मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

टोपबहादुरले भागेर गल्ती गरेको एमालेको ठहर, आत्मसमर्पण गर्नुपर्ने निष्कर्ष

मङ्गलबार, २६ वैशाख २०८०, २१ : ३९
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ । 

वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले  फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा  अब  रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको  विकल्प नभएको एमालेको भनाइ छ  ।

रायमाझीबारे आज बैठकको एजेण्डा नभएपनि नेताहरुले प्रश्न गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमाले कानुन भन्दा बाहिर नजाने बताएका थिए । उनले कानुन अनुसार रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने समेत  बताएका थिए ।

‘एमाले कानुनी शासनको पक्षमा छ । त्यसैले कानुनविपरीत कसैले काम गरेको छ भने उ त्यसको सजाय भोग्न तयार हुनुपर्छ, पार्टी त्यसमा बाधक हुँदैन’, अध्यक्ष ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तर वास्तविकता के हो भन्ने कुरामा राज्यले प्रमाण पेश गर्ला । सम्बन्धित व्यक्तिले पनि आफ्नो प्रमाण पेश गरेपछि थाहा हुने कुरा हो ।’

बैठकमा सचिवालय सदस्यहरुले रायमाझी प्रकरणमा कसरी जवाफ दिने रु भनेर नेतृत्वसामु प्रश्न गरेका थिए । साथै उनीहरुले रायमाझीका कारण सिंगो पार्टी बद्नाम हुनबाट जोगाउनुपर्ने बताएका थिए । ‘अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा भागेर कति दिन बस्ने रु बरु ‘सरेन्डर’ ९आत्मसमर्पण० गरेर आफ्ना कुरा पनि राखेर छानविनमा सघाउनुपर्थ्यो, त्यसो नगर्दा समग्र पार्टीकै बद्नाम भयो’, बैठकमा सहभागी धेरै सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा भनेका थिए ।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख समेत रहेका पृथ्वीसुव्वा गुरुङले रायमाझीबारे अनुसन्धानका लागि नाम आएकाले कानुन कार्यान्वयनका लागि सघाउनुपर्ने बैठकले निर्णय गरेको बताए । उनले एमाले कानुन र विधि मान्ने पार्टी भएको पनि बताए । 

एमाले ‘कानुन र विधि मान्ने पार्टी भएकाले विधि र कानुनपुर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ’, गुरुङको भनाइ थियो ।  एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले रायमाझीबारे बैठकमा छलफल भएको भन्दै अनुसन्धानमा पार्टी बाधक नहुने निर्णयमा पुगेको बताए ।

‘छलफलमा स्वभाविक रुपमा उहाँमाथि प्रश्नहरु उठे, तर उहाँले कानुन मान्नैपर्ने हुन्छ र यसमा पार्टी बाधक बन्नु हुदैन भन्ने कोणबाट छलफल भयो’, पाण्डेले भने, ‘एउटा प्रक्रियामा गइसकेको विषयलाई कानुन बमोजिम नै हल खोज्नुपर्छ भन्ने हो ।’

उनले सरकारले वारेन्ट जारी गरिसकेको अवस्थामा रायमाझीले सम्बन्धित ठाउँमा उपस्थित भएर आफ्ना कुराहरु राख्नु बुद्धिमानी हुने सुझाव दिए । नेता रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको ६ दिन बितिसकेको छ । तर उनी अदालतमा उपस्थित भएर आफ्ना कुरा राख्नु र कानुनी उपचार खोज्नुको साटो फरार भएर बच्ने प्रयास गरिरहेका छन् । उनी फरार भइरहेपछि प्रहरीले मंगलबार ललितपुरस्थित उनको घरमा खानतलासीसमेत गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने कार्यमा रायमाझी पनि संलग्न भएको पक्राउ परेका गिरोहका सदस्यहरुले बयान दिँदै आएका छन् । सोही आधारमा उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । 

एमालेका धेरैजसो नेता कार्यकर्ताले रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएकाले उनलाई पार्टीले कारवाही गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिँदै आएका छन् । तर नेतृत्व भने कानुन कार्यन्वयन गर्न सहयोग गर्ने भनेपनि उनलाई तत्कालै कारवाही भने नगर्ने तहमा पुगेको छ । यो प्रकरणमा मंगलबारसम्म बहालवाला सचिव र पूर्वगृहमन्त्रीका सल्लाकारसहित १० जना पक्राउ परिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप