शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रामचन्द्र पौडेललाई राष्ट्रपति बनायौं, वैशाख १० मा धन्यवाद दिनुस् : गगन थापा

सोमबार, २० चैत २०७९, १५ : ३१
सोमबार, २० चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोविन्द भट्टराईलाई मत नहाल्नुको कारण नरहेको बताएका छन् । तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा उनले तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेललाई गठबन्धनले राष्ट्रपति बनाएर तनहुँबासीको सम्मान गरेको बताए । 

‘राष्ट्रपति बनाएकोमा रिसाउनु भएको छ भने गोविन्द भट्टराईलाई मत नहाल्नुहोस् । खुसी हुनु भएको छ भने गोविन्द भट्टराईलाई किन मत नहाल्ने ?,’ उनको प्रश्न छ, ‘तपाईले जिताएर पठाएको सांसदलाई राष्ट्रपति बनाएर कांग्रेस र गठबन्धनले सम्मान गर्याे।’ रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकाेमा धन्यवाद भन्नका लागि पनि वैशाख १० मा सान्दार मतले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनुपर्ने महामन्त्री थापाको भनाइ छ । 

कांग्रेस माओवादी मिलेर बनेको सरकार पाँच वर्ष कहीँ नजाने उनले बताए । ‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा हाम्रो सरकार बन्दै छ । पाँच वर्ष यो सरकार कही जाँदैन,’ उनी भन्छन्, ‘यहाँको साथी सरकारमा जाने सम्भावना छ । माओवादी, एकीकृत समाजवादीको साथ छ । नमिलेको कुरा र विर्गिएको केही छैन ।’

यस्तै महामन्त्री थापाले कांग्रेस छाडेका स्वर्णिम वाग्लेमाथि पनि खनिए । ‘हामी नेपाली कांग्रेस बदल्न चाहन्छौं । नेपाली कांग्रेसमा जे भइरहेको छ । सबै ठीक भइरहेको छ भन्ने होइन । नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्ने छ,’ उनले भने, ‘तर नेपाली कांग्रेसलाई लात हानेर बाहिर गएर कांग्रेस खराबभन्दै झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहीभित्र बसेर लड्नुपर्छ ।’

नेपालमा बसेर संघर्ष गरेकाहरु अयोग्य हुन भनेर प्रश्न उठाइएको महामन्त्री थापाको भनाइ छ । ‘हामीलाई एउटा प्रश्न गरिएको छ । नेपालभित्र बसेर, यहीका विद्यालयमा बढेर बसेका हामीहरु सबै के पाल्तुहरु हौं ? के हामी सबै अयोग्य हौं ? के सपना देख्ने अधिकार हामीसँग छैन ? के हाम्रो संघर्ष बेकार हो ?,’ उनले प्रश्न गरे ।

तनहुँबाट गोविन्द भट्टराईलाई जिताएनौं भने नेपालमा बसेर संघर्ष गर्नु बेकार हाे भन्ने सन्देश जाने उनले बताए । ‘म मेरो बुबाभन्दा तीन वर्ष जेठा पार्टी सभापतिसँग  दलको चुनाव लडेर आएको हुँ,’ उनले भने, ‘मेरो ससुराबासँग म महामन्त्रीको चुनाव लडेर आएको हुँ । हामी लडिरहेका छैनौं ? तनहुँबाट गोविन्द भट्टराईलाई जिताएनौं भने हामीले गरिरहेको संघर्ष ठीक छैन भन्ने सन्देश जान्छ ।’

त्यसैले कुनै पनि युवा साथी नअल्मलिकन कांग्रेसको उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचित गराउन लाग्नुपर्ने उनले बताए । 'गठबन्धनका साथीहरु यहाँ हुनुहुन्छ । माथि बसेर हामी पनि कुराकानी गरिरहेका छौं । तपाईहरुले यहाँ पनि कुराकानी गरिराख्नुभएको छ । तपाईहरु बीचका साना तिना कुराहरु यहाँ मिलाउनुहुन्छ । देशभरिका साथीहरुको ध्यान तनहुँमा छ ,' उनले भने ।

तनहुँका लागि सोचेको र काम गरेको मान्छेलाई संसदमा पठाउनुपर्ने उनले बताए । ‘यहाँ घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तनहुँअरु जिल्ला जस्तो होइन भन्नुपर्छ । अनि यहाँ नेपाली कांग्रेस पनि चोकमा राखेको मादलजस्तो होइन, जसले आयो, बजाउँदै हिड्ने ,’ उनले भने ।

कांग्रेसलाई पनि बदल्दै कांग्रेसबाट नेपाललाई पनि बदल्ने महामन्त्री थापाले संकल्प गरे । ‘त्यो संकल्पमा साथ दिने मध्येको एउटा पात्र गोविन्द भट्टराई पनि हो । गोविन्द भट्टराई जस्तो साथी पार्टी र संसदभित्र चाहिएको छ ,’ उनी भन्छन्,‘तपाईले त्यो गोविन्द भट्टराई हामीलाई दिनुपर्छ । म तपाईहरुको छोरा, भाइ, दाइ, साथी भएर अनुरोध गर्दैछु ।’

महामन्त्री थापाले गोविन्दराज जोशी लगायतलाई पार्टीकाे निर्णय मान्न अनुरोध गरे । ‘पार्टीका सभापतिले सबैसँग कुराकानी गरिराख्नु भएको छ । हाम्रो घरभित्रका सबै समास्यालाई हल गरेर पार्टीलाई एक ढिक्का बनाएर लिन चाहन्छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप