बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाण पक्राउपछि कांग्रेसमा भूकम्प, निष्पक्ष छानबिन गर्न नेताहरूको जोड

बुधबार, २७ वैशाख २०८०, ११ : १६
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । 

खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

यसैबीच खाण पक्राउपछि कांग्रेस नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताए । बुधबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दोषीले सजाय पाउनुपर्ने बताएका हुन् ।  ‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ, यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन,’ उनले भने । 

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए । उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छ । अदालतले एउटा फैसला गर्ला । हामी निष्पक्ष छानबिनको पक्षमा छौँ ।’

यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने बताए । ‘ यो हाम्रो मात्र चासोको विषय होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ । हामीले निष्पक्ष छानबिनका लागि अनुरोध गर्नुपर्छ,’ उनी भन्छन्, ‘निर्दोषलाई फसाउने होइन र दोषीलाई बचाउने होइन भन्ने हाम्रो कुरा रहन्छ । दोषीलाई उम्काउने खेलमा कांग्रेस लाग्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणकी पत्नी मन्जुलगायतसमेत प्रश्नको घेरामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप