शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

एमाले सांसद कोइरी फरार रहेको भन्दै प्रहरीद्वारा सभामुखलाई दोस्रो पत्र,  निलम्बनको बाटो खुल्यो

सोमबार, १८ वैशाख २०८०, २२ : ५२
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ ।  हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले रातोपाटीलाई जानकारी दिए ।  यसअघि पनि उनी फरार रहेकोबारे सभामुखलाई जानकारी गराइएको कडायतले बताए । उनले भने– ‘सांसद कोइरीमाथि हत्या अभियोग लागेको, उनी हाल फरार रहेको र प्रहरीले खोजिरहेको बारे सभामुखलाई दोस्रोपटक जानकारी गराउँदै पत्र पठाएका छौँ ।’ 

यता सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि संसद् सचिवालयमा प्रहरी प्रधान कार्यालयबाट सांसद लक्ष्मी महतो कोइरीको बारेमा जानकारी पत्र आएको बताए ।  यसअघि प्रहरीले गत पुस ७ गते लक्ष्मी महतो कोइरीमाथिको अभियोग र प्रहरीले खोजी गरिरहेको विषयमा सभामुखलाई जानकारी पत्र गराएको थियो । प्रहरीले सो पत्र पठाएकै दिन संसद् भवन छिरेर सांसद महतोले शपथ लिएका थिए भने पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन पनि संसद् भवन पुगेका थिए । 

प्रहरीले यसअघि नै पत्र पठाए पनि सभामुखले उनलाई निलम्बन गरेका थिएनन् । गत वैशाख १५ गते हिउँदे अधिवेशनको अन्तिम दिन फरार भएको अभियुक्तलाई बिरामी बिदाको लागि सभामुखले प्रस्ताव पेस गरेको भन्दै सांसदहरुले संसद्मा बबन्डर गरेका थिए । सांसदहरूको विरोधका कारण झन्डै ५ घण्टा प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो । त्यसपछि भएको बैठकमा सभामुखले सांसद कोइरीबारे अर्को बैठकमा निर्णय लिने बताएका थिए । 

कोइरीलाई निलम्बनको बाटो खुल्यो
प्रहरी प्रधान कार्यालयबाट सांसद कोइरी हत्या अभियुक्त रहेको, हाल फरार रहेको र उनको बारेमा अदालतमा मुद्दा चलिरहेको बारे पत्रमार्फत सभामुखलाई जानकारी गराएपछि उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउसम्बन्धी व्यवस्था गरिएको छ । सो नियममा रहेको व्यवस्था अनुसार सभामुखलाई सांसद कोइरीबारे प्रहरीले गराएको पत्रअनुसार उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । नियमावलीको नियम २४८ को उपनियम ३ अनुसार उनी पक्राउ नपरे पनि निलम्बित हुनेछन् । 

उपनियम ३ मा भनिएको छ– ‘प्रचलित कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्रामा अभियोग पत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’ भन्ने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद कोइरी स्वतः निलम्बनमा पर्नेछन् । 

सांसद कोइरीमाथि ७ वर्षअघि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका जवान थमन विकको हत्या आरोप लागेको थियो । २०७७ मङ्सिरमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा रहँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप