शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म चितवनको साझा मान्छे हुँ’

सोमबार, २७ चैत २०७९, १४ : ०५
सोमबार, २७ चैत २०७९

चितवन । आगामी वैशाख १० गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार छन् । उनलाई सत्ता गठबन्धनको साथ छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अत्यधिक मतका साथ निर्वाचित भएका थिए । तर नागरिकता प्रकरणमा उनको सांसद पद निलम्बित भएसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । यस पटक पनि रवि लामिछाने सोही क्षेत्रमा उम्मेदवार बनेका छन् ।

मंसिरमा सम्पन्न निर्वाचनमा अत्यधिक मतसहित लामिछाने निर्वाचित भएको क्षेत्रमा कांग्रेसले सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनका एजेण्डा तथा चुनाव प्रचारप्रसारका विषयमा केन्द्रित रहेर रातोपाटीले कांग्रेसका उम्मेदवार श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेको छ । 

प्रस्तुत छ, चितवन–२ मा कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका जितनारायण श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश–

तपाईबाट चितवन–२ का नागरिकहरूले के अपेक्षा गर्ने ? अनि आम नागरिकसँगको तपाईले के अपेक्षा गर्नुभएको छ ?

पहिलो कुरा त म नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा छु । यहाँ उम्मेदवार बन्दै गर्दा म यही माटोमा जन्मिएको र चितवनका लागि नै जन्मिएको हो । म जन्मिएको ठाउँका लागि केही गर्छु भनेर लागेको छु । मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग जोडिएको छ । 

म कांग्रेसको राजनीतिक पृष्ठभूमिबाट आएको हुँ । मेरा स्वर्गीय हजुरबुबा, बुबा स्वयं पनि कांग्रेसको राजनीति गर्नुहुन्थ्यो । मलाई मेरो परिवारले राजनीतिक र सामाजिक यात्रामा लगायो । त्यही कारणले चितवनका नागरिकहरूका लागि केही गर्नुपर्छ भनेर अघि बढेको छु । 

चितवन–२ को इच्छाकामना, कालिका र भरतपुरको विकासका लागि केही योगदान गर्नुपर्छ भनेर निरन्तर राजनीतिक र सामाजिक यात्रामा हिँडेको छु । मेरो अपेक्षा भनेको आम नागरिकहरूको सेवा गर्ने नै हो । त्यसैलाई साथ लिएर अहिले म चुनावी अभियानमा हिँडेको पनि छु । 

चितवन–२ का नागरिकहरूले मलाई आफ्नै भाइ, छोरा, साथी सम्झिएर जुन माया दर्साउनु भएको छ, त्यो नै मेरो जितको आधार पनि हो । जित नारायण श्रेष्ठ चितवन–२ बाट सांसद निर्वाचित हुँदै गर्दा समग्र निर्वाचन क्षेत्रको सेवकका रूपमा पाउनु हुन्छ । आम नागरिकको अपेक्षा पनि जितनारायण श्रेष्ठ नेताभन्दा पनि सेवक बनिदियोस् भन्ने छ । मेरो चाहना पनि नागरिकको सेवक हुने नै छ । भोलिका दिनमा समग्र चितवनका नागरिकले एउटा सेवक पाउनुहुन्छ भनेर नै उहाँहरूबाट एउटा माया सद्भाव र मतको आशा गरिरहेको छु । विगतमा पनि पाएको थिएँ अब त्यसको निरन्तरता चाहन्छु । 

बजारभन्दा केही पर चेपाङ बस्ती छ । त्यहाँको अवस्था दयनीय छ । नेताहरू सहर केन्द्रित भए, गाउँ आएनन्, भोट माग्न मात्र आए भन्ने नागरिकहरूको गुनासो छ । यसलाई तपाई कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिलो कुरा त नेता सहर केन्द्रित भए भनेर हिजो जितेर गएका मानिसहरूलाई भने होलान् । म पार्टीबाहेक त्यस्तो कुनै पनि सार्वजनिक पदमा छैन । म चेपाङ गाउँमै जन्मिएको मान्छे । मेरो वरपर चेपाङ बस्ती बाक्लो छ । मेरो जन्मस्थल शक्तिखोर, जहाँ ३३ प्रतिशत चेपाङ छन् । त्यसैको छिमेकमा रहेको सिद्धीमा ९५ प्रतिशत बसोबास चेपाङ समुदायको छ । 

स्वाभाविक रूपमा चेपाङ समुदायको अवस्थाको विषयमा म राम्रो जानकारी राख्छु । त्यसैले उहाँहरूको अवस्था सुधार्न मेरो पहल रहन्छ । अझै पनि उहाँहरूको शिक्षा, स्वास्थ्यमा पहुँच पुगेको छैन । अझै कतिपय चेपाङ समुदायका व्यक्तिहरू अस्पताल जानसक्ने अवस्था छैन । कतिपय चेपाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुको नागरिकता नै छैन । नागरिकता बनाउन नसकेको कारणले वृद्ध भत्तासमेत लिन नपाएको अवस्था छ । उहाँहरू विस्तारै चेतनशील बन्दै हुनुहुन्छ । त्यसकारण चेपाङ समुदायको पनि एउटा साथी बनेर चेपाङ समुदाय र पिछडिएको वर्गको समस्या समाधानमा मेरो भूमिका रहन्छ । 

म जुन ठाउँबाट राजनीतिमा आएको छु, त्यो अत्यन्त विकट छ । त्यहाँका नागरिकलाई राज्यको मूलधारमा ल्याउनकै लागि मेरो उम्मेदवारी हो । उहाँहरूको पीडालाई कम गर्ने मेरो प्रयत्न रहनेछ । 

चितवन–२ को भूगोल अन्यत्रको भन्दा फरक छ । भौगोलिक रूपमा समग्र चितवन–२ का नागरिकलाई आर्थिक, सामाजिक, राजनीतिक रूपमा जोड्न तपाईको योजना के छ ? 

तपाईले भनेजस्तै चितवन भन्नासाथ हामी भरतपुर र नारायणगढ सम्झन्छौं । यथार्थमा चितवन त्यतिमात्र होइन । चितवन भनेको नारायणगढ, भरतपुरमात्र होइन । त्यही भरतपुरका २९ नम्बर वडाको कविलाश अहिले पनि अत्यन्त विकट छ । यही निर्वाचन क्षेत्र अन्तर्गतको भरतपुरको ९ वटा वडा सुगम छन् भने कालिकाको केही वडा दुर्गम छन् । इच्छाकामनामा मुग्लिन, कुरिनटार जस्ता बजार पनि पर्छन् । अत्यन्त विकट भूगोल पनि इच्छाकामनामा पर्छन् । त्यसैले मेरो सोचाई भनेको एउटा रिङ रोडका माध्यमद्वारा इच्छाकामना, कालिका र भरतपुरलाई जोडेर सहजै आवतजावत गर्न सक्ने अवस्था बनाउनुपर्छ । 

यातायातको माध्यमको सहज पहुँच भयो भने त्यहाँको विकासमा सहयोग पक्कै हुन्छ । कालिका र इच्छाकामनाका गाउँमा कृषिजन्य बस्तु उत्पादन हुन्छ तर बजार पाउन सकेको छैन । भरतपुर र नारायणगढका नागरिकहरू विषादीजन्य तरकारी तथा फलफूल उपभोग गर्न बाध्य छन् । यातायातको सहजता हुने हो भने यही क्षेत्रका किसानले उत्पादन गरेका स्वच्छ तरकारी र खाद्यान्न सहरी क्षेत्रका मानिसले उपभोग गर्न पाउँछन् भने गाउँका किसानले पनि आफ्नो श्रम र मेहनतको मूल्य पाउन सक्छन् । यसले आर्थिक, सामाजिक विकासमा टेवा पुग्नेछ । 

गाउँका सबै ठाउँमा यातायातको पहुँच छैन । त्यसलाई पुर्‍याउनु पर्छ । चेपाङ समुदायमा शिक्षा, स्वास्थ्यको समस्या छ । कालिकामा अस्पताल छ तर सुविधा सम्पन्न बनाउन सकिएको छैन । भरतपुरमा सुविधा सम्पन्न अस्पताल र मेडिकल कलेज छ । इच्छाकामनामा अस्पताल नै छैन । त्यसैले शिक्षा, स्वास्थ्य मेरो मुख्य प्राथमिकतामा छ भने बिजुली र सिँचाइ पुर्‍याउन सकियो भने सहजता हुन्छ । चितवन–२ मा पर्यटकीय गन्तव्य पनि छन् । देवघाट जस्तो धार्मिक पर्यटकीय क्षेत्र, उपर्दानगढी, सेराईचुली, महाभारत पर्वतको सबैभन्दा अग्लो रेञ्ज यहीँ पर्छ । यिनीहरुलाई हामी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सक्छौँ ।

उचित प्रतिनिधि छान्न नसक्दा हामीले नागरिकको समस्या र विकासमा काम गर्न सकिरहेका छैनौँ । मेरो सङ्कल्प छ, म चितवन–२ का नागरिकको समस्या समाधान गर्दै विकासमा भूमिका खेल्छु । 

चुनावी चुनौती कति देख्नुभएको छ ?

म निर्वाचन क्षेत्र घुम्दैगर्दा जे माया, सद्भाव पाएको छु, कतै पनि चुनौती छैन । मैले मनोनयन दर्ता गरेदेखि आजसम्म आइपुग्दा चितवनको २८ वटै वडाका नागरिकले माया, सद्भाव देखाउनु भएको छ । म शक्तिखोरमा जन्मिएको मान्छे । भरतपुरमा बसेर पढेँ । म आइएसी पढ्दै गर्दा त्यहीँ विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै, त्यहाँको सडक तताउँदै राजनीतिमा स्थापित भएको व्यक्ति हुँ । त्यसैले चितवनको २८ वटै वडामा म समदुरी सम्बन्ध राख्छु । म चितवनको साझा मान्छे हुँ । 

कालिकामा जन्मिएँ, राजनीति र कर्मभूमि भरतपुर बन्यो । बुबा, हजुरबुबाको पुर्ख्यौली थलो इच्छाकामनासँग मेरो भावनात्मक सम्बन्ध पनि छ । चितवन–२ को तीन वटै पालिकाका नागरिकसँग मेरो सम्बन्ध स्थापित भइसकेको छ । त्यसैले मैले कुनै चुनौती देखेको छैन । म सहजै चुनाव जित्छु भन्ने उत्साहका साथ हिँडेको छु । 

कांग्रेसभित्रको अन्तरविरोध र समस्या हल भइसकेको हो त ? 

त्यो त सबै देखिएको छ नि । पार्टीले हिजो कारबाही गरेका साथीहरुको सवालमा मेरो उम्मेदवारीले कारबाही फुकुवा भएको छ । हिजो बागी विद्रोही बनेका साथीहरू जितनारायणलाई जिताउन लागि पर्नुभएको छ । जितनारायण श्रेष्ठ उम्मेदवार बन्दै गर्दा हामीले दायाँबायाँ गर्नुहुन्न भनेर उहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ । जसले चितवनमा कांग्रेस जन्माएर बचाउनुभयो, उहाँहरू मेरो पक्षमा मत माग्दै हुनुहुन्छ । कृष्णलाल श्रेष्ठ, भीमलाल श्रेष्ठ, दिनेश कोइराला, मीना खरेलहरूले कांग्रेसको पक्षमा निकालेको विज्ञप्ति हामीमाझ छ । पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फुकुवा भएको छ । अझै पनि हामी कांग्रेस मिलाउने प्रयत्नमा छौँ । कांग्रेसको ९५ प्रतिशत समस्या हल भइसकेको छ । बाँकी ५ प्रतिशत सानातिना समस्या पनि हल गर्ने प्रयासमा छौँ । सबै पार्टीका साथीहरू एक ढिक्का भएर लाग्नु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप