बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
महासंघ चुनाव

अञ्जानपछि उमेशलालले बनाए प्यानल, संघाईको कहिले ?

मङ्गलबार, १४ चैत २०७९, ०९ : ४५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अञ्जान श्रेष्ठपछि उमेशलाल श्रेष्ठले प्यानल सार्वजनिक गरेका छन् । महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जान श्रेष्ठले यसअघि नै प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अञ्जानले टिम घोषणा गरेको १४ दिनपछि पूर्व उपाध्यक्ष समेत रहेको उमेशले आज प्यानल सार्वजनिक गरेका हुन् ।

उमेशलालले सार्वजनिक गरेको प्यानलमा यसअघि वरिष्ठ उपाध्यक्षको दौडमा रहेका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ समेत रहेका छन् । दिनेश श्रेष्ठले यसअघि रातोपाटीसँग कुरा गर्दै आफू पनि वरिष्ठ उपाध्यक्षको दौडमा रहेको र छिट्टै प्यानल सार्वजनिक गर्ने बताएका थिए । तर, दिनेश श्रेष्ठ उमेशलालको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दोहोरिन तयार भएका छन् ।

यससँगै, उमेशलालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकाल छन् भने एसोसिएट उपाध्यक्षमा भरत आचार्य छन् । हेमराज ढकाल सुरुदेखि उमेशलालको प्यानलमा थिए भने भरत आचार्यलाई उमेशलाल र वरिष्ठ उपाध्यक्षकै अर्का प्रत्याशी रामचन्द्र संघाई आफ्नो प्यानलमा रहेको दाबी गर्दै आइरहेका थिए । तर, अन्तिम समयमा आचार्यले उमेशलाल श्रेष्ठकै प्यानलबाट चुनाव लड्ने निर्णय गरेका छन् ।

यही चैतको २८ र २९ गते हुने साधारण सभा तथा निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्नेछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल स्वतः २०औँ अध्यक्ष बन्नेछन् । र, उनले आगामी ३ वर्ष महासंघको नेतृत्व सम्हाल्नेछन् । महासंघले निवर्तमान अध्यक्ष भवाणी राणाको पालादेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान सुरु गरेको थियो ।

यही प्रावधानअनुसार महासंघले राणासहित वर्तमान अध्यक्ष शेखर गोल्छालाई अध्यक्षकारुपमा पाइसकेको छ । यस्तै, यही चैतदेखि ढकाल समेत वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष चुनिने छन् भने उक्त निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायीले आगामी ३ वर्षपछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

दुई पक्षीय भिडन्त पक्का

महासंघका पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ २०७७ सालमा सम्पन्न निर्वाचनमा समेत वस्तुगत उपाध्यक्षमा दोहोरिने प्रयास गरेका थिए । तर, महासंघको एउटै पदमा दोस्रो पटक दोहोरिने प्रयास गरेका उनलाई पराजित गर्दै अञ्जान श्रेष्ठ वस्तुगत उपाध्यक्ष बनेका थिए । यसपटक भने महासंघको नेतृत्व नै सम्हाल्ने गरी उमेशलाल श्रेष्ठ अघि बढेका छन् । यससँगै अहिलेसम्मको स्थितिमा महासंघको वरिष्ठ उपाध्यक्षमा दुई पक्षीय भिडन्त पक्का भएको छ ।

यसअघि, फागुन ३० गते काठमाडौँमा आफ्नो प्यानल सार्वजनिक गर्दै वस्तुगत उपाध्यक्षले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका थिए । तत्कालीन समयमा महासंघको वरिष्ठ उपाध्यक्षको दौडमा रहेका ४ जनामध्ये अञ्जान श्रेष्ठले सबैभन्दा सुरुमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । यसपछि, आज पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले समेत आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

यसअघि आफ्नो प्यानलबारे जानकारी दिइसकेका अञ्जानको टिममा एसोसिएट उपाध्यक्षतर्फ ज्योत्स्ना श्रेष्ठ छिन् । उनी नेपाल रत्न तथा आभूषण संघकी वर्तमान अध्यक्ष समेत हुन् । यस्तै, श्रेष्ठको प्यानलमा वस्तुगततर्फ मनिषलाल प्रधान र जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी उम्मेदवार छन् । ज्योत्स्ना श्रेष्ठ ३ वर्षअघिकै चुनावमा उपाध्यक्ष पदको उम्मेदवारी दिने तयारीमा थिइन् । तर, ३ वर्ष पर्खेर उनले यसपटक उम्मेदवारी दिएकी हुन् ।

संघाईको प्यानल घोषणा कहिले ?

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका अर्का आकाङ्क्षी रामचन्द्र संघाईले भने प्यानल घोषणा गरिसकेका छैनन् । यद्यपि, संघाई यतिबेला आफ्नो टिम निर्माणमा जुटिरहेका छन् । उनले धनगढीमा पुगेर शनिबार छिट्टै टिमसहित उम्मेदवारी घोषणा गर्ने बताएका थिए । वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका संघाईको प्यानलमा भरत आचार्य उपाध्यक्ष उठ्ने भनिएपछि उनी उमेशलाल कित्तामा पुगिसकेका छन् ।

संघाईको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ सन्दीप अग्रवाल र जिल्ला नगरतर्फबाट सुरजकृष्ण वैद्य भय भइसकेका छन् । उपाध्यक्षको चर्चा रहेका आचार्य अर्कै कित्तामा पुगेपछि संघाई समक्ष एसोसिएट उपाध्यक्ष खोज्नुपर्ने बाध्यता आइलागेको छ । यद्यपि, संघाईले छिट्टै टिम सार्वजनिक गर्ने बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप