बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गर्भमै मल, उम्रिँदै तीनपात, कलिलैमा फल

आइतबार, १० वैशाख २०८०, १२ : ४६
आइतबार, १० वैशाख २०८०

विषय प्रवेश

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ समाजलाई कसरी उन्नत र समृद्ध बनाउने भन्ने  सन्दर्भमा मिहिन बहस र छलफल गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने संवेदनशील समयमा हाम्रो समाज भने रकम लेनादेनाको टेप प्रकरणमा भौँतारिइरहेको छ ।  यो हाम्रो दुर्भाग्य हो । भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा बार्गेनिङ गरेको टेप रेकर्ड सार्वजनिक भएको छ । यसले मौखिक, लिखित र विद्युतीय तरङ्गलाई तरङ्गित बनाएको छ । 

चिया पसलदेखि सिंहदरबारसम्म यसले राम्रै कभरेज पाइरहेको छ । सामाजिक सञ्जाल त त्यसै पनि हाजिर छँदैछ अर्थात् यो घटनाले सबैको ध्यान खिचेको छ । यद्यपि नेपाली संसदीय राजनीतिमा यो नै पहिलो घटना भने होइन । 

वास्तवमा यस्तो घटिया घटना नभएको भए राम्रो हुन्थ्यो । जसले गरे पनि यस्तो घटना क्षम्य हुन सक्दैन । भ्रष्टाचार, कमिसन र लेनादेनारहित पद्धतिमा चलेको समाज हामी सबैको साझा लक्ष्य र चाहना हो । 

अब घटना घटिसकेपछि त्यसको सही र सत्य, तथ्य छानविन गरी दोषीउपर कडा कारबाही गर्नुभन्दा अर्को बाटो छैन । यसकारण जोकोही भए पनि यो घटनामा संलग्नहरूलाई कारवाहीको प्रक्रिया अघि बढाउनै पर्दछ । यही सिलसिलामा रास्वपाले स्पष्टीकरण सोधिसकेको छ । कारबाही पनि गरिसकेको छ । हुन त नेपाली समाजले यस्ता कारवाहीहरू धेरै देखेजानेका छन् । कारवाही हुँदै गर्छ भित्री कामकुरा अघि बढिरहन्छ । यस्तै छ यहाँको चलन । यस घटनामा पनि नयाँप्रतिको मतदाताहरूको बनिबनाउ चाहना वा भावना, आलो वाचाकसमहरू र उपचुनावकै सेरोफेरोमा यस्तो गम्भीर घटना सार्वजनिक भएपछि आकस्मिक कारवाही गर्नु र भोग्नु समय संवेदनशीलताको माग थियो । 

रास्वपाले सोहीबमोजिम गरे । यद्यपि सांसद ढाकाकुमार श्रेष्ठले भने उक्त टेप आफ्नो नभएको सम्पादान गरेर मलाई फसाउन खोजेको भन्दै विगतका आरोपितहरूले जस्तै अस्वीकार गरिरहेका छन् । कारवाही भए सबै पोल खोलिदिनेसम्मको बचाउ रणनीति समाउन पुगे । यस्ता खण्डन–मण्डन र पानीमाथिको ओभानो बन्ने प्रयासहरू हाम्रो समाजका लागि नयाँ वा अनौठो होइन ।

वस्तुतः हाम्रो समाजमा अघिपछि यस्ता प्रकरण भइ नै रहेको देखिन्छ । अर्थराजनीतिक सार वा अन्तर्वस्तुबाट नियाल्दा यो सामन्य औसत कर्मकाण्डहरू भित्रैपर्दछ । तर रूप वा सतहबाट मात्र मूल्याङ्कन गर्दा यो वडो विचित्र, अकल्पनीय र अनौठो  लाग्छ । यसअर्थ हामी कुनै पनि व्यक्ति, वस्तु वा सत्ताबारे कुन दृष्टिकोणबाट विश्लेषण गर्दछौँ भन्ने कुरा निर्णायक हुन्छ अर्थात् वस्तुवादी भएर वा यथार्थ धरातलमाथि उभिएर मापन गर्दैछौँ कि बनिबनाउ भावना, चाहना वा कुनै निहित स्वार्थको कक्ष वरिपरिबाट समीक्षा गर्दैछौँ भन्ने कुरा असाध्यै महत्त्वपूर्ण हुन्छ ।

 यहाँ रास्वपा भनेको नयाँ र युवाहरूले नेतृत्व गरेको पार्टी हो, नयाँ भिजन छ, अरूले नगरेको गर्र्छौं भनेर कसम खाएका छन् अनि रवीको दमदार प्रस्तुति अद्वितीय छ । यसकारण यहाँ यस्तो लेनादेना हुँदैन भन्ने निरपेक्ष बनिबनाउ मनोविज्ञान बोक्नेहरू छन् । उनीहरूलाई यो घटना अनौठो लाग्दैछ । 

अर्कोतिर रास्वपा, रवि र ढाकाहरूले टेकेको धरातल पनि यही हो । स्वादिलो कुरा जेजे गरे पनि उनीहरू पनि धरातल अनुरूप नै उभिनु पर्दछ भन्ने वस्तुवादी विश्लेषणसहित यसलाई औसत कर्मकाण्डहरू हुन् भनेर परिभाषित गर्नेहरू पनि छन् । तब यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

समस्या यता, समाधनको अपेक्ष उता 

रोगको सही निदान नगरी गरेको उपचार प्रभावकारी हुँदैन अर्थात् समस्या पहिचान नगरी समाधन सम्भव हुँदैन । नेपाली समाजमा कतिपय सवालहरू गलत हुँदाहुँदै पनि हाबी भइरहनु पछाडिको प्रधान कारण भनेको व्यक्ति, वस्तु वा सत्ता प्रतिको गलत व्याख्या र बुझाइकै दुष्परिणाम हो । यही समाजमा यो गर्छौं र त्यो गर्छौं भनेर आदर्श र नैतिकताका बखान गर्ने धेरै पार्टी, समूह, संस्था र व्यक्तिहरू आए गए । उनीहरूको निहित स्वार्थ सिद्ध भयो होला । तर समाजको मूलभूत समस्या समाधन भएन । यस्ता वाचाकसम र नयाँपन केवल सत्तारोहणको भ¥याङ मात्र बनिरहेको तीतो विडम्बना तपाईं हामी कसैमा छिपेको छैन । यसले पो गर्छ कि उसले पो गर्छ कि भनेर अनन्त परीक्षण गर्दागर्दै जवान वृद्धा भइरहेका छन् भने वृद्धाहरूले चोला फेरिरहेका छन् अर्थात् समस्या समाधनको क्षितिज देख्ने सपनामा पुस्ता गलिरहेको छ । तर पनि अभैm क्षितिज उघ्रिएको छैन । यसको जड कारण भनेको के हो ? सबैको सुरुमा भनाइ राम्रो हुन्छ तर गराइको चरणमा पुगेपछि कार्यान्वयन हुँदैन किन ? यस्ता यक्ष प्रश्नहरूको सही जवाफ खोज्नु आजको सारभूत आवश्यकता खट्किएको छ ।

नेपाली राष्ट्रिय राजनीतिमा दशकौँदेखि व्यप्त सबैखाले बेथिति र विसङ्गतिहरूको समूल अन्त्य गर्ने हो भने प्रणाली नै बदल्नु जरुरी छ ।

मूलतः नेपाली राजनीतिमा देखिएका समस्याको वास्तविक कारण भनेको सैद्धान्तिक दृष्टिकोणमा अन्तर्निहित प्रणालीगत समस्या नै हो । आजको हाम्रो राजनीति नवउदारवादी पुँजीवादद्वारा निर्देशित संसदीय लोकतान्त्रिक प्रणाली हो । 

वस्तुतः नवउदारवादी उत्पादन सम्बन्धमा उपभोगवादी संस्कृति हाबी हुन्छ । त्यो भनेको वस्तुवादी र धरातलीय यथार्थमा भन्दा पनि आडम्बर, ढोङ, भाते–स्वादे, रसरङ र रमाइलोद्वारा निर्देशित हुन्छ । हरेक मानवीय आयामहरू विकृत, असङ्गत र अराजकतातर्फ परिलक्षित हुन्छ । यस्तो संस्कृतिमा विचार, सिद्धान्त, दृष्टिकोणको आधारमा सही र गलत निर्धारण हुँदैन । सबै अर्थराजनीतिक तथा सामाजिक सत्ताहरू औसत कर्मकाण्डी र औपचारिक मात्र बन्दै जान्छ । सत्य–तथ्य, वस्तुवादी र उत्पादनशील आधारहरू भन्दा पनि हल्लाखल्ला, मिडिया स्टन्टबाजी र सामाजिक सञ्जालले भाइरल बनाएका वा बनाइएका व्यक्ति, वस्तु र सत्तालाई समाधन देख्न गरिन्छ । यसैबाट समाधनको सपना बुन्न थालिन्छ । महत्त्वाकाङ्क्षाको पारो बढाउन थालिन्छ । यो गर्छु र त्यो गर्छुजन्य बखान आरम्भ हुन्छ । यस्तै रणनीतिक रङ्गमञ्चमा मतदाताहरू बहकिन र बरालिन थाल्छन् । वश समस्या यति हो । 

यही मेसोमा अन्य सामाजिक सत्ताहरूजस्तै संसदीय लोकतान्त्रिक सत्ता पनि विकृत र विसङ्गत बन्दै जान्छ । यसैको दुष्परिणाम आज हाम्रो संसदीय राजनीति असाध्यै विकृत बनिरहेको छ । संसदीय प्रणालीमा आवधिक चुनावलाई प्राण मान्ने गरिन्छ, जुन असाध्यै खर्चिलो र भड्किलो भइरहेको छ । यस्तो प्रणालीमा समग्र राजनीतिक कर्म भनेकै जसरी पनि चुनाव जित्नुसँग जोडिएको हुन्छ । जसरी पनि बहुमत हासिल गर्नुसँग गाँसिएको हुन्छ । जसरी पनि राजनीतिक सत्तामा पहुँच कायम गर्नुसँग सम्बन्धित हुन्छ । जसरी पनि पावरमा पुग्नुसँग साइनो–सम्बन्ध हुन्छ । यसरी जसरी पनि जित्नुको साम, दाम, दण्ड र भेद जस्ता सबै औसत अस्त्रहरूसँग नजिकको सम्बन्ध हुनेगर्दछ । यही अकाट्य वा अन्योन्याश्रित सम्बन्धका कारण सिद्धार्थ गौतमका चेला हुँ भन्नेहरू पनि एकाएक भष्मासुर बन्न पुग्छ । देवता हुँ भन्नेहरू रातारात दानव बन्न पुग्छ । तर यो उसको रहर र इच्छा नभएर  उसले टेकेको राजनीतिक धरातल सापेक्ष उभिने प्रयासको दुष्परिणाम मात्र हो । समस्या यता देखाएर समाधन उता खोज्नु अपराध बराबर हुन्छ । यसमा सबै सरोकारवालाहरू सधैँभन्दा बढी गम्भीर बन्न जरुरी देखिन्छ ।  

यसकारण संसदीय राजनीतिक प्रणालीमा समस्या छ । चुनावी कार्यदिशामा समस्याछ । संस्कार संस्कृति खर्चिलो र भड्किलो छ । विकृत र विसङ्गतिपूर्ण छ अर्थात् मान्छेले गर्ने सबै क्रियाकलापहरू विकृत, खर्चिलो, भड्किलो र आडम्बरी बन्दैछ । 

सबै सामाजिक भाष्य वा मनोविज्ञान गलत र नकरात्मक छ । सोच चिन्तन्, जीवन–व्यवहार, कार्यशैली र जीवनशैली वा सिङ्गो सामाजिकी विकृत छ । यस्तो विकृत अर्थराजनीतिद्वारा निर्देशित समाजमा सही र वस्तुवादी भाष्य हाबी हुँदैन । सिद्धान्त र दृष्टिकोण स्थापित हुँदैन । इमानदारहरूको खोजी आवश्यकता पर्दैन । पद्धति र प्रणाली संस्थागत हुँदैन । नैतिकता मर्दै जान्छ । विश्वास ढल्दै जान्छ । आस्थाहरू गल्दै जान्छन् । यस्तो वस्तुगत धरातलमा साम, दाम, दण्ड र भेदको रुद्रीकर्म बुझाउन सक्ने ट्याक्टफुल पुजारीहरू मात्र हाबी वा सफल हुन्छन् । 

सामाजिक सत्ताको हरेक संरचनामा कुनै न कुनै शक्तिकेन्द्रहरूद्वारा निर्देशित गिरोहहरू निर्णायक छन् । यो समाजको चरित्र सापेक्ष नियम हो । आजको हाम्रो समाजको वास्तविक चरित्र यस्तै सेरोफेरोमा घुमिरहेको छ । 

 विकल्प : नयाँ र युवा पुस्ता

पछिल्लो समय मतदाताहरूलाई नयाँ, मिठो बोली र युवा भए पुग्ने भएको छ । अरू हैरानी–परेसानी र लगानी पर्दैन । विगतकालाई खराब दर्ज गरेर नयाँ वैकल्पिक शक्ति बन्ने होड आजको राजनीतिक यथार्थ हो । नयाँ विचार, कार्यक्रम र योजना चाहिँदैन । मतदाताहरू पनि पुरानो पार्टी र नेताहरूलाई गाली गरेकै भरमा समस्या समाधन भइहाल्छ भन्ने दृष्टिदोष वोकेका छन् । 

नयाँले सबै गरिहाल्छन् भन्ने भ्रममा छन् । उपभोगवादी दुनियामा मतदाताहरूको आधारभूत मनोविज्ञान पनि वस्तुवादी र सृजनशीलभन्दा पनि उपभोगवादी नै हुन्छ । यस्तो मनोविज्ञान उत्पादनशील र परिणाममुखी हुँदैन । उनीहरूमा विचार, सिद्धान्त र कार्यदिशा र कार्यक्रमभन्दा पनि नयाँ र युवा भए पुग्छ भन्ने बनिबनाउ भाष्य हुर्किरहेको छ । मिठो बोली, चोटिलो भाषण र यो बिगारे त्यो भत्काए, यता सके उता सके जस्ता फेहरिस्त पेसेपछि समस्या समाधन भइहाल्छ जस्तो दिग्भ्रम बोक्ने गरिएको छ । यसले आम मतदाताहरूमा चरम अन्योल र अस्पष्टता सिर्जना गरिरहेको छ । यही भ्रमको पातलो पर्दाभित्र डरलाग्दो योजनाहरू बुनिँदैछ । यसैको एउटा प्रतिनिधि घटना हो, ढाका र दुर्गाको टेप प्रकरण । उनीहरूलाई यस्ता नयाँ र युवाहरू उभिएको राजनीतिक धरातल अरू पार्टी र नेताहरूले टेकेको धरातलभन्दा भिन्न छैन भनेर वस्तुवादी विश्लेषणजन्य स्कुलिङ नै छैन । नेपाली स्कुलिङ भनेको अरूलाई गाली गरेर आपूm शक्तिशाली बन्ने मात्र रहेको छ । यसकारण नयाँ र युवाको कभरमा मतदाताहरूले हौसाएका पार्टी, नेता र व्यक्तिहरूबाट यस्ता गलत प्रकरण अभैm धेरै आउन बाँकी छ । प्रतीक्षा गर्दै जाँदा सबै यसरी नै प्रमाणित हुँदै जानेछ ।

निष्कर्ष

नेपाली राष्ट्रिय राजनीतिमा दशकौँदेखि व्यप्त सबैखाले बेथिति र विसङ्गतिहरूको समूल अन्त्य गर्ने हो भने प्रणाली नै बदल्नु जरुरी छ । विकृत र खर्चिलो संसदीय प्रणालीको विकल्प इतिहासको अपरिहार्य आवश्यकता बनिसकेको छ । पुरानै प्रणालीमा कसैले बुद्धको अवतार लिएर समस्या समाधनको परिकल्पना गर्छ भने त्यो सरासर भ्रम र भोट ब्ल्याकमेलिङ गर्ने रणनीति मात्र हो । यहाँ खास समस्या प्रणालीमा हो, नयाँ र पुरानो अनि वृद्धा र युवामा होइन । हो भने यस्तो टेप प्रकरणहरू हुन्थेन । प्रधान सवाल भनेको सिद्धान्त, विचार, दृष्टिकोण, एजेन्डा, कार्यदिशा, कार्यक्रम र कार्ययोजना नै हो । यसरी सिङ्गो प्रणालीगत त्रुटिबाट सिर्जित समस्याहरूलाई कसैले भावनात्मक तथा प्राविधिक ढङ्गले  हल गर्न खोज्नु मूर्खता मात्र हुन्छ अर्थात् दृष्टिकोणको सारद्वारा निर्देशित समस्यालाई भावनाको भेलमा लगेर पार लगाउन सकिँदैन । यसकारण विकृत संसदीय प्रणालीको विकल्पबारे बहस, छलफल गरौँ । नयाँ र युवाको सवाल सहायक सवाल हो । प्रणालीको सामु विचरा नयाँ र युवाहरूको पनि केही लाग्दैन । यसमा मतदाताहरू सचेत हुन जरुरी छ । होइन भने अरू रवि लामिछाने र ढाकाकुमार श्रेष्ठहरू नयाँ र युवाजन्य छद्म रूपरङ र अवतारहरूमा आइरहने छन् । करोड र अर्बद्वारा निर्देशित टेलिफोन वार्ता र बार्गेनिङहरू चलि नै रहनेछ । सबैलाई चेतना होस् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप