शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
ग्राउन्ड जिरो तनहुँ–१

‘स्वर्णिम बर्खाको खहरे भेल, चुनावपछि आफैँ हराएर जान्छ’

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका ‘कमान्डर’ शंकर भण्डारीसँगको अन्तरवार्ता (भिडियो)
मङ्गलबार, २८ चैत २०७९

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता शंकर भण्डारीलाई तनहुँ क्षेत्र नम्बर १ मा हुनलागेको उपनिर्वाचनमा कांग्रेसले चुनावी कमान्डर बनाएर पठाएको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न सफल भएको कांग्रेसलाई फेरि यो क्षेत्रमा वर्चस्व स्थापित गर्नुपर्ने छ । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा गरेको यो क्षेत्रमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । 

तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका भण्डारी यतिबेला क्षेत्र नम्बर १ मा कांग्रेसलाई फेरि चुनाव जिताउन लागिपरेका छन् । प्रस्तुत छ सत्ता गठबन्धन दललाई विश्वास र साथमा लिँदै कांग्रेस जिताउने अभियानमा लागेका भण्डारीसँग रातोपाटीले चुनावी अभियानका क्रममा गरेको कुराकानी : 

सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । तपाईं त्यसको  चुनावी कमान्डर । कसरी कमान्डिङ गर्दै हुनुुहुन्छ ? 

तनहुँको उपनिर्वाचनमा १० दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट युवा नेता गोविन्द भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । हामी गठबन्धनमा आबद्ध दलहरूले चुनावलाई परिणाममुखी बनाउनका लागि छलफलमै गरेर जनतासँग कसरी जाने भन्ने तयारीमा छौँ । सोहीअनुसारको कार्यक्रम पनि हामीले गरिरहेका छौँ । केही तयारी अझै गर्न बाँकी । यो उम्मेदवारलाई किन भोट भन्ने अभियान थाल्दै छौँ । गठबन्धनका उम्मेदवारले जित्ने सुनिश्चित छ । यो क्षेत्रमा धेरै सचेत मतदाताहरू हुनुहुन्छ । राजनीतिमा जुन विकृति, विसङ्गति देखिएको छ, यो अन्योलको वातावरण चिर्न आवश्यक छ । 

हिजो कांग्रेसमा लामो राजनीति गर्नुभएका स्वर्णिम वाग्ले अहिले तपाईंहरूकै प्रतिस्पर्धी बन्नुभएको छ । यो चुनौतीलाई कसरी पार गर्नुहुन्छ ? 

निर्वाचनमा स्वर्णिम वाग्लेजी हाम्रो चुनौती हुँदै होइन । त्यो एउटा हल्ला मात्र हो  । हामीले चुनाव जित्ने कुरा दुई मत छैन । सत्य पनि यहीँ हो । हामी लोकतन्त्रवादी हौँ । प्रतिस्पर्धीहरूलाई सम्मान गर्छौं । आजका स्वर्णिमलाई ‘स्वर्णिम’ बनाएकै कांग्रेसले हो । आज उहाँले जुन सफलता प्राप्त गर्नुभएको छ, त्यो प्राप्त गर्न उहाँलाई २०औँ वर्ष लाग्दा पनि पाउन सम्भव छैन । यस करण उहाँ हाम्रो चुनौती होइन । कसैलाई लागेको भ्रम हो ।  

तनहुँ–१ मा त्रिपक्षीय  प्रतिस्पर्धा हुने देखिन्छ । तपाईंहरूको प्रतिस्पर्धा रास्वपाका स्वर्णिम वाग्ले हुन् कि नेकपा एमालेका सर्वेन्द्र खनाल ? 

हाम्रो निकटतम प्रतिद्वन्द्वी एमाले हो । यो क्षेत्रमा कांग्रेसबाहेक अरू पार्टीले जित्न सक्ने आधार पनि छैन । त्यो सम्भव पनि हुँदैन । हामी १० दलीय गठबन्धनमा छौँ । स्वयं कांग्रेस एक्लै बलियो हो । यसमाथि हामी सत्ता गठबन्धनमा छौँ । लोकतन्त्रमा निर्वाचनलाई व्यवस्थित गरेर सुरक्षित मतदान गर्न पाउने अधिकारलाई पालना गरेका मात्र हौँ । 

तपाईंहरूकोभन्दा उहाँहरूको प्रचारशैली आक्रामक देखियो । गठबन्धन भन्नुभएको छ, प्रचारमा हिँड्दा गठबन्धनका नेताहरू पनि देखिँदैनन् । जित्ने आधार के के छन् ? 

चुनाव जित्ने आधार उम्मेदवारको योग्यता हो । राजनीतिक निष्ठा र लगानी हो । म तीन पटक माननीय भइसकेँ । उहाँ एक पटक पनि उम्मेदवार हुनुभएको छैन । उहाँको निष्ठा र उहाँले पु¥याउनुभएको योगदान पहिलो कुरा हो । यो व्यवस्था किस्तीमा आएको होइन । उहाँहरूकै जोडबलले आएको हो । लोकतन्त्र ल्याउन सजिलो थियो र ? कसरी लोकतन्त्र आयो ? लोकतन्त्र प्राप्त गरेपछि आफ्नो अभिव्यक्ति प्राप्त गर्न पाउने नैसर्गिक अधिकार सबैको छ । आलोचना गर्न सजिलो भएको छ अर्थात् यो लोकतन्त्रका ल्याउन योगदान गरेको पार्टी कांग्रेस हो । अहिलेको राजनीतिक स्थायित्व ल्याउन अहिलेका प्रमुख दल नै हुन् । चुनाव जित्ने आधार गठबन्धन, उम्मेदवारको योग्यता, क्षमता र जनताको भावना नै प्रमुख हुन् । 

तपाईंहरूका आमसभा र भेलाहरूमा कांग्रेस मात्र सक्रिय देखिन्छ । गठबन्धनका दलहरू एक जुट देखिनुभएन नि ? 

हामी गठबन्धनसँगै छौैँ । यो केन्द्रीय स्तरबाटै निर्णय भएर आएको हो । तनहुँले मात्र गरेको निर्णय होइन । गठबन्धन गरेर तीन तहको निर्वाचन सम्पन्न ग¥यौैँ । अहिले सत्ता गठबन्धनकै सरकार छ । प्रदेशमा पनि केही दिनमै कांग्रेस नेतृत्वको सरकार बन्छ । तनहुँ मात्र हैन चितवन २, बारा २ मा पनि गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । परिवर्तनको पक्षधर पनि हामी हौँ । लोकतन्त्रलाई स्थायित्व दिने पनि हामीले नै हौँ । अहिले जोजसको कुरा तपाईंले गर्नुभयो ती उम्मेदवार पनि कांग्रेसले हुर्काएको हो । कांग्रेसबाट पाउनुपर्ने पाएर जानुभएको त हो नि । 

स्वर्णिम र सर्वेन्द्रलाई कांग्रेसले बनाएको भन्नुभयो तर उनीहरूलाई कांग्रेसले किन संरक्षण गर्न सकेन ? 

कांग्रेसमा जेलनेल खाएका सयौँ हजारौँ मानिस हुनुहुन्छ । तनहुँमै यस्ता कति हुनुहुन्छ होला ? उहाँहरूले पाउनुपर्ने बेला अगावै पाउनुभयो । नपाउनुपर्ने व्यक्तिले पाएपछि त्यो डाइजेस्ट नभएको हो । हामीले बनाइदिएका साथीहरू हामीविरुद्ध लाग्नुभएको छ । 

घरदैलोमा हिँड्नुभएको छ । के के देख्नुभयो ? जनताका समस्या के रहेछन् ? 

जनताका जनजीविकामा सुधार गर्नुपर्ने धेरै छन् । अव्यवस्थित बसोबासका कुरा छन् । एकीकृत सहरीकरणका कुरा छन् । खानेपानी, स्वास्थ्य र यातायातका कुरा गर्नुपर्ने छ । जिताएर पठाएपछि गोविन्दजीलाई मन्त्री बनाउने र यहाँको विकास गर्ने हो । अरू जितेर गए पनि मन्त्री हुने त म देख्दिनँ । 

चुनाव जितेर गएपछि त स्वर्णिम पनि मन्त्री बन्न सक्लान् । अहिले पनि त उनीहरू तपाईंहरूकै गठबन्धनमा सामेल छन् नि ?  

गठबन्धनमा भए पनि सरकारमा आउने नआउने मलाई थाहा छैन । सभापति हुनुहुन्छ, कानुन नजान्दा गृहमन्त्री र सांसद् पद गुम्यो । हिजो मात्र उहाँहरूको माननीयले दुई करोडको डिल गरेको भिडिओ भाइरल छ । उहाँहरूको पार्टी खहरे खोलाजस्तो हो । बर्खामा खहरे खोलामा बडो आतङ्कित ढङ्गले बाढी आउँछ । यसले आसपासका जमिन र उस्तै परे घर नै लैजान्छ । फेरि हिउँदमा त्यो ठाउँमा कमिलो हिँडे पनि थाहा हुन्छ । कांग्रेस सागर हो, निरन्तर बग्ने नदी हो । 

मतलब स्वर्णिम वाग्लेलाई बर्खाको भेलको संज्ञा दिनुभएको हो ? 

त्यो भेलमा उहाँ ‘हौवा’ फैलाएर आउनुभएको सत्य हो । यथार्थ कुुरा त्यहाँ छैन । त्यो भ्रमजस्तो छ । युवाहरूमा असन्तुष्टि छ । हाम्रा कमजोरी पनि छन् । देशमा राजनीतिक स्थायित्व दिन सक्नुपर्थ्यो त्यो भएन । तर २० सिट ल्याएको पार्टीले पनि गर्न केही सक्दैन । गर्नुपर्ने त कांग्रेसले नै छ । सक्ने पनि कांग्रेसले नै हो ।   

प्रतिस्पर्धी उम्मेदवारलाई बर्खाको भेल भन्नुभयो, त्यो भेललाई कसरी रोक्न सक्नुहोला ? 

त्यो भेल आफैँ सकिन्छ । हामीले केही गर्नुपर्दैन वैशाख १० गते निर्वाचन हुन्छ । त्यो निर्वाचनपछि त्यो भेल आफँै हराउँछ । तनहुँका जनतामा चेतना छ । उहाँहरूले  बुझ्नुहुन्छ सचेत जिम्मेवार नेतालाई निर्वाचित गराएर पठाउँनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया