शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझी पक्राउ परेको सदनलाई जानकारी*

सोमबार, ०१ जेठ २०८०, १६ : ०५
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी गराएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको जिल्ला प्रहरी परिसर टेकुको पत्रबाट प्राप्त सूचना सदनलाई जानकारी गराएका हुन । 

सभामुख घिमिरेले भने,‘गजेन्द्र बुढाथोकीको समेत जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशवप्रसाद दुलालसमेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते राती ८ः२५ बजेको समयमा जिल्ला काठमाडौँ बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको चलानी नम्बर १२२७३ मिति २०७८ जेठ १ गतेको पत्रबाट सूचना प्राप्त भएको हुँदा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम यो सदनलाई जानकारी गराउँछु ।’ 

सभामुख घिमिरेले नियमावलीको नियम २४८ को उपनियम १ अनुसारको सूचना सुनाएका थिए । जसमा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ भन्ने व्यवस्था छ । 

यस्तै सोही नियमको उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेको अवस्थामा निलम्बनमा पर्ने व्यवस्था रहेको छ । 

त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ भन्ने व्यवस्था रहेको छ । रायमाझीमाथि अदालतमा अभियोग पत्र दायर भई उनी पुर्पक्षका लागि थुनामा गएको अवस्थामा निलम्बनमा पर्नेछन् ।

*यसअघि समाचारमा रायमाझी निलम्बित भएको उल्लेख भएकोमा क्षमायाचनासहित भुल सुधार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप