्द्रमा गठबन्धन गरे आपूm अन्य दलबाट वा स्वतन्त्र भए पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

जनमतको पनि उम्मेदवारी

यता जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले पनि सप्तरीका जनताले पराजित गरेका उपेन्द्र यादव चोरबाटोबाट संसद छिर्न बारा –२ मा चुनाव लड्न खोजेको भन्दै यादवविरुद्ध आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप