मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

२०७९ लाई फर्केर हेर्दा : हनी ट्रयापका घटना बढे, लागुऔषध अनुसन्धानमा चमत्कार

यस वर्ष पनि सुल्झेन निर्मला प्रकरण, लाल मोहम्मद प्रकरण अझै अनुत्तरित
बुधबार, २९ चैत २०७९, २१ : ०२
बुधबार, २९ चैत २०७९

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । गृहमन्त्रीको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो ।  

तत्कालीन गृहमन्त्री रवि लामिछानेले तदारुकता देखाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेको थियो । तीमध्ये दुई जना भारतीय हुन् । सङ्कलित नमुनाबाट ‘नेगेटिभ’ रिपोर्ट आएसँगै निर्मला हत्या प्रकरणको अनुसन्धान फेरि अलमलमा छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म  १२५ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ । वर्ष २०७९ मा पनि निर्मला पन्त हत्या प्रकरण सुल्झिन् सकेन । 

निर्मलाको हत्यापछि केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी अंगुर जिसी नेतृत्वको टिमले दिलीपसिंह विष्टलाई पक्रेको थियो । निर्मलाको ‘भजाइनल स्वाब’ सँग विष्टको डिएनए म्यान नभएपछि २०७५ भदौ २६ मा सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो । 

हत्यापछि केन्द्रीय अनुसन्धान ब्युरोले लगातार टिम परिचालन गरिरहेको छ । निर्मलाको घटना अनुसन्धानमा सुरुवातबाट नै संलग्न एसपी कमल थापा अहिले कञ्चनपुर जिल्ला इन्चार्ज छन् । निर्मला हत्या अनुसन्धान टुङ्ग्याउनकै लागी थापालाई कञ्चनपुरमा सरुवा गरिएको बताउँछन् तत्कालीन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह । सिंहले भने–‘सुरुवात बाट नै निर्मलाको अनुसन्धानमा संलग्न भएको हुनाले प्रहरी उपरीक्षक थापालाई कञ्चनपुरमा पठाउने निर्णय भएको थियो ।’ 

दुर्गा सिंहको नेतृत्वमा समिति गठन हुनुअघि पनि ब्युरोबाट इन्स्पेक्टर धनदेव साउद नेतृत्वको टिमले कञ्चनपुरमा बसेर काम गरिरहेको थियो । घटनापछि ब्युरोले लगातार अनुसन्धान गरिरहेको छ । 

निर्मला पन्तको हत्याबारे अहिलेसम्म ६ वटा समितिले छानबिन र अनुसन्धान गरेका छन् । डीआईजी दुर्गा सिंहको नेतृत्वमा समिति छैटौँ हो । 

२०७५ भदौ ६ मा सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो । 

 २०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो । ०७६ भदौ २६ मा डिएनए विज्ञ जीवन प्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो । 

२०७६ माघ ११ मा तत्कालीन डिआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो । डिएनए विज्ञहरूले डिएनए परीक्षणलाई मात्रै आधार नमानेर ‘ह्युमेन ईन्टेलीजेन्स’ प्रयोग गरेर अनुसन्धान टुङ्ग्याउन सुझाएका छन् । तर, ‘ह्युमेन ईन्टेलीजेन्स’बाट अनुसन्धान टुङ्ग्याउने परिस्थिति नबनेको बताउँछन् पूर्व आईजीपी धिरज प्रताप सिंह । उनी भन्छन्–‘डीएनए मिल्नुको विकल्प नै नभएको परिस्थिति निर्माण भएको छ ।’ 

निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् । 

यस वर्ष पनि निर्मला पन्तका हत्यारा पत्ता लागेनन् । यसैवर्ष अपराधका अरु ठुला घटना भएका छन् । ति घटनालाई संक्षेपमा चर्चा गरिएको छ । 

कैलालीका अर्जुन दास हत्याको दृश्य निकै निर्मम देखिन्थ्यो । २०७८ पुस ३ मा टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा अर्जुनको शव भेटियो । २०७९ को सुरुमा प्रहरी सो घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको छ । अर्जुनलाई हातखुट्टा बाँधेर खुकुरी प्रयोग गरेर घाँटी छिनालेर आरोपीहरूले हत्या गरेका थिए । हत्यामा संलग्न ४ जना लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासलाई मोबाइल चोरेको निहुँमा जानकी गाउँपालिका घर भएका कमल साउद, जानकी गाउँपालिका– ९ घर भएका १९ वर्षका मनोज भण्डारी, १९ वर्षका सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे, र रोनी परियार उर्फ दिलीप दास मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । 

हत्यापछि आरोपीहरूले रातभर जंगलमा लागु औषध सेवन गरेर पुस ३ मा भारतको दिल्लीतिर भागेका थिए । हत्यामा संलग्न ५ जना आरोपी अझै फरार छन् ।

२०७९ मा वैशाखमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रिको ‘मृत्यु’ विवादित बन्यो । चैत ३० मा राति माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दाबी गरे । अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डन सँग विवाह गरेकी थिइन् । प्रेम इन्जिनियर हुन् । उनीहरू तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्थे । प्रेम टण्डनको परिवारले अमृताले विष खाएको दाबी गरे । तर, माइती पक्षको दवावपछि प्रहरी कर्तव्य ज्यान मुद्दा अघि बढाउन बाध्य भएको थियो । अमृताका पति अहिले पनि थुनामा छन् । 

वैशाख ११ मा काठमाडौँको कपनमा श्रीमानले श्रीमतीलाई जलाएर हत्या गरे । पत्नीको हत्या आरोपमा बुढानीलकण्ठ नगरपालिका–१० कपन स्थित आकाशे धारामा  डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरी पक्राउ परे । 

४२ वर्षीय प्रवीणले श्रीमती ३० वर्षीया अस्मिता चौधरी सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खन्याएर आगो लगाएका हुन् । 

भारतमा हत्या नेपालमा अनुसन्धान 

वर्ष २०७९ मा बाजुरा प्रहरीले अपराध संहिता–२०७४ अनुसार विदेशमा भएको अपराधमा नेपालमा जाहेरी लिने र अनुसन्धान गर्ने परिपाटी सुरु गरेको थियो ।  भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनीचोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो ।

२०७९ वैशाखमा हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देबेन्द्र बहादुर लुहार उर्फ देबेन्द बिकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।

बाजुरा जिल्ला अदालतले देवेन्द्र बिकलाई पुर्पक्षका लागी कारागारमा थुनामा पठाउन आदेश गरेको छ । अपराध संहिता–२०७४ ले विदेशमा भएका अपराधमा पनि जाहेरी लिन र अनुसन्धान गर्न मिल्ने व्यवस्था गरेसँगै दिल्लीमा भएको हत्याबारे नेपालमा मुद्दा चलेर आरोपी थुनामा गएका हुन् ।

कञ्चनपुरको गड्डा चौकी हुँदै भारतमा गएर घरको ग्यालरीमा सुतिरहेका मंगलेलाई काठको मुङ्ग्राले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीको इन्टरपोल शाखासँगको सहकार्यमा भारतीय प्रहरीबाट हत्यासँग सम्बन्धित प्रमाण र अनुसन्धानात्मक कागजात सङ्कलन गरिएको बाजुराका तत्कालीन डिएसपी चतुर्भुज ओझाले रातोपाटीलाई बताए ।

मनोज पाण्डे प्रकरण 

२०७९ मा सबैभन्दा धेरै चर्चामा रहेको घटना हो, मनोज पाण्डे प्रकरण । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा भैरहवाका पाण्डे २०७९ जेठ ७ मा पक्राउ परे । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप थियो । 

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’बाट पीडित युवतीले आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरिन् । सो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न तीव्र दबाब बढेको थियो । सङ्घीय संसद्मा पनि यसबारे आवाज उठेपछि पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । स्वयम्भूबाट पक्रेका पाण्डे अहिले पुर्पक्षका लागी थुनामा छन् । बलात्कार मुद्दाको हदम्याद नाघेको हुनाले प्रहरीले पाण्डे विरुद्ध मानव बेचबिखन मुद्दा अघि बढाएको थियो । 

शरीर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेका पाण्डेले सरकारी वकिल कार्यालय र अदालतमा पनि इन्कारी बयान दिए । 

लागुऔषध अनुसन्धानमा चमत्कार 

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले इतिहासमै सबैभन्दा ठुलो अपरेसन २०७९ मा चलाएको छ । 

ब्युरोले २०७९ जेठमा ५१ किलोभन्दा धेरै सेतो हेरोइन बरामद गरेको थियो । प्रहरीले हेरोइन कारोबारमा संलग्न दक्षिण अफ्रिकाका ७ जना महिला पक्राउ परे । 

सो लागु औषध दुबईबाट काठमाडौँ ल्याइएको थियो । त्यसअघि वैशाख ३ मा पनि ब्युरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौँमा ल्याएको ७ किलो सेतो हेरोइन सहित कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो ।  

लागुऔषध अनुसन्धानबाट प्रहरीले यसवर्ष अर्को नयाँ तथ्य भेट्टाएको छ,–‘अमेरिकाबाट नेपालमा गाँजा तस्करी ।’ फागुनमा ब्युरोले अमेरिकाबाट नेपालमा पठाएको पार्सलमा गाँजा भेट्टायो । अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा ७ किलो गाँजा फेला परेको थियो । गाँजा कारोबारमा संलग्न ३ जना पक्राउ परे । 

दुवई हुँदै काठमाडौँ पठाइएको पार्सलमा ‘होम डेकोर वाटर फाउन्डेशन र चाइल्ड गेम आइटम’ लेखिएको भए पनि भित्र गाँजा पठाएको भेटिएको छ । गाँजा कारोबारीले पार्सलमा ‘चकलेट र चाइल्ड गेम आइटम’ लेखेर अमेरिकाबाट नेपालमा पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

कार्तिक २४ मा पनि  अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौँबाट बरामद गरेको थियो । सो गाँजा बच्चाको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाइएको थियो ।

हनी ट्रयाप धन्दा 

यसवर्ष काठमाडौँ र दाङ लगायतका ठाउँमा ‘हनी ट्रयाप’ धन्दाले पनि चर्चा पाएको थियो । फेसबुकमा युवती मार्फत साथी बनाएर तत्काल फोन नम्बर लिने र भेट्न बोलाउने । अनि, भेटेपछि जिस्क्याएको र दुर्व्यवहार गरेको आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले युवती प्रयोग गरेर संगठित रूपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई पक्राउ गरेको थियो । 

काभ्रे घर भएकी १८ वर्षीया मनिषा परियार, भक्तपुर घर भएकी १९ वर्षीया निकिता केसी, खोटाङ घर भएका ३२ वर्षीय डिक बहादुर शर्मा, दोलखा घर भएका २५ वर्षीय निमा लामा, सुनसरी घर भएका ३० वर्षीय सन्जिब दर्जी र दोलखा घर भएका ३० वर्षीय पासाङ लामा पक्राउ परे । हनी ट्रयाप धन्दा चलाउनेहरू पत्रकार, वकिल र प्रहरीको आवरणमा ‘ब्ल्याकमेल’ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

काठमाडौँमा हनी ट्रयाप धन्दा चलाएको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत र उनको समूका अरु दुईजना लाई पनि प्रहरीले पक्राउ गरेको थियो । साउन १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पना, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का  र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्कीलाई पक्राउ गरेको थियो । 

वर्ष २०७९ मा क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लाग्यो । भदौ २१ मा १७ वर्षीया नाबालिकाले बलात्कारको उजुरी गरेपछि लामिछाने पक्राउ परे । भदौ ५ मा भक्तपुर घुमाएर ल्याएर एयरपोर्ट स्थित होटल ‘काठमाडौँ इन’मा लगेर पटक–पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप थियो । सो मुद्दामा थुनामा परेका सन्दीप अहिले धरौटीमा छुटेर क्रिकेट मैदानमा छन् । 

असार ११ मा नेपालटार स्थित कोठामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको घटना वर्ष २०७९ मा महत्त्वपूर्ण घटनाको रूपमा रह्यो । दिलमायाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

गायिको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । आरोपी श्रेष्ठले बिहान आफू ब्युँझँदा गायिका झ्यालको भेन्टिलेसनमा पासो लगाएर झुन्डिएको देखेको बयान दिएका थिए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय विनोद शाह मृत भेटिए । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो घटनामा यसवर्ष निकै चर्चामा रह्यो । घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई परिचालन गरिएको थियो । 

लाल मोहम्मद प्रकरण अनुत्तरित 

काठमाडौँको गोठाटारमा असोजमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागे । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् । १५ दिनअघि भएको हत्या प्रयासबारे प्रहरी जानकार भए पनि ठुलो दुर्घटना टार्न कुनै प्रयास नै भएन । २०६४ असार २० मा काठमाडौँको अनामनगर स्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेको मुद्दामा उनी १० वर्ष जेल बसेर निस्केका थिए । 

जाली नोट कारोबारको पृष्ठभूमि भएका लालको हत्यामा भारतीय खुफिया एजेन्सी ‘रअ’को हात रहेको जानकारहरू बताउँछन् । तर, प्रहरीले सो घटनामा संलग्नलाई अझै सार्वजनिक गर्न सकेको छैन । गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका लाल मोहम्मदको हत्या पुराना ‘मुस्लिम टार्गेट’ हत्यासँग मिल्दोजुल्दो देखिएको छ ।

लाल मोहम्मदको हत्या योजना बनाउन भारत घर भएका नितेन सुधाका गोठाटार स्थित कोशीपारी गेष्ट हाउस एण्ड होटलमा बसेका थिए । सो गेष्ट हाउस मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा छ ।

भदौ ३० बाट सो गेष्ट हाउसमा बसेका नितेनले सुरुमा नितेन खानको नाममा १०४ नम्बर कोठा बुक गराएका थिए । असोज १ मा फेरी भुवन मगरको नाम लगबुकमा इन्ट्री गरेर उनी अर्को कोठामा सरेका थिए । भदौ ३ मा गेष्ट हाउसमा नितेनले सुटर बोलाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

हत्यामा संलग्न आशङ्कामा प्रहरीले अहिलेसम्म ३ जनालाई पक्राउ गरेको छ । तर, उनीहरू मुख्य योजनाकार र सुटर थिएनन् । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान र वीरगञ्ज–१६ घर भएका महोरम मियाँले योजना बनाएको र हतियार व्यवस्थापन गरेको दावी गरेको छ । तर, उनीहरू थोरै पैसामा काठमाडौँ सम्म पेस्तोल ल्याइदिने ‘भरिया’ थिए । वीरगन्जमा क्याम्पस पढ्ने उनीहरूले पैसाको लोभमा हतियार काठमाडौँसम्म ल्याइदिएका हुन् ।

प्रहरीले सार्वजनिक गरेको अर्की युवती हुन्, मकवानपुरको बकैया घर भएर कपनको फैका बस्ने २१ वर्षीया सुस्मिता स्याङतान् उर्फ सुमी । सुस्मिताले पैसा लिएर गोठाटार स्थित लाल मोहम्मदको गतिविधि निगरानी गर्थिन् । मोहम्मद गार्मेन्टबाट निस्केको र फर्केको निगरानी गरेर फोटो खिचेर योजनाकार सम्म पठाउने भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा प्रयोग गरिएको दुई थान पेस्तोल बालाजु स्थित लोलाङ हाइटमा भेटिएको छ । 

तर, मुख्य योजनाकार र सुटर को थिए ? लाल मोहम्मद हत्या प्रकरण रहस्यको गर्भमै छ ।

टि–ट्वान्टी लिगमा फिक्सिङ 

नेपाल टि–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङ भएको घटना २०७९ मा निकै चर्चामा रह्यो । केन्द्रीय अनुसन्धान ब्युरोले लामो अनुसन्धान गरेर फागुन पहिलो साता १२ जनालाई विपक्षी बनाएर 

स्पट फिक्सिङमा संलग्न आरोपमा प्रहरीले पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई पक्राउ गरेको थियो ।  

स्पट फिक्सिङमा नितेश गुप्ता बिचौलियाको भूमिकामा देखिए । आदिल अन्सारीले आफूलाई भारतीय नागरिक समिर सेखले फिक्सिङ खेल्न प्रस्ताव गरेको बयानमा स्विकारे । वकिल कार्यालयले फिक्सिङमा संलग्नहरू विरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ को दफा ३१ अनुसार मुद्दा दर्ता गरेको थियो । आरोपीहरु धरौटीमा छुटेका छन् । 

काठमाडौँ उपत्यकामा प्रहरीले कलसेन्टरको आवरणमा ठगेको आरोपमा काठमाडौँ र भक्तपुरका कल सेन्टरमा छापा मारेको थियो । २०७९ साउनमा  तीनकुने स्थित स्काई वर्ल्ड सर्भिस प्रा.लिमा छापा मारेर प्रहरीले ३६ जनालाई पक्राउ गरेको थियो । नेपालीको नाममा दर्ता गरेर चिनियाँ नागरिकले ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

यसअघि २०७८ फागुनमा पनि भक्तपुर र काठमाडौँको मध्य बानेश्वरमा चिनियाँ नागरिकले सञ्चालन गरेको कार्यालयमा छापा मारिएको थियो । २०७९ साउन ८ मा पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारीनगरमा छापा मारेको थियो । सामाजिक सञ्जालमा उधार लोन, गो क्यास, गो लोन, रुपी प्लस, फ्ल्यास क्यास, रुपी फ्याक्ट्री, क्यास बिई, पैसा लोन र बबल लोन मार्फत लोन लिन सकिने विज्ञापन गरेर चिनियाँहरूले ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालको कल सेन्टर मार्फत त्यस्तो ठगी भारतमा हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

बसुन्धारा लुटपाट 

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा स्थित नन्दा मल्लको घरमा कार्तिक २८ मा लुटपाट भयो । दरबारमा सुसारे काम गरेकी नन्दाको घरबाट ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको पीडित पक्षको दाबी छ । नन्दा सहित र त्यस दिन घरमा रहेका ५ जना महिलाले बताए अनुसार ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको छ । करिब ६ करोड मूल्य बराबरको सो लुटमा आफन्त नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो लुटमा संलग्न आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भएर सुन्धारा बस्ने १९ वर्षीया कविता बुढाको लुटमा मुख्य भूमिका देखिएको छ । नन्दा मल्लकी भदैनी बुहारी हुन् कविता । लुटमा संलग्न मध्येका कालिकोटको महावै–२ घर भएर भक्तपुर बस्ने २७ वर्षीय पवन भन्ने पञ्च बहादुर सिंहको डेराबाट प्रहरीले ३८ तोलाका सुनको गिलास बरामद गरेको थियो । आफन्तबाट सुराक पाएर लुटेराहरूले नन्दाको घर लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिउँदै जलेका पुष्पा र प्रेमप्रसाद 

राजधानी काठमाडौँको कडा सुरक्षा व्यवस्था र घना बस्तीको बीचमा २७ वर्षीया पुष्पा न्यौपाने र ईलाम घर भएका प्रेम प्रसाद आचार्यले आफैँलाई जलाउने निर्णय गरे । काठमाडौँको दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका पुष्पा प्रेममा असफल भएर जलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सिरमा आफैँलाई जलाउने निर्णय गरिन् । धुम्बाराही स्थित प्रेमी सुदन संग्रैलाको घरको गेटमा गएर पेट्रोल छर्केर उनले आत्मदाह गरेकी हुन् । पुष्पाले आफैँलाई जलाउने निर्णय गर्नुको कारण हो–‘प्रेमीसँगको सम्बन्धमा आएको खटपट ।’ उनका प्रेमी सुदन अहिले आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका छन् । 

प्रेम प्रसाद आचार्यले व्यवसायमा असफल भएर आत्मदाहको बाटो रोजे । उनको आत्मदाहको पछाडि हाम्रो आर्थिक अवस्था र व्यवहारको दोष रहेको सरकारले गरेको छानबिनको निष्कर्ष छ । संसद् भवन अगाडी आत्मदाह गरेका आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउनेहरू विरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्नेबारे वर्ष २०७९ मा निर्णय भएन । क्याथफोर्ड कलेज, बिग मार्ट, पवन गोल्यानको गोल्यान एग्रो, नक्साल स्थित शान इन्टरनेशल कलेज र भाटभटेनी सुपर मार्केटले समयमा भुक्तानी नदिएर साना किशानलाई मृत्युको मुखमा लैजाने गरेको आचार्यले आफ्नो स्ट्याटसमा लेखका छन् । थापाथली स्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए । 

अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र गाग्रोध्योगका सञ्चालक उपेन्द्र महतो सहित एक दर्जन व्यवसायीसँग बयान लिएको छ । तर, मुद्दा कसरी अगाडी बढाउने भन्नेबारे निर्णय भएको छैन् । 

२०७९ को अर्को चर्चित घटना थियो पृथ्वी बहादुर शाह प्रकरण । अमेरिकाबाट ठगीको ६५ करोड नेपाल ल्याएको निष्कर्ष सहित केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेर मुद्दा चलायो ।

अछाम घर भएका ३५ वर्षीय शाहको स्वामित्वमा रहेको भनिएको विभिन्न कम्पनी र उनको व्यक्तिगत बैंक खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको छ । शाहको समूहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ ।

पुस २२ मा ब्युरोले शाह सहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शाह सहित विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउद छन् । 

अनलाईन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर आरोपीहरूले रकम ठगेका हुन् । अनलाइन माध्यमबाट शाहले अमेरिकनको बैंक खातामा रकम जम्मा भएको देखाउँदै सो रकम ‘भुलवश’ जम्मा हुन गएको भन्दै फिर्ता पठाइदिन आग्रह गर्ने गरेको थाहा भएको छ । खातामा रकम आएको देखेपछि अमेरिकनले शाहले भने अनुसार नेपालस्थित कम्पनीका बैंक खातामा डिपोजिट गरिदिएका हुन् । 

शाह अहिले पुर्पक्षका लागी थुनामा छन् । अमेरिकाबाट आएको रकम उनको स्वामित्वमा रहेका कम्पनीहरू हन्टिङ रिजर्व, १४ पिक, कैलाश एक्जिम, वर्ल्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वर्ल्ड फस्ट होलिडे लगायतका खातामा जम्मा भएको छ ।

बालाजु घटना : अराजक प्रदर्शन 

काठमाडौँको बालाजुमा फागुन १ मा यातायात मजदुरले गरेको प्रदर्शनमा अराजक बन्दा प्रहरीले ठुलो क्षति ब्यहोरेको थियो । आन्दोलनकारीहरूले प्रहरीको दुईवटा गाडी जलाए । यातायात मजदुर अगुवाहरू आफ्ना १० बुँदे माग र आन्दोलनको ‘स्वरूप’ आफ्ना मजदुरलाई जानकारी गराउने कार्यक्रमको आयोजना गर्दै थिए । नयाँ बसपार्क भित्र सो कार्यक्रम आयोजना गरिँदै थियो । तर, ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले सो कार्यक्रम गर्न नदिएपछि विवाद सुरु भयो । नयाँ बसपार्क व्यवस्थापन पक्ष र यातायात मजदुरका अगुवाहरूको बिचमा बसपार्क भित्र छलफल हुँदाहुँदै बाहिर मजदुरहरूले प्रदर्शन चर्काए । 

माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको गाडीमा आगजनी गरे । प्रदर्शनमा भएको झडपमा बालाजुका डिएसपी चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले आगो लगाए ।

प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । डिआईजी नेतृत्वको छानबिन रिपोर्ट अनुसार अवस्था यस्तो आएको थियो की, आन्दोलन चर्किएपछि बालाजुका तत्कालीन रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेश बम प्रदर्शन स्थलबाट भाग्न बाध्य भए । 

प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालयले प्रहरी वृत्त बालाजुमा कार्यरत तत्कालीन डिएसपी रविन विष्टको बढुवा रोक्का गरेको छ ।

काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको प्रदर्शन पनि अराजक बन्यो । भिड महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे विरुद्ध खनियो, उनलाई आक्रमण गरे । मङ्सिर १२ मा भएको प्रदर्शनमा नगर प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले लामो समयपछि हुकुम बहादुर लामा र नारायण परिश्रमिक लाई  पक्राउ गरेको थियो । 

शरणार्थीको नाममा ठगी ‘धन्दा’

चैत १२ मा भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । सो ठगीमा संलग्न आरोपमा पछि सागर राई पनि पक्राउ परे । आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार १४४ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् । 

आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिका सपना’ देखाएको अनुसन्धानबाट थाहा भएको छ । सो ठगीको शृङ्खला २०७७ देखी सुरु भएको थियो । बालकृष्ण खाण गृहमन्त्री हुँदा अमेरिका जान छुटेका ४ सय ६१ जनालाई प्रक्रिया बनाएर जिम्मा लगाउन झापाका सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरिएको थियो । 

दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार हुन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलमा आबद्ध सन्देश र केशव दुलालसँग राजनीतिक व्यक्तिको पनि कनेक्सन देखिएको छ । सो प्रकरणमा आफूहरूलाई एमालेका सचिव टोप बहादुर रायमाझी लगायतका नेताहरूले सहयोग गरेको सानु भण्डारीले बयान दिएका छन् । 

सन्देश शर्माको योजनामा आरोपीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा एक जना बराबर २० देखी २४ लाखसम्म रकम असुलेको थाहा भएको छ । पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् । ठगीको मुख्य योजनाकार शर्मा फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसीले रातोपाटीलाई बताए । 

चैत पहिलो साता प्रहरीले काठमाडौँबाट ६ लाख नक्कली नेपाली रुपैयाँ बरामद गरेको थियो । नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भीमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र काकी छन् ।

बरामद नक्कली रुपैयाँ आरोपीहरूले रौतहटबाट काठमाडौँ ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रौतहटको चन्द्रनिगाहापुरमा नक्कली नेपाली रुपैयाँ छाप्ने कारखाना सञ्चालनमा रहेको आरोपीहरूले प्रहरीलाई बताएका छन् । तर, सो कारखाना सम्म प्रहरी पुग्न सकेन् । 

एकै वर्ष दुई आईजीपी 

२०७९ मा दुईजनाले प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक बन्ने अवसर पाए । मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरज प्रताप सिंहलाई महानिरीक्षक नियुक्त गरेको थियो । सिंह प्रहरीको २९ औँ महानिरीक्षक हुन् । 

दैलेखमा जन्मेका सिंह फुटबल खेल्दाखेल्दै प्रहरीमा प्रवेश गरेका थिए । पूर्व फुटबलर सिंहको कमाण्डमा मुलुकमा स्थानीय निर्वाचित र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । सिंहले चैत ११ बाट अवकाश पाए । 

सिंहको अवकाशसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले वसन्त कुँवरलाई चैत १० मा आईजिपी बनाउने निर्णय गरेको छ । वसन्त कुँवरले जागिरे जीवनमा आफूलाई ‘लो प्रोफाइल’मा हिँडाए । २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् ।

इन्स्पेक्टरबाट पास आउट हुँदा देखी प्रहरी उपरीक्षकसम्म ‘टप फाइभ’ मेरिटमा रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुँदा पछि परेका थिए । एसएसपीमा उनी १३ नम्बर वरीयतामा थिए । तर, डिआईजीमा बढुवा हुँदा उनले फड्को मारे । २०७९ असारमा कुँवर सहित १७ जना डिआईजीमा बढुवा भए । सो बढुवा सूचीमा कुँवर एक नम्बरमा बढुवा भएका हुन् । ‘प्रचण्ड’ सरकारले आईजीपी नियुक्तिमा वरीयतालाई कायम राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप