सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

सोमबार, ११ वैशाख २०८०, १८ : ०९
सोमबार, ११ वैशाख २०८०

कावासोती । लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरु सुक्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ ।

पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा ताल खडेरीका कारणले सुक्खा भएपछि वन्यजन्तुका लागि पिउने पानी र आहालको व्यवस्था गर्न सामुदायिक वनले आफ्नै खर्चमा तालमा जेनेरेटरको सहायताले पानी भर्न सुरु गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा तालमा पानी हुँदा एकै समयमा दर्जन बढी एकसिङ्गे गैँडाहरु आहाल खेल्दै गरेको अवस्थामा भेटिने गरेका थिए । 

लामो समयदेखि परेको खडेरीका कारण ताल सुक्दा जङ्गल सफारीका क्रममा गैँडा हेर्न आउने पर्यटक त्यसै फर्किनु परेको उल्लेख गर्दै गत पाँच दिनदेखि सामुदायिक वनले तालमा पानी भर्न सुरु गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए । 

“पानी नभएर ताल सुक्खा भएपछि गैँडालगायत जनावर देखिन छोडेपछि पर्यटकहरु त्यसै फर्किन परेकाले वनभित्र रहेको करिब एक किलोमिटर लामो तालमा विगत पाँच दिनदेखि वन्यजन्तुका लागि पानी भर्न सुरु गरेका छौँ”, अध्यक्ष गुरुङले भने । 

नमुना मध्यवर्ती सामुदायिक वनको यो क्षेत्रमा पूर्वी नवलपरासीको अमलटारीबाट मध्यवर्ती क्षेत्रका वनमा जङ्गल सफारीका लागि आउने पर्यटकका लागि रोजाइको क्षेत्र भए पनि पछिल्लो समय खडेरीका कारणले ताल सुक्खा हुँदा उनीहरु गैँडा नदेखी फर्किने गरेका थियो ।

तालमा पानी भर्न सुरु गरेपछि गैँडा लगायतका जनावरहरु पानी पिउन तथा आहालका लागि आउन सुरु गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले पानी परेर मूल नफुट्दासम्म दैनिक पानी भर्ने बताए । सामुदायिक वनमा गत वर्ष गाडेको बोरिङमा जेनेरेटर जोडेर पानी निकालेर ताल भर्ने काममा सामुदायिक वनका पदाधिकारी र स्थानीय पालो गरेर लागेका स्थानीयवासी जितेन्द्र सापकोटाले बताए । निकुञ्जसँग ताल भर्नका लागि सहयोग मागेर नपाएपछि वनले आफ्नै खर्चमा पानी भर्ने काम सुरु गरेको सापकोटाले बताए ।

पछिल्लो समय गत असोजयता पूर्वी नवलपरासी पानी परेको छैन । लामो समयसम्म पानी नपर्दा सामुदायिक वन क्षेत्रभित्र भएका तालतलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गएपछि वन्यजन्तु समस्यामा परेका छन् । जङ्गलभित्र पानी पिउन नपाएपछि वन्यजन्तु बस्तीमा पस्ने गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप