मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

टि–ट्वान्टी लिगको स्पट फिक्सिङमा दुई समूह संलग्न

मेहबुव एउटा समूहको नेतृत्वकर्ता
बुधबार, ११ माघ २०७९, ०६ : ५२
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेपाल टि–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङ गराउन दुई वटा समूहको संलग्नता रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको छानविन समितिले पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम सहित दुई वटा टिमले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनका आधारमा प्रहरीले माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो । अन्सारीले भर्खरै सम्पन्न लिगमा फिक्सिङ खेलेको ब्युरोको निष्कर्ष छ । फिक्सिङमा क्रिकेटर अन्सारीसहित नेपालका ४ जना संलग्न छन् । टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा लिएको कम्पनी सेभेन–३ स्पोर्टको व्यवस्थापक मध्येका ४ जना स्पट फिक्सिङमा संलग्न देखिएका छन् । लिगमा सहभागी विदेशी खेलाडी एक जना र अर्का एक जना बिचौलिया संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सञ्जय सिंह थापाले बताए । 

मेहबुव आलम एउटा समूहको नेतृत्वकर्ता हुन् । उनले लिगमा सहभागी नेपाली खेलाडीहरूलाई फिक्सिङ खेल्न आग्रह गरेका थिए । आफुसँग खेलेका र नजिकको सम्बन्धमा रहेका क्रिकेटरहरूलाई आलमले फिक्सिङका लागी आग्रह गरेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । ‘मेहबुबले फोनबाट र मेसेज गरेर फिक्सिङ खेल्न आग्रह गरेको भेटिएको छ’ अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृतले भने–‘एउटा खेलको ६ देखी ८ लाख आउँछ भनेर प्रस्ताव गरेको भेटिएको छ ।’ 

व्यवस्थापनमा रहेकाहरूले विदेशी खेलाडीहरूलाई फिक्सिङ खेल्न अफर गरेको अनुसन्धानबाट थाहा भएको छ । अफिसियलको आग्रहमा फिक्सिङ खेलेका एक खेलाडी स्वदेश फर्किसकेका छन् । अरुबारे अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

आलमले फोन गरेको अडियो प्रहरीले बरामद गरेको छ । उनले गरेको मेसेज पनि भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट मेहबुबले दुईजना खेलाडीलाई फिक्सिङ खेल्न आग्रह गरेको खुलेको छ । ‘स्पट फिक्सिङका लागि मेहबुवले खेलाडी मिलाउने जिम्मा लिएको देखिन्छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्–‘दुई खेलाडीलाई उनले अफर गरेको प्रमाण भेटिएको छ ।’ 

फिक्सिङमा संलग्न दोस्रो समूहमा जतिन अहलुवालियासहित छन् । लिग व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको सिआईबीका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । 

‘आदिलले अफर गर्नेको बारेमा बताउन चाहेका छैनन्’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘नाम चाहिँ भनेका छन् तर, कहाँ कसरी अफर  आयो भन्नेबारे खुलाउन अस्वीकार गरेका छन् ।’ 

व्यवस्थापनमा रहेकाहरूले विदेशी खेलाडीहरूलाई फिक्सिङ खेल्न अफर गरेको अनुसन्धानबाट थाहा भएको छ । अफिसियलको आग्रहमा फिक्सिङ खेलेका एक खेलाडी स्वदेश फर्किसकेका छन् । अरुबारे अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘जतिनहरुले लिगमा सहभागी विदेशी खेलाडीहरूलाई अफर गरेको भेटिएको छ ।’

त्यस्तो अफर एउटा खेलमा ६ देखी १० लाखसम्म गरेको भेटिएको बताउँछन् ब्युरोका एसएसपी दिनेश आचार्य । तर, सो पैसा खेलाडीले लिएको वा नलिएको बारे यकिन भैसकेको छैन् । ‘खेलाडीले रकम लिएको वा नलिएको बारे भेरिफिकेसन गर्दै छौं’ एसएसपी आचार्य भन्छन्–‘४ वटा खेलमा स्पट फिक्सिङ भएको अहिलेसम्मको अनुसन्धानबाट देखिएको छ ।’ 

dinesh_acharya

अनुसन्धान अधिकृतहरूले प्राविधिकहरूको सहयोगमा खेलको स्कोरबोर्ड पनि विष्लेषण गरेका छन् । 

बोल्दैनन् आदिल 

राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी फिक्सिङ खेलेको आरोपमा ब्युरोको हिरासतमा छन् । आदिललाई कसैले ‘वाइड’ र ‘नो बल’ खेलेपछि लाखौं रकम आउने अफर गरेको थियो । तर, ति अफरकर्ताको विवरण खुलाउन आदिलले आनाकानी गरेका छन् । 

‘आदिलले अफर गर्नेको बारेमा बताउन चाहेका छैनन्’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘नाम चाहिँ भनेका छन् तर, कहाँ कसरी अफर  आयो भन्नेबारे खुलाउन अस्वीकार गरेका छन् ।’ 

chart

मेहबुवले चाहिँ एउटा खेलमा ६ लाखसम्म अफर गरेको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ । खेलाडी मिलाएर फिक्सिङ गराएबापत मेहबुवले २ लाख कमिसन लिने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । स्पट फिक्सिङ प्रति बल वा प्रति ओभरमा भएको ब्युरोको निष्कर्ष छ । 

स्पट फिक्सिङको प्रस्ताव ३ जना खेलाडीले अस्वीकार गरेका छन् । तीनजना क्रिकेटरले त्यस्तो अफर गर्नेलाई मेसेज र फोन ‘नो’ मात्रै भनेनन्, उनीहरूलाई ब्लक गरेर एन्टी करप्सन युनिटलाई जानकारी समेत गराए । 

आदिलले प्रस्ताव रिजेक्ट नगरेको र एन्टी करप्सन युनिटलाई जानकारी पनि नगराएको छानबिनमा संलग्न डिएसपी सुन्दर तिवारीले बताए । आदिलले दुई खेलमा फिक्सिङ खेलेको देखिएको छ । 

दुई खेलाडी मात्रै

अहिलेसम्मको अनुसन्धानबाट लिगमा सहभागी दुईजना खेलाडी स्पट फिक्सिङमा संलग्न देखिएका छन् । आदिल अन्सारी र अर्का एकजनाको संलग्नता देखिएको बताउँछन् ब्युरोका एसएसपी आचार्य । 

दोस्रो खेलाडीलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ । अहिलेसम्मको अनुसन्धानबाट ५ जना खेलाडीलाई बिचौलियाहरूले पिक्सिङ खेल्न अफर गरेको थाहा भएको छ । ‘भेटेर तथा ह्वट्स एपमा म्यासेज गरेर अफर गरेको भेटिएको छ’ एसएसपी आचार्य भन्छन्–‘३ जना खेलाडीले त्यस्तो अफर रिजेक्ट गरेको देखिन्छ ।’ 

ब्युरोले फिक्सिङमा संलग्नहरू विरुद्ध राष्ट्रिय खेलकुद विकाश ऐन–२०७७ को दफा ३१ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । सो ऐन अनुसार फिक्सिङ पुष्टि भएमा खेलाडीलाई ३ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ । फिक्सिङ खेल्न अफर गर्नेलाई पनि खेल्ने सरह नै सजाय हुने व्यवस्था छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप