बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राजर्षि जनक विश्वविद्यालयमा विवादः विद्यार्थीको भविष्य अन्योल

आइतबार, १९ चैत २०७९, १३ : ५६
आइतबार, १९ चैत २०७९

काठमाडौँ । मधेस प्रदेशको राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ । विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । 
अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिव ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ । विश्वविद्यालयको भीसी, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीहरु नभएको करिव ११ महिना बढी भइसक्यो । विश्वविद्यालयमा ११ महिना अघिका प्रायः सबै पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाश प्राप्त गरिसकेका छन् तर सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन ।

विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरुले समयमा नै परीक्षामा फर्म भर्न समेत नपाएको विद्यार्थीहरुको गुनासो छ । विश्वविद्यालयको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यववस्थापन कमजोर रहेको बताए । उनले विद्यार्थीहरुलाई परेको समस्या क्याम्पस प्रमुखलाई भन्न समेत अहिलेसम्म प्रमुख समेत नभएको गुनासो गरे । 

उनले विश्वविद्यालयका कर्मचारी र शिक्षकको विवादका कारण विद्यार्थीको पढाइमा समस्या भएको बताए । उनले विद्यालयमा भर्ना भएको हिसावले हेर्दा अहिले पाँचौं औँ सेमेस्टरको पढाइ हुनुपर्ने भएपनि अहिलेसम्म तेस्रो सेमेस्टरको परीक्षाकै तयारीमा विद्यार्थीहरु रहेको बताए ।
त्यस्तै अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताए । उनले बैंकमा परीक्षा दस्तुर बुझाएर पनि परीक्षा फारम कहाँ गएर भर्ने भन्ने कुनै टुङ्गो नभएको बताए । 

विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताए । उनले सरकार विश्वविद्यालय स्थापना गरेर पदाधिकारी बिहीन हुँदा समेत मौन बस्नु जायज नभएको बताए । 
राजर्षि जनक विश्व विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

 विश्वविद्यालयको स्थापना तथा पदाधिकारीहरुको नियुक्तिसँगै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ । कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई आन्दोलनको केन्द्रमा परिणत हुँदै आइरहेको छ । विश्वविद्यालयका उपकुलपति झा २०७८ पुस २६, रजिष्ट्रार यादव २०७८ माघ ७, सेवा अयोगका अध्यक्ष लाभ माघ १० गते सेवा निवृत भएपनि अहिलेसम्म सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप