शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जसपाले आज टुङ्ग्याउला मन्त्रीको नाम ?

बुधबार, २७ वैशाख २०८०, १० : २०
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गर्ने भएको छ । 

वर्तमान सरकारमा जसपाले दुई जना मन्त्रालय पाएको छ । त्यसमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पटाइसकेको छ भने एउटा वन मन्त्रालय बाँकी रहेको छ । त्यसमा कसलाई पठाउने विषयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल हुने बताइएको छ । 

पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले आजको बैठकमा मुख्यतः अधिवेशनबारे छलफल हुने बताए । जेठ १ गतेदेखि विधान अधिवेशन गर्ने तय भएको थियो तर त्यो मितिमा नहुने सम्भावना देखेपछि छलफल गरेर मिति सार्ने कि गर्ने त्यस विषयमा छलफल हुने उनले बताए । 

उनले भने, ‘एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ, हुन सक्छ जससपाका अध्यक्षजी (उपेन्द्र यादव)ले त्यसको विषयमा छलफल गर्नुहुन्छ, कार्यकारिणी समितिको बैठकबाट नै मन्त्रीको टुङ्गो लगाइएर मात्र पठाउने उहाँले सोच बनाउनु भएको छ कि त्यो थाह भएन ।’ 

वर्तमान सरकारले लगभग पूर्णता पाइसकेको छ, जसपाले पाएको एउटा मन्त्रालय मात्र खाली छ । सायद यहीँ बैठकका कारण मन्त्रीको नाम टुङ्गो नलगाएको हो कि भनी धेरैको बुझाई रहेको छ । 

प्रवक्ता सुमनका अनुसार मन्त्रालय र मन्त्रीको बारेमा निर्णय लिने अधिकार यसअघिको बैठकबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको थियो । 

प्रधानमन्त्री प्रचण्डले काँग्रेस, नेकपा (एस)सहितको सरकार विस्तार गर्दा जसपाको भागमा दुईवटा मन्त्रालय परेको थियो । त्यसमा जसपाका अध्यक्ष अशोक राई लाई शिक्षा मन्त्रीमा पठाएका थिए भने एक जना बाँकी राखेका थिए । बारा–२ मा भएको उपचुनावमा अध्यक्ष यादव स्वयं उम्मेदवार बनेको कारण कसैलाई मन्त्री बनाएनन् । 

मन्त्रीका आकाङ्क्षी धेरै भएकोले एक जनालाई मन्त्री बनाउँदा बाँकी अरू असन्तुष्ट हुने डरले अध्यक्ष यादवले मधेस प्रदेशबाट मन्त्री पठाएका थिएनन् । चुनाव सकिएपछि तत्कालै मन्त्री पठाउनु पर्ने थियो, तर मन्त्रीको आकाङ्क्षी थुप्रै भएका कारण निर्णय लिन अध्यक्ष यादवलाई गाह्रो भइरहेको बताइएको छ ।

त्यसमा पनि पार्टीभित्रका कतिपय नेताले अध्यक्ष यादवलाई नै सरकारमा जान आग्रह गरिरहेका छन् । अध्यक्ष यादवले सरकारमा आफै जाने कि अरूलाई पठाउने बारेमा पनि आन्तरिक छलफलमा लागेको कारण मन्त्री पठाउनमा ढिलाइ भएको हो । आज बस्ने कार्यकारिणी समितिको बैठकबाट नयाँ मन्त्रीको नाम तय हुने बताइएको छ । 

साथै मधेस प्रदेशमा पनि सरकारलाई पूर्णता दिन बाँकी छ । जसपाले नेतृत्व गरेको मधेस सरकारमा कांग्रेस, लोसपा र नेकपा (एस)लाई समावेश गराएर पूर्णता दिने तयारी भइरहेको छ । त्यहाँको सरकारको बारेमा पनि आजको बैठकमा छलफल हुने बताइको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप