शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हिजो सल्युट, आज हतकडी

बुधबार, २७ वैशाख २०८०, २१ : ०३
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । ०७८, असार २९ मा गृहमन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण यतिबेला प्रहरी हिरासतमा छन् । गृहमन्त्रीको शपथ लिएर मन्त्रालयमा कार्यभार लिन पुग्दा उनका अघिपछि सुरक्षा निकायका प्रमुखदेखि अन्य कर्मचारीको लावालस्कर थेगिनसक्नु थियो ।

तर, आज खाण तत्कालीन आफ्नै मातहतका प्रहरीबाट पक्राउमा परे । सत्ता आफ्नै पार्टीको हुँदाहुँदै खाण किन पक्राउ परे ? आरोपीको बयानले वा उनकै क्रियाकलापले ? ढोका नखोलेपछि प्रहरीले लात्तीले ढोकामा हानेर खाणलाई नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भयो । जतिबेला पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परे, त्यतिबेलै खाणले आफूलाई पार्टीभित्र प्रस्ट्याउन सक्थे । तर, खाणले त्यसलाई आवश्यक ठानेनन्। उनी गृह जिल्ला रुपन्देही पुगे ।

प्रहरीले फलो गरिरह्यो । बुधवार उनी मैजुबहालस्थित कोठामा बसिरहेकै ठाउँमा प्रहरी पुग्यो । आरोपी सानु भण्डारीले खाणलाई मन्त्रालयमै पुगेर पैसा बुझाएको बयान दिएपछि थप अनुसन्धान गर्ने क्रममा खाण समातिए । 

सरकारमा सुशासन ल्याउने ठुलो जिम्मेवारी गृहमन्त्री कै हुन्छ । गृहमन्त्रीले समग्र प्रशासन क्षेत्रहरू सिडिओ कार्यालय, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई परिचालित गर्छन् । उनीहरूको कार्यशैलीको अनुगमन, निरीक्षणसँगै कामकाजमा निर्देशन समेत दिन्छन् । तर, खाणमाथि अहिले आइपरेको आरोप सामान्य छैन । 

ठगी, मानव तस्करी र भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको भूमिका ठुलो हुन्छ । तर, खाण आफैँ निरुत्साहित गर्नुपर्ने भूमिकामा देखिएपछि पार्टी (नेपाली कांग्रेस) ले समेत उनलाई साथ दिएन । भण्डारीले पोलेकै आधारमा मात्रै प्रहरीले उनलाई पक्राउ गरेको होइन । प्रमाण फेला पारेरै उनलाई नियन्त्रणमा लिने साहस गरेको हो । 

प्रहरी उच्च स्रोतले भन्यो– ‘आरोपितले पालेकै आधारमा खाणलाई पक्राउ गरिएको होइन । अब उनले प्रहरी अनुसन्धानमा कति सघाउँछन्, त्यसले थप छानबिनलाई अघि बढाउँछ ।’ खाणले जिल्ला सरकारी वकिल कार्यालयमा प्रधानमन्त्रीको नाम समेत नोट गर्न सुझाव दिए । उनी गृहमन्त्री भएका बेला प्रधानमन्त्री खाणकै पार्टीका सभापति शेरबहादुर देउवा थिए । खाणको सङ्केत थियो– ‘यो प्रकरणमा म मात्रै होइन प्रधानमन्त्रीको पनि संलग्नता थियो ।’ खाणको उक्त बयानले पुष्टी गर्छ कि भुटानी शरणार्थी प्रकरणमा उनी मात्रै एक्ला थिएनन् । 

प्रशासन विज्ञ काशीराज दाहाल भन्छन्– ‘राजनीतिको मुहान शुद्ध नभएसम्म कर्मचारीको शुद्धीकरण हुँदैन । दललाई भ्रष्टाचार गर्न सिकाउने कर्मचारी नै हुन् र कर्मचारीबाट फाइदा लिन खोज्ने पनि राजनीतिक दल नै हुन् ।’ 

उनले खाण पक्राउको विषय सामान्य नभएको बताए । खाणले सम्हालेको गृह मन्त्रालयका सचिव पाण्डे पक्राउ परेसँगै राजनीतिक र कर्मचारीको नेक्सस बाहिर आएको बताउँछन् दाहाल । उनले भने, ‘ हिजो सल्युट गर्ने प्रहरीले आज हतकडी लगाउने अवस्था कसरी आयो भन्ने तर्फ अब राजनीतिक दलहरू संवेदनशील भएर सोच्नुपर्छ । काममा स्वतन्त्र, निष्पक्ष र जवाफदेहिता नहुँदाको परिणाम आज दल र कर्मचारीले भोग्दै आएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप