बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा तनाव

ऐनमा टेकेर काम गरेको उपकुलपतिको दाबी
मङ्गलबार, १९ वैशाख २०८०, २१ : १८
मङ्गलबार, १९ वैशाख २०८०

सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् ।

उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

तर, उनको निवासमै विद्यार्थी नेताहरुको धर्ना जारी थियो भने प्रहरी तैनाथ गरिएको थियो । जसका कारण केही समय पत्रकारलाई समेत भित्र छिर्न दिइएन । पछि पत्रकारहरु गेटभित्र छिरे । करिब साढे १ घण्टा बोलेका सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको दाबी गरे ।

सम्बन्धन दिने विषयमा केही सीमा रहेको र त्यसैको जगमा टेकेर सम्बन्धन दिइने उनको भनाइ थियो । तर, उनी आक्रोशित र चिन्तित पनि थिए । सिंहले आफू कर्णालीकै भएकाले कर्णालीको शैक्षिक उन्नतिकै लागि भनेर काम गरे पनि त्यसको जस पाउनुको सट्टा विरोध नै विरोध भइरहेको भन्दै गुनासो पोखे ।

अहिले विश्वविद्यालयस्थित उनको कार्यालयमा तालाबन्दी छ । उनी केही दिनदेखि कार्यालय प्रवेश गर्न पाइरहेका छैनन् भने सोमबार काठमाडौंबाट फर्किएका उनी निवासमै रहेको थाहा पाएपछि विद्यार्थी संगठनका नेताहरु त्यहीँ पुगेर धर्ना दिन थाले ।

सिंह भन्छन्, ‘म समाजवाद उन्मुख मान्छे हो । म संविधानको कुराभन्दा बाहिर गएको छैन । ऐनले दिएको व्यवस्थामा रहेर सम्बन्धन दिन लागिएको हो ।’

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पक्षमा रहेको उनको भनाइ छ । उनले भने, ‘मैले आएदेखि नै यही अभियानका साथ विश्वविद्यालयको उन्नतिका लागि काम गरिरहेको छु । तर पनि सुख पाउन सकिएन ।’

आफू पैसा कमाउनका लागि नभई विश्वविद्यालयको उन्नति र शैक्षिक हब बनाउने उद्देश्यसहित आएको बताउँदै सिंहले आफूलाई ‘फेसबुके भिसी’ भनेर अपमान र तिरस्कार गरिरहेको सुनाए । उनले सम्पूर्ण राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह गरे ।

‘म विश्वविद्यालयमा आएदेखि भौतिक संरचनाहरुको परिवर्तनका साथै केही हदसम्म उचाईमा पु¥याउने प्रयास भएको छ तर, ती कामको मूल्याङ्कन हुँदैन,’ उपकुलपति सिंहले भने, ‘ठुलो मात्राको बेरुजुलाई शून्यमा झार्ने अन्तिम प्रयासमा छु, यो काम कसैले देख्दैन । केवल राजनीतिक दल र केही व्यक्तिको आडमा रहेर विद्यार्थीहरुले आन्दोलन गर्ने र विवाद गराउने काम भइरहेको छ ।’

सिंहले विद्यार्थीलाई उचाल्ने काम प्राइभेट क्याम्पस चलाएका र मध्यपश्चिम विश्वविद्यालयमा पढाइरहेका केही प्राध्यापकले गरिरहेको बताए । यतिमात्र होइन, तिनै व्यक्ति विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डकहाँ पुगेरै आफूविरुद्ध कुरा लगाउने कामहरु भइरहेको उनको भनाइ छ ।

‘यदि विश्वविद्यालयको हकहित विरुद्धमा म गएको छु भने अख्तियारदेखि सबै बसेर छलफल गरौँ, मैले के गल्ती गरेको छु ? त्यसको सजाय भोग्न तयार छु,’ उनले भने, ‘होइन भने विद्यार्थी उचाल्ने, अपशब्द बोल्ने, अराजकता मच्चाउनेदेखि धम्क्याउने काम गर्न बन्द गर्नुहोस्, राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह गर्दछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप