शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ : उपेन्द्रको सपना भर्सेस सीके राउतको रणनीति

मतदाताको मुडले नतिजा फरक आउन सक्ने संकेत
मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : २६
मङ्गलबार, ०५ वैशाख २०८०

बारा । बारा क्षेत्र नम्बर–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपा नेपाल र जनमत पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । १ लाख ५ हजार २९८ मतदाता रहेको सो क्षेत्रमा दुवै दलका लागि उपचिर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ ।

सत्ता गठबन्धनको बलियो साथ पाएका जसपाका अध्यक्ष उपेन्द्र यादव कुनै पनि अवस्थामा निर्वाचन जित्न चाहन्छन् भने उनलाई सप्तरीमा पराजित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउत बारा–२ मा पनि पराजित गराउन आफ्नो सक्रियता बढाइरहेका छन् । बारा–२ मा सीके राउतले स्थानीय उम्मेदवार खडा गरेर उपेन्द्रलाई चुनौती दिएका छन् ।

मङ्सिर ४ को निर्वाचनमा पराजित भएका उपेन्द्र यादव संसद् छिर्ने सपना बोकेर बारा–२ मा उम्मेदवार बनेका हुन् । तर उनलाई संसद् प्रवेश गर्न नदिने रणनीतिका साथ लामो समयदेखि सीके राउत यस क्षेत्रमा आफै खटिरहेका छन् ।

बारा–२ मा दल र स्वतन्त्र तर्फबाट ३६ जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको अधिकांश भूभाग दक्षिणतर्फ पर्छ । बारा–२ अन्तर्गत कोल्हवी नगरपालिकाको वडा नम्बर–८ का अतिरिक्त महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, सुवर्ण नगरपालिका, पर्चौता गाउँपालिका, करैयामाई नगरपालिका पर्दछन् ।

ती पालिका अन्तर्गत ४४ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।

अधिकांश गाउँमा सीके राउतको जनमत पार्टीको छुट्टै छाप परेको देखिन्छ । मधेसको मुद्दालाई न्याय गर्न सक्ने एकमात्र पार्टी जनमत भएको भन्दै सो क्षेत्रका मतदाताहरू उत्साहित बनेका छन् । बारा–२ का आम मतदाताहरू पुराना नेता र पार्टीको पक्षमा खासै उत्साहित देखिएका छैनन् । यसको मुख्य कारण बाहिरी क्षेत्रका उम्मेदवारको प्रवेशलाई नै मानिएको छ ।

बारा–२ मा यस अघि जसपाको रामसहाय यादवले निर्वाचन जितेका थिए । उनी उपराष्ट्रपति भएपछि सो क्षेत्रमा पुनः निर्वाचन हुँदैछ ।

एमालेसँगको गठबन्धनमा १३ हजार ८२२ मत ल्याएर यादव निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहा भने ३५४ मतान्तरले पराजित भएका थिए । उनै कुशवाहा अहिले सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका छन् । सो निर्वाचनमा जसपाकै केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार ४३ मत प्राप्त गरेका थिए ।

कांग्रेससहित ४ दलीय गठबन्धनबाट त्यतिबेला उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहालाई हराउन कांग्रेसभित्रबाटै रविन्द्र प्रसाद यादवले बागी उम्मेदवारी दिएर १० हजार ७५० मत ल्याएका थिए । उतिबेला स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर प्रसाद यादव जसपामै फर्किएका छन् भने कांग्रेसका बागी उम्मेदवार रविन्द्रप्रसाद यादव पनि उपेन्द्र यादवको समर्थनमा घरदैलोमा हिँडेका छन् ।

रविन्द्रप्रसाद यादव संविधान सभाका पूर्व सदस्य तथा ३ कार्यकाल नेपाली कांग्रेसको बारा जिल्ला सभापति भएका राधेचन्द्र यादवका भतिजा हुन् । उनको समर्थनले कांग्रेसभित्रको एउटा ठुलो तप्काको समर्थन जसपा अध्यक्ष यादवलाई छ भन्ने अर्थ राख्दछ  । यसले उपेन्द्रलाई चुनाव जित्न केही ढाडस दिए पनि उनका सामु माओवादी केन्द्र त्यागेर जनमत रोजेका कुशवाहाको चुनौती कम छैन ।

मङ्सिर ४ कै निर्वाचनलाई आधार मान्ने हो भने माओेवादी र लोसपाको मत छोडेर जसपा नेपालका २ जना उम्मेदवार र कांग्रेसका बागी उम्मेदवार रविन्द्रप्रसाद यादवको भोट जोड्दा उपेन्द्र यादवसँग यतिबेला ३५ हजार ६१५ मत छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले भने बारा–२ मा कुल मतदाताको ८० प्रतिशत भोट सत्ता गठबन्धनसँग भएकाले उपेन्द्र यादव २० देखि २५ हजार मतान्तरले विजयी हुने दाबी गर्दै आएका छन् । तर सीके राउतले उनका विरुद्ध थालेको आक्रामक प्रचार शैली र मतदाताको मुडले भने नतिजा फरक आउन सक्ने संकेत गरिरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध मुख्य दलहरूको सबै मत उपेन्द्र यादवको पक्षमा खस्ने अवस्था देखिन्न । सत्ता गठबन्धनको ठुलो दल कांग्रेसका अतिरिक्त माओवादी केन्द्रको मत विभाजित हुने प्रस्ट छ । माओवादी केन्द्रको केही मत कुशवाहाको पक्षमा जाने देखिन्छ । यद्यपि सो क्षेत्रमा राम्रो प्रभाव बनाएका पूर्व माओवादी नेता प्रभु साह नेतृत्वको आम जनता पार्टीका तर्फबाट अरुण कुमार ज्ञवाली उम्मेदवार छन् । पहाडी मूलको केही मत र माओवादी केन्द्रको केही मत उनको पक्षमा पनि जाने देखिन्छ । जसले गर्दा उपेन्द्रलाई नै असर पर्ने देखिन्छ ।

मधेसी समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रको मत दुई भागमा विभाजित हुने देखिन्छ । सो क्षेत्रको मत यादव समुदाय र अन्य समुदायमा विभाजित छ । यादव समुदायको मत सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्रले पाउने छन् । तर, यादव समूहमा पनि विभाजन देखिँदा उपेन्द्रलाई चुनाव जित्न चुनौतीपूर्ण देखिएको छ ।

अन्य समुदायको मत भने सबै उम्मेदवारको पक्षमा बाँडिने देखिन्छ । अन्य समुदायको मत सबैभन्दा बढी सीके राउत नेतृत्वको जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाको पक्षमा खस्ने देखिन्छ । सीके राउतको पक्षमा देखिएको लहरले जनमतका कुशवाहालाई थप सहजता प्रदान गरेको छ ।

उपेन्द्रको अर्को चुनौतीको विषय भनेको भूगोल हो । उनलाई भूगोलले पनि साथ दिएको देखिन्न । बारा–२ का अधिकांश मतदाता भूगोलको उम्मेदवार छान्ने पक्षमा छन् । भूगोलको मत ज्ञवाली र कुशवाहाले पाउने देखिन्छ । कुशवाहा बारा–२ अन्तर्गत पर्ने महागढीमाई नगरपालिका बरियारपुरका स्थानीय हुन् भने ज्ञवाली महागढी माई नगरपालिका गंजभवानीपुरका हुन् ।

यता नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । सांगठनिक मतमा बलियो रहने एमालेलाई पनि सो क्षेत्रमा चुनाव जित्न कठिन छ । यो क्षेत्रमा एमाले मत काट्ने फ्याक्टरको रुपमा रहने लगभग पक्का छ । भूगोलको हिसाबले बारा कै भए पनि पौडेललाई बारा–२ बाट पर्याप्त मत प्राप्त हुने अवस्था देखिँदैन ।

त्यस्तै बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पूर्व डीआइजी रमेश खरेलका कारण पनि उपेन्द्रलाई समस्या हुने देखिन्छ । पहाडी समुदायको मत र खरेलको आफ्नै छविको मत उनलाई प्राप्त हुँदा उपेन्द्रको मत घट्ने अनुमान लगाउन सकिन्छ । कांग्रेस र माओवादीका आफ्नै उम्मेदवार नरहेका कारण ती दलका केही मत खरेलले प्राप्त गर्ने सम्भावना देखिन्छ ।

खरेल आबद्ध दल रास्वपा र सभापति रवि लामिछानेको व्यक्तिगत प्रभावको मत खरेलले पाउने देखिन्छ । तर, बारा–२ को चुनावी माहौल र मतदाताको मनोभावना बुझ्दा खरेलले पनि पर्याप्त मत पाउने अवस्था छैन ।

बारा–२ मा गएको मङ्सिर ४ को निर्वाचनमा १ लाख ५ हजार २९८ मतदाता रहेकामा करिब ६९ हजार मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस पटकको निर्वाचनमा बारा–२ मा मतदाता रहेका कर्मचारीलाई नखटाउने निर्णय गरेको छ । यस पटक करिब ८० हजार मत खस्ने अनुमान मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप