मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो

मङ्गलबार, १२ वैशाख २०८०, १३ : ४८
मङ्गलबार, १२ वैशाख २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको निरीक्षण गरेकी छन् ।  प्रमुख दाहालले आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे जिज्ञासा राखेकी हुन् ।

भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ। आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।  आयोजनाका इन्जिनियर आनन्द सुवेदीले भरतपुरको भूमिगतको कार्य तीव्र रूपमा अगाडि बढेको जानकारी दिए । भूमिगतका लागि विदेशबाट ल्याउनुपर्ने ८० प्रतिशत काम भएकाले र पाईप बिछ्याउने काम लगभग सकिएको बताए । उनले विदेशबाट सामान आएकाले अब हुने काम सहज ढंगबाट अघि बढ्ने सुवेदीले बताए । भरतपुर विद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतीय प्रणालील सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्य कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

प्रमुख दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताइन् । दाहालले विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यलाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने आशा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप