शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ : मुख्य उम्मेदवारलाई जिताउन ‘डमी उम्मेदवार’ को लर्काे

३४ जना उम्मेदवारमध्ये केहीमात्र घरदैलोमा
मङ्गलबार, ०५ वैशाख २०८०, १० : ३०
मङ्गलबार, ०५ वैशाख २०८०

बारा । बारा–२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि यतिबेला आधा दर्जन उम्मेदवार घरदैलोमा छन् भने बाँकी उम्मेदवार निष्क्रिय बसेका छन् । चैत २० गते कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३६ जनाले उम्मेदवार मनोनयनपत्र दर्ता गरेका थिए । तीमध्ये २ जनाले फिर्ता लिएपछि ३४ जनाको उम्मेदवारी कायम छ तर यतिबेला फिल्डमा आधा दर्जन उम्मेदवारमात्रै चुनाव प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा देखिन्छन् ।

उपनिर्वाचनका लागि १० उम्मेदवार राजनीतिक दलहरुबाट र २४ जना स्वतन्त्र छन् । जसमध्ये जसपा नेपालका उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीका अरुणकुमार ज्ञवाली र नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारी उम्मेदवार छन् ।

त्यसबाहेक केही भने ‘डमी उम्मेदवार’ को रुपमा खडा भएका छन् । मुख्य उम्मेदवारले आफ्नो चुनाव प्रचारप्रसारका लागि र निर्वाचन आचारसंहिताको प्रावधान छलेर सुविधा भोगका लागि डमी उम्मेदवार खडा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘उहाँहरुले नैतिकताका आधारमा आफ्नो चुनाव चिह्न लिएर अरुका लागि काम गर्न मिल्दैन, तर के गर्नु ? अहिले ४/५ वटा उम्मेदवारको समूहमात्रै घरदैलोमा छ, बाँकी सबै अरुका लागि काम गरिरहेका छन्,’ मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले भने ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा २ वटा दुईपाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे, सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ । तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने उल्लेख छ ।

साथै उम्मेदवारले मतदानको दिन प्रति मतदानस्थलमा १ जना र मतगणना स्थलमा २ जनासम्म आफ्नो मान्छे खटाउन पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउन ठुला दलहरुले ठुलो संख्यामा ‘डमी उम्मेदवार’ उठाएका छन् ।

दलका मुख्य उम्मेदवारलाई जिताउने र निर्वाचनलाई प्रभावमा पार्ने उद्देश्यले डमी उम्मेदवार खडा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको आकलन छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार डा. कमरुल्लाह अन्सारीले ३४ जना उम्मेदवारमध्ये ४ देखि ५ जनामात्रै फिल्डमा खटेको, बाँकी सबै डमी उम्मेदवार भएको आरोप लगाएका छन् । ‘सबैभन्दा धेरै डमी उम्मेदवार जसपा नेपाल, एमाले र जनमत पार्टीको छ,’ उनले भने, ‘हामीसँग त खर्च पनि छैन डमी उम्मेदवार खडा गर्न ।’

२४ जना स्वतन्त्र उम्मेदवारमध्ये धेरैजसो जसपाका उम्मेदवार उपेन्द्र यादव, एमाले उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाका निकट रहेको स्रोत बताउँछ ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ‘डमी उम्मेदवार’ रहेको स्वीकार गरे । उनले निर्वाचनलाई सहज बनाउन र सुविधाका लागि आफूले ४ देखि ५ जनामात्रै स्वतन्त्र उम्मेदवार उठाएको बताए । ‘हाम्रो धेरै छैन, त्यही ४/५ जना होलान्, जसपा र एमालेका उम्मेदवारका डमी उम्मेदवार धेरै छन्,’ कुशवाहाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप