शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश : माओवादी र जसपालाई सरकारको समर्थन फिर्ता लिन दबाब दिने कांग्रेसको निर्णय

आइतबार, २४ वैशाख २०८०, २० : ११
आइतबार, २४ वैशाख २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले नयाँ सरकार बनाउन तीव्र पहल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन सुरु हुन लागेको र तत्कालै सरकार परिवर्तन गर्नुपर्ने स्थिति आएको भन्दै उसले केन्द्र र प्रदेशमा पहल बढाउने निर्णय गरेको हो । 

काठमाडौँमा आइतबार बसेको दलको बैठकले शीर्ष नेतृत्वलाई प्रदेशको बारेमा जानकारी गराउने र गठबन्धनभित्र रहेका दलहरुलाई कोशी प्रदेश सरकारबाट फिर्ता आउन अनुरोध गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए । 

‘माओवादी र जसपालाई एमालेसँगको वर्तमान सरकारबाट फिर्ता आउन अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सरकार परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ 

उनले बजेट अधिवेशन आउनै लागेको, सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने समय नजिकिँदै जाँदा अनिर्णयको बन्दीजस्तो हुननहुने पनि बताए । ‘कोशी प्रदेशको विषम परिस्थितिको बारेमा नेताहरुलाई जानकारी गराउने र छिटो निर्णय गर्न दबाब दिन्छौं । बजेट अधिवेशन सुरु हुन लागेको छ । अब अनिर्णयको बन्दी बन्नु हुँदैन,’ उनले भने, ‘कि त यही सरकारलाई निरन्तरता दिने भन्नुपर्‍यो होइन भने अर्को सरकार बनाउन तिर लाग्नुपर्‍यो ।’

उनले अर्को गठबन्धन बनेपछि नयाँ सरकारले नै बजेट ल्याउन पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको पनि सुनाए । ‘उपनिर्वाचन पछि गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भइसक्यो । अब कोशी प्रदेश सरकार पनि परिवर्तन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित भएर हामीले नेताहरुसँग छलफल गर्ने निष्कर्ष निकालेका हौं,’ उनले भने । 

संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्छ । यस्तै प्रदेश सरकारले असार १ र स्थानीय तहहरुले असार १० गते बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।   यदि कुनै दलले अबको एक दुई दिनमै समर्थन फिर्ता लिएपनि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ३० दिनसम्म सरकार सुरक्षित हुने भएकोले सोही अवधिमा बजेट ल्याउन सरकारलाई रोकटोक भने देखिँदैन । यद्यपि नीति तथा कार्यक्रम र बजेट सदनबाटै फेल हुन भने सक्छ । त्यस्तो परिस्थिति निर्माण भएमा वर्तमान सरकारलाई राजीनामा दिन नैतिक संकट पर्नेछ । या वर्तमान सरकारले सदन नबोलाएरै अध्यादेशमार्फत बजेट ल्याउन पनि सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप