शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतको ‘सकम्बरी’प्रति पारिजात स्मृति केन्द्रकाे आपत्ति, गीत सच्याउन माग

सोमबार, ११ वैशाख २०८०, १५ : २८
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ दिन प्रतिदिन 'हिट' हुँदैछ । गीतको चर्चासँगै विवादसमेत चुलिँदै गएको छ । ‘सकम्बरी गीतलाई लिएर केही संघसंस्थाले आपत्ति प्रकट गरिसकेका छन् ।

यस्तैमा यो गीतलाई लिएर पारिजात स्मृति केन्द्रले पनि आपत्ति प्रकट गरेको छ । केन्द्रले एक विज्ञप्ति जारी गर्दै गीतको भिडियोमा साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’ को चर्चित पात्र सकम्बरी र सुयोगबीर राखिएको प्रति आपत्ति जनाएको हो ।

‘प्रकाश सपुतको  फूलमाया / सकम्बरी नामक गीत भिडियो भर्खरै सार्वजनिक भएको छ । उक्त गीतको छायाँकनमा सुप्रशिद्ध लेखिका पारिजातद्वारा लिखित २०२२ सालको मदन पुरस्कार प्राप्त कृति शिरीषको फूल देखाइएको र दुई पात्रहरुको नाम साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरिषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन’, केन्द्रले जारी विज्ञप्तीमा भनिएको छ, ‘यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लङ्घन भएको छ ।’

महासचिव दिलसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पारिजात स्वयम् नारी सशक्तिकरणका लागि लड्नु भएको व्यक्तित्व हुनुभएको ब्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायाँकनमा अप्रासंगिक रुपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीत भिडियोमा देखाइएका पात्रहरुको नाम सकम्बरी र सुयोगवीर राखिएको प्रति पारिजात स्मृति केन्द्रको गम्भीर आपत्ति रहेको छ  । यस प्रकारका अनाधिकृत छायाँकनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ । स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप