सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

माओवादीले बारा–२ मा उपेन्द्रलाई सघाउने, चितवन–२ र तनहुँ–१ मा अन्योल

आइतबार, १९ चैत २०७९, २३ : २६
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरे पनि ठोस निर्णय भइसकेको छैन । ती क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै साझा उम्मेदवार बनाउने सम्भावनालाई ध्यानमा राखेर माओवादी केन्द्रले तत्काल उम्मेदवारीबारे ठोस निर्णय नगरेको बताइन्छ ।

आगामी वैशाख १० गते उल्लेखित तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

बारा–२ मा यसअघि जसपा नेपालले जितेको थियो । सो पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेसँगै उक्त निर्वाचन क्षेत्र रिक्त रहेको थियो । त्यसैले उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपा नेपाललाई नै सघाउने तयारी भइरहेको छ । जसअनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त क्षेत्रमा जसपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।

बारा–२ मा माओवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको पार्टीका सचिव गणेश साहले बताए । ‘बारा–२ बाट हाम्रो पार्टीको उम्मेदवार हुने छैन । हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भइसकेको छ,’ साहले भने, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुने थियो । हामीले चुनाव हारेको क्षेत्र प¥यो । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी छ ।’

बारा–२ बाट तत्कालीन माओवादी नेता शिवचन्द्र कुशवाहाले चुनाव लड्ने तयारी गरेका थिए । माओवादीले उपेन्द्र यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । अब कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने भएका छन् ।

चितवन–२ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाका कारण रिक्त रहेको थियो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछाने नै फेरि उम्मेदवार बन्ने भएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तर माओवादी केन्द्रले पनि उम्मेदवारीका लागि तयारी गरिरहेको स्रोत बताउँछ ।

माओवादीले चितवन–२ मा उम्मेदवारको टुंगो नलगाएको चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । ‘चितवन–२ मा पार्टीले कसैको नाम सिफारिस गरेको छैन । पार्टी केन्द्रले जुन निर्णय गर्छ, त्यो कार्यान्वयन गरेर जान्छौँ । अहिलेसम्म पार्टीको आधिकारिक उम्मेदवार छैन,’ अधिकारीले भने ।

यस क्षेत्रबाट कसैको नाम सिफारिस नभएकाले कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सहयोग गर्न सक्ने आकलन छ ।

यस्तै, तनहुँ–१ मा माओवादी केन्द्रबाट पार्टीको कोषाध्यक्षसमेत रहेका श्रीराम ढकाल सहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस भयो । पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि कुनै निर्णय नभएको पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् ।

‘पार्टीले तनहुँ १ मा चुनाव लड्ने चार जनाको नाम सिफारिस ग¥यो । पहिलो नम्बरमा सिफारिस गरेका ढकालले उमेर र आर्थिक अवस्थाका कारण चुनाव लड्न नसक्ने निर्णय गर्नुभयो,’ कोइरालाले भनिन्, ‘अब दोस्रो नम्बरमा सिफारिस ओमकुमारी पौडेल वा अन्य कुनै नेता उठ्नु सक्नुहुन्छ ।’

जिल्लाबाट चार जनाको नाम सिफारिस भएकाले चार जनाबाट एक जना उम्मेदवार हुने कोइरालाले बताइन् । यसअघि निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति भएपछि रिक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप