शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरले गर्‍यो संस्थापक सेयरको विवादबारे उठेका विषयको खण्डन

बिहीबार, २८ वैशाख २०८०, १६ : ४०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । बुद्ध एयरले कम्पनीको संस्थापक सेयरमा आएको विवादबारे प्रकाशित समाचारको खण्डन गरेको छ । एक विज्ञप्ति जारी गर्दै एयरले विभिन्न सञ्चारमाध्यममा संस्थापक सेयरमा आएको विवादबारे प्रकाशित समाचार खण्डन गरेको हो ।

बुद्ध एयरमा संस्थापक शेयरधनीको रुपमा स्व.सुरेन्द्र बहादुर बस्नेत र वीरेन्द्र बहादुर बस्नेत भई सञ्चालन भएको कम्पनीमा पछिबाट शिवेन्द्र बहादुर बस्नेतले प्राप्त गरेका १४ प्रतिशत शेयर निजले २०५६ सालमा बिक्री गरी बुद्ध एयरबाट अलग भई ‘माउन्टेन एयर’ स्थापना गरेको कम्पनीले जनाएको छ । 

साविकमा बुद्ध एयर प्रा.लि.को कार्यकारी अध्यक्ष स्व. बस्नेतको नाममा रहेको ८० प्रतिशत शेयमध्ये ४० प्रतिशत शेयर वीरेन्द्र बहादुर बस्नेत समेत तर्फ र बाँकी ४० प्रतिशत शेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछिबाट आदर्श बहादुर बस्नेत समेतको नाउँमा हुनेगरी विभाजन गरिएको थियो ।

स्व. सुरेन्द्र बहादुर बस्नेतले गरेको ‘बकसत्रप’ तथा सबै शेयरधनीहरु विच कम्पनी ऐन, २०६३ को ‘दफा १४५’ समेत अनुसार मिति २०७५/०४/१५ मा भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको ‘सर्वसम्मत सम्झौता’ गरी कम्पनी ऐन, सर्वसम्मत सम्झौता, प्रबन्ध पत्र नियमावली समेत व्यवस्थाअनुसार कम्पनी चलिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वसम्मत सम्झौता अनुसार ‘क’ समूहका ६० प्रतिशत शेयरबाट २ जना र ‘ख’  समूहका ४० प्रतिशत शेयर मध्येबाट १ जना सञ्चालक नियुक्ति गर्नुपर्ने हुन्छ । र, उक्त विषयमा प्रस्ताव राखी मिति २०७९ फागुन २२ मा बसेको साधारणसभा हुने गरी दैनिक पत्रिकामा सार्वजनिक सूचनाबाट सबै शेयरधनीहरुलाई आह्वान गर्दा समेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थिति हुन नआएको हुँदा उक्त १ सञ्चालक पद खाली नै राखी ‘६५ प्रतिशत शेयरधनीहरु’को उपस्थितिमा साधारण सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । 

३५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने तिन जना शेयरधनीहरु अर्थात अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदान प्रदान भई मिति २०७९ चैत १५ गतेको लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिनका निम्ति समय निर्धारण भएको अवस्थामा समेत कुनै पनि शेयरधनीहरु वा प्रतिनिधि उपस्थित हुन नआएको अवस्था छ ।

मिति २०७९/१२/२४ गतेका दिन शिवेन्द्र बहादुर बस्नेतले आफूसँग दुई जना कानुन व्यवसायी तथा एक जना लेखा परीक्षकसमेत कम्पनीको रजिष्टर्ड कार्यालयभित्र प्रवेश गरी गराई विभिन्न काल्पनिक आरोप लगाई झुट्टा, बनाबटी कुराहरु सुनाई कानुन प्रतिकुलका जस्तै समूह ‘क’ र समूह ‘ख’ बाट समानान्तर दुईवटा व्यवस्थापन सञ्चालन गर्ने, नत्र भए कम्पनीलाई ‘लिक्यूडेशन’मा लगी ४० प्रतिशत शेयर बराबरको सम्पत्ति लगि छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने माँगहरु राखी निज शिवेन्द्र बहादुर बस्नेतले व्यक्त गर्नु भएको ‘अडियो’ कम्पनीसँग सुरक्षित रहेको छ ।

३५ प्रतिशत शेयरधनीहरुले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ बमोजिमको अधिकार प्रयोग गर्ने वहानामा गैरकानूनी, अनुचित लाभ प्राप्ति तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनीले बाध्य भई शेयरधनीहरुले उक्त कानूनी व्यवस्थाको प्रयोग अगामी साधारण सभामा उपभोग गरेको कम्पनीले जनाएको छ । 

यस कम्पनीको सम्पूर्ण कारोबारको विवरण, सर्वसम्मत सम्झौता, साधारणसभा, ३५ प्रतिशत शेयरधनीहरुले कम्पनीलाई पटक पटक गर्नुभएको पत्राचारहरु, कम्पनीले निज शेयरधनीहरुलाई विभिन्न मितिमा गरेको पत्राचारहरु समेतको कागजातहरु कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष अभिलेख छ । र, सो कागजातहरु यस कम्पनीमा समेत सुरक्षित रहेको हुँदा सरोकारवाला व्यक्तिले जुनसुकै बखत अवलोकन गर्न सक्ने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

शिवेन्द्रले बुद्ध एयर छाड्दा कम्पनी घाटामा रहेको थियो । २३ वर्षको अनवरत मिहिनेत तथा प्रयासका कारण सफल व्यापारिक संस्थाको रुपमा आज स्थापित हुनपुगेको छ । १५०० कर्मचारीलाई रोजगार, नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न कर दस्तुर तथा राज्यलाई वर्षको करोडौं रकम समयमै भुक्तानी गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप