बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झापाका सडक समयमै निर्माण सम्पन्न गर्न सभामुखको ताकेता

मङ्गलबार, १४ चैत २०७९, १४ : ४१
मङ्गलबार, १४ चैत २०७९

बिर्तामोड । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्त्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न ताकेता गरेका छन् । पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न नभएका सडक आयोजनालाई पूरा गर्न सभामुखले सडक विभागका अधिकारीहरूसँग ताकेता गरेका हुन् । 

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलका अनुसार सभामुखले चासो लिएका चारमध्ये तीन सडकको काम तोकिएकै समयमा पूरा हुने बताए । ‘बिर्तामोड–कप्तानबारी सडकको म्याद अझै एक वर्ष बाँकी छ,’ उनले भने, ‘बाँकी तीन वटा सडक भने असार मसान्तसम्म पूरा हुने गरी गृहकार्य गरेका छौं ।’

प्रमुख सुरेश पौडेललाई सभामुख घिमिरेले रकमको अभाव हुन नदिने भन्दै निर्माणाधीन सडक पूरा गर्न निर्देशन दिएका छन् । ‘मन्त्रालय र विभागमा म पनि समन्वय गर्छु,’ सभामुखको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘काम पूरा गर्न तपाईँहरूको भूमिका हुनुपर्छ ।’ पौडेलले पनि ठेकेदार कम्पनीलाई छलफलका लागि बोलाइएको जानकारी दिँदै अब कि सडक पूरा गर्न नत्र कारबाहीका लागि तयार हुन सूचित गरिसकेका बताएको जनाए । 

चैत ८ गते झापा पुगेका सभामुख घिमिरेले बिर्तामोड–कप्तानबारी सडकको स्थलगत अवलोकनसमेत गरेका थिए । उनले जनप्रतिनिधि र स्थानीयबासीसँग भेट गर्दै सडक लगायतका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए । 

 

सभामुख घिमिरेले सैनिकमोड–गोलधाप सडक, शनिश्चरे–जयपुर सडक, बिर्तामोड–चन्द्रगढी सडक र बिर्तामोड–कप्तानबारी सडक असार मसान्तसम्म पूरा गर्न निर्देशन दिएका थिए । सैनिकमोड–गोलधाप सडक रकम अभावले रोकिए पनि सोमबार मात्रै रकमान्तर भएर पैसा आएको छ । ‘सभामुखज्यूले जसरी अभिभावकत्व निर्वाह गर्नुभएको छ, त्यसले हामीलाई ऊर्जा प्रदान गरेको छ, अब पैसाको समस्या छैन,’ पौडेलले भने, ‘नाला खन्ने लगायतका संरचना बनेका छन्, बाँकी काम पनि पूरा गर्छौँ ।’

शनिश्चरे–जयपुर सडकमा पनि ह्युमपाइप हाल्ने काम वैशाख १५ मा सकिने डिभिजन सडक प्रमुख पौडेलले जानकारी दिए । बिर्तामोड–चन्द्रगढी सडकमध्ये बिर्तामोड देउनियाँ पुलसम्मको ८ किलोमिटर सडकको काम यही आर्थिक वर्षभित्र पूरा गर्ने निर्माण कम्पनी कन्टेकले प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप