शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘म अर्थशास्त्रको पीएचडी स्कलर हुँ, विकासको पनि अर्थशास्त्री हुँ’

स्वर्णिम र सर्वेन्द्रलाई तनहुँको डाँडाकाँडा, भन्ज्याङ, चौतारी र उकाली ओराली थाहा छैन : गोविन्द भट्टराई (भिडियो)
बुधबार, २९ चैत २०७९, १४ : २९

आउँदो वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई रामचन्द्र पौडेलको उत्तराधिकारीका रूपमा जनताका घरदैलोमा भोट माग्न हिँडिरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेसँगको प्रतिस्पर्धामा आफू फरक रहेको भट्टराई दाबी गर्छन् । तनहुँको खानेपानी लगायतका विकासका लागि आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनी भोट तान्ने प्रयास गरिरहेका छन् ।

०७४ सालमा भएको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा उठेका उनी पराजित भएका थिए । प्रस्तुत छ, कांग्रेसभित्र अवसर नपाएको नेताका रूपमा चर्चा हुने गरेका उम्मेदवार भट्टराईसँग उपपनिर्वाचनको विषयमा केन्द्रित रही रातोपाटीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

चुनाव प्रचारप्रचारमा हिँड्नुभएको छ । तपाईंसँग जनताका अपेक्षा के के रहेछन् ?

यहाँ स्थानीय समस्या पनि छन् । बाटोलाई हामीले पहिलो प्राथमिकताको विषय बनाएका छौँ । बाटो विस्तार, चक्लाबन्दी र पिच गर्नुपर्ने जनताको चाहना र अपेक्षा छ । अर्को, किसानहरूका केही समस्या छन् । यो क्षेत्रमा धार्मिक पर्यटकको आकर्षणको क्षेत्र भएकाले यसतर्फ पनि मलाई सचेत गराउनुभएको छ । हामी यहाँ तीनखाले पर्यटक भित्र्याउन सक्छौँ । एउटा ऐतिहासिक क्षेत्रको अध्ययन गर्ने धार्मिक पर्यटक र यहाँको प्राकृतिक सौन्दर्य हेर्ने पर्यटक पनि भित्र्याउन सक्छौँ । बढीभन्दा बढी पर्यटक भित्र्याउन होमस्टेको विकास गर्न आवश्यक छ । यहाँ अरू थुप्रै समस्या छन् । देवघाटमा नदी कटानका कुरा छन् । चुदीखोलाका कुरा छन् । अधिकांश जनताले उठाउने विषय स्थानीय समस्या नै हुन् । केहीले रोजगारी नपाएका कुरा पनि गर्नुभएको छ ।

विगतमा पटक पटक यो क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो । तर यहाँका सडक पूर्वाधारको राम्रो विकास किन हुन सकेन नि ?  

भौगोलिक हिसावले पनि यो क्षेत्र निकै ठुलो छ । लमजुङको सिमाना हुँदै नवलपुरसम्म फैलिएको छ । २०४८ सालको निर्वाचनमा हामीले यो क्षेत्रमा पैदल हिँडेरै भोट मागेको थियौँ । तर, अहिले यस्तो अवस्था छैन । अहिले सबै पालिकामा कच्ची सडक भए पनि पुगेको छ । म हिँडेरै यहाँका निर्वाचन क्षेत्रमा पुगेको छु । तर, तपाईंले भनेजस्तै, सुनेजस्तै यो क्षेत्रलाई अझै व्यवस्थित बनाउनुपर्नेछ । कतिपय ठाउँमा सडक पिच हुने क्रममा छ ।

हिजो कांग्रेसले नै अगाडि बढाएका मान्छे आज तपाईसँग चुनावी प्रतिस्पर्धामा छन् । सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेसँग चुनाव लड्न कतिको चुनौती ठान्नुभएको छ ?

उहाँहरूको चुनाव जित्ने कुनै आधार छैन तर उहाँहरूको पार्टीले उम्मेदवार बनाएको छ । उहाँहरू पनि अवसरको खोजीमा ती पार्टीमा पुग्नुभएको हो । उहाँहरू यो ठाउँका लागि परिचित पनि होइन । जो मान्छे परिचित नै होइन भने यहाँको चौतारी, डाँडाकाँडा, भञ्ज्याङ र यहाँको उकाली ओरालीका बारेमा थाहा हुने अवस्था भएन । पार्टीका मान्छेले परिचित गराउँदै लैजाने विषय भयो । योजनाकै आधारमा यो काम मैले गरेको हुँ भन्ने पनि देखिँदैन ।

जस्तो, यहाँ म जुनसुकै ठाउँमा पुग्दा केही न केही संरचनासँग जोडिएको अवस्था छ । तर, यस्तो हुँदाहुँदै पनि तनहुँमा राष्ट्रिय मुद्दा बोकेर पनि आएका छन् । मान्छेहरूको माग स्थानीय समस्या समाधानसँग केन्द्रित छ । कांग्रेस पार्टी यी दुवै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका मुद्दा लिएर निर्वाचन लड्ने पार्टी हो । कांग्रेसले स्थानीय मुद्दा र राष्ट्रिय मुद्दालाई उत्तिकै महत्त्व दिन्छ । यसकारण हाम्रो जित सुनिश्चित छ ।

तपाईंका प्रतिस्पर्धी स्वर्णिम वाग्ले अर्थविद् र एमालेका खनाल पूर्व आइजीपीका रूपमा चिनिनुहुन्छ । उहाँहरूलाई नयाँ पुस्ताको उम्मेदवार पनि भनिएको छ  । उहाँहरूको व्यक्तित्वले नै मत काट्ला भन्ने कत्तिको डर छ ?

पुस्ताको कुरा गर्ने हो भने म पनि नयाँ पुस्ताकै हो । कांग्रेसभित्र म पनि नयाँ पुस्ताभित्र पर्छु । अर्थशास्त्रको हिसाब गर्दा म पनि अर्थशास्त्रको विद्यार्थी हुँ । म अर्थशास्त्रको पीएचडी स्कलर हुँ । मसँग यहाँको ग्राउण्ड लेभलको ज्ञान पनि छ । आर्थिक क्षेत्रको पनि ज्ञान छ । म विकासको पनि अर्थशास्त्री हुँ र अर्थशास्त्रको पनि ज्ञाता हुँ । त्यसकारण ‘सो कल्ड इन्टरलेक्चुअल’को मात्र कुरा गरेर भएन । कसैले आफैले आफैलाई बौद्धिक भनेर भएन । अरुले भनिदिनुपर्‍यो । कसैले म आफै बौद्धिक भनेर भएन । फलानाले विदेशमा काम गर्दा यस्तो गर्‍यो भन्ने केही सुनिएको छ ?  उहाँले कहाँ आर्थिक पुनर्संरचना गर्नुभयो ? उहाँलाई त कांग्रेसले नै राज्यमन्त्री सरहको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको हो । उहाँले के के चाहिँ अर्थतन्त्रमा सुधार गर्नुभयो त ? योजना आयोगभित्र काम गर्दा अघिल्लो व्यक्तिको भन्दा उहाँको कार्यकालमा के दखल देखियो ? मैले त देखिनँ ।

तपाईं वाम लोकतान्त्रिक पार्टीबाट साझा उम्मेदवार हुनुहुन्छ । सबैलाई एकजुट बनाएर हिँड्न कतिको सहज छ । जबकि तपाईंको पार्टी कांग्रेसमा गुटबन्दी छ ?

हैन, गुट उपकुट त अलिअलि हुन्छ नै । कतिपय मिल्ने विषय पनि हो । गठबन्धन दलबाट पनि सबै साथी आएर उम्मेदवारी मनोनयन दर्ता गरेका हौँ । त्यसकारण चुनाव जित्नेमा म निश्चित छु । चुनाव नलडेकाहरूले जित्ने दाबा गर्दै गर्दा म काम गरेको मान्छेले हार्ने भन्ने कुरा त हुँदै हुँदैन ।

तपाईंको चुनाव जित्ने आधार के छन् ? प्रतिस्पर्धीभन्दा तपाई के कुरामा फरक हुनुहुन्छ ?

यही कुरामा फरक छु– जनतासँगै हिँडेको छु । काम गरेको छु । यहीँ ठाउँबाट राजनीतिमा उदाएको हुँ । पञ्चायतका पालामा यहीँबाट धावा बोलेको हुँ ।

मलाई पनि अन्त चुनाव लड्न जाने च्वाइस थियो । तर, कुरेर बसेको थिएँ । मलाई अरू पार्टीबाट पनि चुनाव लड्न अफर आएका थिए । मन्त्री बनाइदिने अफर आएको थियो । त्यो नलिएको हुँ । अरुभन्दा धेरै कारणले भिन्न छु ।

चुनाव जित्ने मेरो आधार भनेको जनतासँग हिँड्ने, उनीहरुसँग खाने, समस्यासँग जुध्ने आधार हुन् । यसलाई मानिसहरूले खासै चासो दिँदैनन् । तर, मेरो स्कुलिङ फरक छ । मेरो मान्यता देशको विकास गर्न सबैभन्दा पहिला गाउँको विकास गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसपछि मात्रै देश विकास हुने हो । यसका लागि म निरन्तर लागिपरेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप