बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
ग्राउण्ड जिरो चितवन–२ : शक्तिखोरबाट शक्ति खोज्दै रवि लामिछाने
उपनिर्वाचन माहोल

ग्राउण्ड जिरो चितवन–२ : शक्तिखोरबाट शक्ति खोज्दै रवि लामिछाने

मतदाताको घेराउ, रविका बाचा
बुधबार, २९ चैत २०७९

चितवन (शक्तिखोर) । तत्कालीन माओवादीको प्रमुख डिभिजन कार्यालयमध्येको एक शक्तिखोर डिभिजन कार्यालय हो । विस्तृत शान्ति सम्झौतापछि तत्कालीन माओवादी लडाकु राखिएको र माओवादी केन्द्रका शीर्ष नेताहरुको बाक्लो आउजाउ हुने यो क्षेत्र चितवन क्षेत्र नम्बर २ मा पर्दछ । यद्यपि, वैशाख १० मा हुने उपनिर्वाचनका सन्दर्भमा यो क्षेत्रमा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनको तुलनामा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीकै चर्चा बढी छ । यहाँसम्म कि, स्थानीय मतदाता रवि लामिछानेबाहेक अरुको नामसमेत लिन चाहँदैनन् । रवि लामिछाने चितवन–२ मा उम्मेदवार छन् ।

२०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहालले जितेको यो क्षेत्रमा त्यसपछि भएका चुनावमा क्रमशः कांग्रेस र एमालेले जिते भने एक पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गर्‍यो । गत मंसिरको चुनावमा रवि लामिछानेले अत्यधिक मतसहित चितवन–२ मा जिते ।

शक्तिखोरवासी अहिले अरु पार्टीको नाम नै सुन्न चाहँदैनन् । न्यून संख्यामा सर्वसाधारण मात्रै कांग्रेस, एमाले र माओवादीका नाम लिन्छन् । माओवादीसहित अन्य दलले पुरानो विरासतलाई जोगाउन नसक्दा यहाँका सर्वसाधारणले रास्वपालाई वा अझ बढी रविलाई रोज्नु परेको बताए ।

20230411_113235

कालिका नगरपालिका–९ स्थित शक्तिखोरमा मंगलबार चुनावी घरदैलो कार्यक्रममा सहभागी रविलाई सेल्फी खिच्न भ्याईनभ्याई देखियो । अरु त अरु, ज्यामी कामसमेत छाडेर यहाँका कामदारहरु रविलाई हेर्न शक्तिखोर पुगे ।

भर्खरै पानी ट्यांकी बनाउन थालेका ज्यामी कामदार असल गुरुङ कामै छाडेर शक्तिखोरतिर लागे । कालिका–८ भर्लाघारीका गुरुङमा यसपटक पनि रविलाई नै जिताउने हुटहुटी देखिन्थ्यो । बाटोमा भेटिएका गुरुङले रातोपाटीसँग भने, ‘यसपटक पनि रवि दाइलाई नै जसरी पनि जिताउने हो, उनले थोरै समय सरकारमा बसे पनि आफ्नो बाचा पूरा गरे । हामीलाई उनको अझै खाँचो छ ।’

asal gurung

रविका बारेमा आएका हरेक सूचनाको ख्याल गर्ने गुरुङले आफूहरु अझै रविकै पक्षमा रहेको खुलाए । भने, ‘म र मेरो परिवारले रवि दाइलाई नै भोट दिने हो, गाउँमा पनि सबैको सल्लाह रविलाई नै सघाउने भन्ने छ । मलाई अरुसँग मतलब भएन ।’

मलेसियामा तीन वर्ष काम गरेर फर्किएका गुरुङ रविको कार्यशैलीबाट सन्तुष्ट नै देखिए । मलको कालोबजारी नियन्त्रण र भारतबाट आयात हुने कुखुरा रोक लगाएर रविले कृषक र कुखुरा पालन गर्ने व्यवसायीको हकमा सकारात्मक पहल गरेको बुझाई शक्तिखोरवासीमा देखियो ।

‘उहाँमाथि अहिले विभिन्न आरोप आइरहेका छन्, त्यसको आवश्यक छानबिन होला, ‘गुरुङले भने, ‘जस्तोसुकै आरोप लगाए पनि रविदाई काम गर्ने मान्छे हो, उहाँलाई जिताउने हो ।’

गुरुङमात्रै होइन, शक्तिखोरका अधिकांश स्थानीयवासी रविकै पक्षमा देखिए । कालिकाकै वीरे महतो यसपटक जसरी पनि रविलाई नै जिताउने पक्षमा देखिए । चितवनको पदपुरबाट बस्ती नै सरेपछि पिपरियामा बसोबास गर्दै आएका महतो भन्छन्, ‘अरु नेताबाट काम गर्ने आश म-यो, बरु रविले नै गर्छन् भन्ने ठूलो विश्वास छ । अब भोट पनि उनैलाई दिने मनसाय बनाएका छौं ।’

bire mahato

महतो जहाँ बसिरहेका छन्, त्यो ठाउँको प्लानिङ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० सालमा गरेका थिए । नमुनाबस्तीको रुपमा विकास भएको पिपरियामा हरेक दुई सय मिटरमा कालोपत्रे सडक छन् । सडक सञ्जालमा कालिका–५ अग्रणी छ । ‘विकास त कांग्रेसले सुरु गरेको रहेछ, अनि भोट भर्खरै उदाएको रास्वपालाई दिने ?’ भन्ने प्रश्नमा महतो भन्छन्, ‘त्यतिबेला हाम्रो बिगाहाको बिगाहा जग्गा सरकारले अधिग्रहण ग¥यो, हामीले त्यसबापत थोरै जग्गा पाएका थियौं । यहाँ विकास थिएन, अरु यिनै एमाले र कांग्रेसले गरेका हुन् तर, पछिल्लो समयमा यी पार्टीले जीवनस्तर उकास्ने काम गरेनन्, रविले गर्छु भनेकाले उनैलाई जिताउने निष्कर्षमा हामी पुग्यौं ।’

महतोले रास्वपा भर्खरै उदाए पनि जनताका पक्षमा बोलिरहेको बताए ।

मंगलबार तीन बजे पिपरियास्थित क्याम्पसको फुटवल चौरमा रवि लामिछानेले सम्बोधन गरेका थिए । त्यहाँ पनि सयौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो । हरेक कार्यक्रममा रविले जे बोल्थे, त्यही कुरा पिपरियामा पनि दोहो-याए । उनले आफ्नो पार्टी सुशासन र विकासको पक्षमा रहेको तथा भ्रष्टाचारलाई जरैदेखि उखेल्ने नीतिमा रहेको जिकिर गरे । रविले यसो भनिरहँदा पिपरियावासीहरु ताली पिट्न थाले ।

20230411_113245

रविको घरदैलोको शैली पनि फरक थियो । उनले सबैलाई हात हल्लाएर नमस्कार गर्दै भन्थे, ‘यो पटक पनि तपाईहरुको माया चाहिन्छ । म बोलेर मात्रै हिड्दिनँ, काम गरेर देखाउँछु । मैले तपाईहरुसँग पहिला गरेको बाचा पनि भुलेको छैन ।’

कालिकाका सडकका चोकचोकमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ का चित्र कोरिएका थिए ।

20230411_115808

घरदैलोबाट पाएको सुझावबारे रविले रातोपाटीसँग भने, ‘धेरैले माया गर्नुभएको छ । यो पटक पनि मलाई नै जिताउने भन्नुभएको छ, कतिले खुल्न नचाहेको मैले बुझेँ । तर, मेरो निर्वाचन क्षेत्रमा मलाई जिताउने हुटहुटी धेरै स्थानीयवासीमा पाएँ ।’

सडकबाटै हात हल्लाएर मतदातालाई नमस्कार फर्काउने रविलाई रातोपाटी टीमले सोध्यो, ‘तपाई सुगम ठाउँमा मात्रै किन पुग्नुहुन्छ ? तपाईको निर्वाचन क्षेत्रमा विकट पहाडी भूभाग छन्, त्यहाँ कहिले पुग्नुहुन्छ ?’

IMG-20230411-WA0027

जवाफमा उनले भने, ‘म अघिल्लो चुनावमा कालिका र इच्छाकामनाका विकट पहाडी भूभागमा पुगेको थिएँ, यसपटक जान भ्याएको छैन । म भ्याएसम्मको ठाउँमा जाने प्रयास गर्छु । तर, नेताले नीति बनाउने हो, सबै ठाउँमा नेता पुग्न सक्दैनन् पनि ।’

मंगलबार शक्तिखोर र पिपरियाका स्थानीयवासीले रविसँग सडक, खानेपानी, सिँचाइ र कृषि क्षेत्रलाई अझै टेवापुग्ने कार्यक्रम ल्याउनुपर्ने माग गरे । युवा स्वरोजगारको माग गरे ।

रबिले भन्दै गए, ‘तपाईहरुका सबै माग पूरा गर्छु ।’

IMG-20230411-WA0018IMG-20230411-WA0015

रविले पछिल्लो समयमा आफू र आफ्नो पार्टीलाई विवादमा ल्याएर खुसी भएका दललाई मतदानबाटै जफाव दिन मतदाताहरुलाई आग्रह गरिरहेका थिए । उनले भने, ‘मन्त्री बनाउन अमुक व्यक्तिबाट दुई करोड मागियो भन्ने अडियो सार्वजनिक भयो, त्यसबारे छानविन भइरहेको छ, दोषी देखिए कारबाही गर्छौं । अरु पार्टीजस्तो हाम्रो पार्टीमा गलत गर्नेलाई माफी र पुरस्कारको नीति छैन ।’

IMG-20230411-WA0016

उनले आफूसँग फोटो खिचेको भरमा कसैले पैसा खायो भने छाला त्यसको काढ्ने हो, आफ्नो होइन भन्दै मतदातालाई आश्वस्त पारेका थिए । उनले अख्तियारले आफ्नो र पार्टीका नेता तथा सहयोगीहरुको खाता जाँच गरी अवैध सम्पत्ति जोडेको भए कारबाही गर्नसमेत उनले आग्रह गरेका थिए । त्यसमा उनका समर्थक एवं कार्यकर्ताले ताली पिटेका दृश्य पनि देखिए । 

IMG-20230411-WA0023

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया