आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
निबन्ध

‘ए जिन्दगी, के तिमीलाई सपनाविहीन केटीको माया लाग्दैन ?’

शनिबार, ३० वैशाख २०८०, ०६ : ५९
शनिबार, ३० वैशाख २०८०

दिन यसै बितिरहेको छ । न कुनै सिर्जनात्मक काम, न कुनै व्यस्तता । केवल दिन बितिरहेको छ रातको पर्खाइमा । रात पनि यसै बितिरहेको छ, भोलि बिहान झिसमिसेको पर्खाइमा । 

लौ, केही काम छैन भने कुनै कथा लेखेर त बसु भन्छु, त्यो पनि कलम सर्दैन । केही पुस्तक त पढेर बसु भन्छु, पुस्तकतिर हातै सर्दैन । नयाँ नयाँ पुस्तक किनेर ल्याएको पनि महिनौँ बितिसक्यो, किन हो तिनलाई छुनै मन लाग्दैन । 

के भा हो आजभोलि कुन्नि ? दिन सोचेर बितेको छ । अनि रात सुतेर बितेको छ । धन्न एक छाक खान र एक जोर कपडा जुरेको छ । साथै, रात काट्नको लागि सानो एउटा टुटेको पटरा विच्छाएको, माटोको देवाल भएको कोठामा एक जोर बिछ्यौना छ । त्यसैमा आरामको निन्द्रा नै हाबी भएको छ जस्तो लाग्छ अचेल । 

हो, म धेरैको नजरमा एक बुद्धिजीवी महिला कहलिन्छु । एक साहसी बालिका अनि सङ्घर्षशील र आत्मविश्वास भएकी बालिका भनेर मलाई धेरै ठाउँमा धेरैले सम्बोधन गर्ने गरेका छन् । त्यसैले, कुनै सार्वजनिक कार्यक्रममा अनुभव शेयर गर्न पनि डाकिने गरेकी छु । 

तर आम मानिसको नजरमा मेरोबारे जे छाप परेको छ, आजभोलि त्यो सबै छाप कता कता हराएको जस्तो लाग्छ । आफै रनभुल्लमा परेकी छु जस्तो लाग्छ । आजकाल उद्देश्य विनाको मानिस भएकी छु जस्तो लाग्छ । 

जीवनको कुनै लक्ष्य नै नभएको, दिमाग सादा पानाजस्तै भएको छ आजकाल मेरो । 

समय समयमा विभिन्न क्याम्पसमा युवाहरूलाई मोटिभेशन कक्षा लिई दिनु पर्‍यो भनेर निम्तो आइरहेको हुन्छ । कतै कतै संघर्षका कथा सुनाई दिनु पर्‍यो भनेर निम्तो आउँछ त, कतै जीवन जिउने कला सिकाइदिनु भनेर निम्तो आउँछ । 

तर के गर्नु आफ्नै माई डियर जिन्दगीलाई सम्झेर लाज लाग्छ । के बोल्ने होला, के विषयमा बोल्ने होला भनेर चिन्तन पनि गर्न सकिरहेको हुँदैन हिजोआज । म यसरी शून्यमा झरेकी छु कि महाकवि देवकोटाको म शून्यमा शून्यसरि बिलाएँ कविताको पङ्क्तिको मात्रै माया लागेर आउँछ । कोसँग के बोल्ने होला भन्नेसम्म पनि मेसो पाउँदिन । मानिसहरूले त्यसै भनेनन् होला खाली दिमाग सैतानका घर भनेर । 

त्यही खाली दिमाग सैतानले नभरियोस् भनेर केही लेख्न खोजिरहेकी छु । म को हुँ आफैलाई खोज्न कोसिस गरिरहेकी छु । यो धर्तीमा मेरो के भूमिका छ ? अब मैले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ भनेर सोचिरहेकी छु । 

कहिलेकाहीँ लाग्छ, एउटा राम्रो खतरा लेखक भएर निस्कूँ कि क्या हो ! फेरि लाग्छ, हैन लेखक हुनको लागि टाउकोमा भरिएको गिदीमा लेख्न लायकका खुराकहरू पनि त हुन प¥यो नि । मेरो दिमागमा गिदी भए पनि गुदी भने छैन, यो कुरा पक्का हो । 

यदि मेरो दिमागमा गुदी हुँदो हो त भविष्य सम्झिएर किन असुरक्षित हुन परेको छ त ? हैन भने जे आइपर्छ, सबै काम सहज रूपमा गर्न सक्छु भन्ने हिम्मत किन हराएको होला त ? खै कहाँ गयो पो गयो, कता पो गयो त्यो साहसी बालिका ? कता हरायो हिम्मतवाली बालिका ? लाजमर्दो कुरा भएन र ? कठै बालिका, रुन्चे बालिका भन्दा ! 

थारू लेखक संघका केन्द्रीय अध्यक्ष सर्वहारी दाइले मलाई बारम्बार लेख्न घोचिरहन्छन् । तर म छु कि गैँडाको छालाजस्तो । जति घोचे पनि सहने खालको ! ए, सर्वहारी दाजै, तपाईंले बालिका हरायो भन्नुहुन्थ्यो । म त साँच्चिकै हराएँ । कता पो हराएँ, आफैलाई समेत थाहा छैन । 

दिमाग पुरै शून्य छ । म वैशाख महिनामा चलेको तातो हावामा हराएँ कि, अन्धविश्वासले जकडिएको समाजमा हराएँ ? कि घर घरकी कहानीमा हराएँ ? थाहा पत्तो छैन । 

साहित्यिक कार्यक्रममा झल्याक झुलुक्क देखिए पनि मेरो भौतिक शरीर मात्र देखिन्छ । मन त कता कता उडेको हुन्छ, सिमलको भुवाझैँ । आफैले पत्तै पाउँदिन । सिमलको भुवाझैँ म नि उड्छु । कता पो उड्छु, त्यो त सिमलको भुवाले नै जानोस् । 

साहित्यिक कार्यक्रममा जाँदा प्रायः साथीहरूको सिर्जनात्मक काम कुरा अनि उपलब्धिमूलक प्रस्तुति देख्दा आफैलाई फर्केर नियाल्छु, मेरो प्रस्तुति लाजमर्दो लाग्छ । मलाई किन यस्तो भइरहेको छ, कतै भूत त लागेन ? त्यसको लागि गुरुवा धामीकहाँ गएर अक्षता हेराउने हो कि झैं लागिरहेको छ । 

सङ्गत गुनाको फल भनेझैं आजभोलि खास खास मान्छेहरूसँगको सङ्गत नभएर पनि होला मेरो दिमाग खोक्रो भएको । 

म करिब ३ वर्ष युएन संस्थामा कार्यरत रहेँ । जागिर अवधिभर कुनै कार्यक्रममा बोल्न पनि नपाइने, लेख्न पनि नपाइने भन्ने उर्दी जारी थियो । हैन भने जागिर चैट ! यदि कुनै कार्यक्रममा निम्तो छ, त्यहाँ गएर बोल्नु छ भने पहिला के बोल्ने भनेर लेखेर पठाउने, लेखेको कुरा एप्रुभ भयो भने मात्र जे लेखेको छ, त्यति मात्र बोल्ने भन्ने आचारसंहिता थियो । 

युएनमा कार्यरत रहेकै बेला साहित्यिक कार्यक्रममा सेसन चलाउने भनेर मेरो नाम पनि राखिएको थियो । मैले बोल्न मिल्दैन दाइ, मलाई नराख्नु भनेर नाम कटाएको थिएँ । कार्यक्रमका हर्ताकर्ता सर्वहारी दाइ तीनछक्क पर्नु भएको थियो । 

अरू पनि त आइएनजीओमा काम गर्छन्, सबैले बोलिरहेका छन् । यसको कस्तो खालको संस्था हो, बोल्न मिल्दैन भन्छे त भनेर उहाँ चकमन्न पर्नु भएको थियो । 

पछिल्लो पटक जब लेखक शेखर दहित पनि युएनले स्पोन्सर गरेको कार्यक्रम सहजीकरण गर्न जानुभयो, उहाँले पनि आफ्नो अनुभव मलाई सुनाउँदै भन्नुभएको थियो कि यो पनि नबोल्नु, त्यो पनि नबोल्नु भनेर सबै प्रश्न काँटछाँट गरिदिए । कार्यक्रमप्रति सन्तुष्ट भइएन । 

त्यसबेला आफू अनुकुल बोल्न नि नपाइने संस्थाको जागिर नै छोडौँ कि भन्ने पनि नलागेको होइन । तर जागिर त पुरै अवधि खाइयो । अहिले कुनै संस्थाको बन्धन छैन । अब जे बोल्न, लेख्न पनि छुट छ । तर खै त लेखनमार्फत गाँठो फुकाउँछु भन्दा भन्दै अरू अरू पो गाँठोको सुर्किनो कसिदै गएको छ । 

लेखन कार्य त युएनको जागिरको बेला पनि छोडिन । डायरीमा कैद छ । तर प्रकाशनमा भने ल्याउन सकिन । मेरो लकडाउनको डायरी पनि उस्तै छ । यो उमेरमा आएर त्यो पनि लकडाउनमा महिनावारी बार्नु परेको कथा त्यस्तै छ । 

मान्छेको जीवन हो, सबथोक भोग्नुपर्ने रहेछ । आफूले भोगेका अनुभव गरेका सबै कुराहरू लेख्दा अरूलाई ठेस लाग्न पनि पुग्छ । सायद यही कारण होला, मैले लेखे भने अरूलाई के असर पर्छ भन्ने डरले होला प्रकाशनमा ल्याउन नसकेको । 

यसरी आन्तरिक आफ्नो समस्या त छँदैछ, बाह्य अरू थुप्रै कारण पनि छ, मेरो दिमाग खोक्रो हुनुमा । 

राजनीतिले मलाई कतै न कतै पीडित बनाएको छ । यसको बारेमा छुट्टै कथा छ । कुनै दिन त्यो पनि लेखुला । तर जबसम्म समस्याको जरो कारण पत्ता लगाउन सकिँदैन, तबसम्म समाधानको उपाय भेटाउन सकिँदैन भनेझैँ के चिजले मलाई अप्ठ्यारो पारेको छ भन्ने कुरा थाहा भएर पनि आफू अगाडि बढ्न सकिरहेकी छैन । 

समस्याको मूल जरो थाहा पाएर नि जब कसैले मनलाई भित्रभित्रै भुसको आगोझैँ जलाइरहेको हुन्छ । सबै चिज थाहा हुँदाहुँदै पनि आफैले केही गर्न नसक्ने अवस्था हुँदो रहेछ । त्यो सबैभन्दा खतरनाक समस्या हो । हो, अहिले म यही माझ धारको चौरस्तामा उभिएकी छु । 

मलाई आफ्नै निबन्धको पुस्तक ‘जीवनका वक्र रेखाहरू’को श्यामश्वेत कभरझैं जीवन रंगीन होइन, सादा जस्तो लाग्छ । त्यसैले त मेरा कुनै रंगीन सपना छैनन् ।

डियर जिन्दगी । ए जिन्दगी, के तिमीलाई सपनाविहीन बालिका केटीको माया लाग्दैन ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालिका चौधरी
बालिका चौधरी
लेखकबाट थप