बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

म्याग्दीका दुई सामुदायिक वनमा डढेलो : ३० हेक्टर वन क्षेत्रमा क्षति

शनिबार, ०९ वैशाख २०८०, २१ : ४१
शनिबार, ०९ वैशाख २०८०

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको स्थानीय पदम खड्काले जानकारी दिए । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले जिल्लामा एक सयभन्दा बढी  हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

गत आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी अघिल्लो शुक्रबारदेखि बेनी नगरपालिका–२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

आज रत्नेचौरको अर्जम सामुदायिक वन र ज्यामरुककोटको रानीवन सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले नियन्त्रणमा जुटेका छन् । सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै गएको बेनी नगरपालिका–२ का वडासचिव राजाराम शर्मा सापकोटाले जानकारी दिए ।

“अहिलेसम्म दुवै सामुदायिक वनको कम्तीमा ३० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, स्थानीय पदम खड्काले भने । यता डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी र स्थानीयवासी आगो नियन्त्रणमा लिन जुटेका जानकारी दिए ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको बासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ । 

यसैबीच यसवर्ष जिल्लाभर एक सय बढी हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । डढेलोका कारण सदरमुकाम बेनी आपासका क्षेत्रमा वायु प्रदूषण बढेको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको भन्दै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए । आगलागीमा संलग्न जो–कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए ।

गत वर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको  डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ झाडी, २१ दशमलव २७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, एक्यापले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर वन छन् । जसमा तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भूस्खलनका साथै सडक विस्तारको बहानामा फडानीको सिकार बन्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप