बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलसँग हारेपछि लेस्टरमाथि रेलिगेसनको जोखिम बढ्यो

मङ्गलबार, ०२ जेठ २०८०, ०७ : १५
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौं । इङ्लिस प्रिमियर लिगको सोमबार राति सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीमाथि ३-० गोलको सजिलो जित हासिल गरेको छ । यी दुबै टोली आआफ्नै स्वार्थ बोकेर सोमबार राति मैदानमा ओर्लिएका थिए ।

एकातिर, लिभरपुल जारी लिगको समाप्तिसम्ममा अंक तालिकाको चौथो स्थानभित्र अटाएर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने धुनमा छ । अर्कोतिर, लेस्टर सिटी भने रेलिगेसनको सम्भावित जोखिमबाट मुक्त हुने योजनामा देखिन्छ ।

तर, आफ्नो पछिल्लो खेलमा घरेलु मैदानमै लिभरपुलसँग पराजित भएपछि लेस्टरमाथि रेलिगेसनको खतरा झनै बढेको छ । ३६ खेलबाट ६५ अंक बटुलेको लिभरपुल तालिकाको पाँचौं स्थानमा आसिन छ । लिरभपुलभन्दा अगाडि चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ६६ अंक छ ।

यसैगरी तालिकाको तेस्रो स्थानमा आसिन न्युक्यासलले ३५ खेलबाट ६६, दोस्रो स्थानमा आसिन आर्सनलले ३६ खेलबाट ८१ र पहिलो स्थानमा आसिन म्यानचेस्टर सिटीले ३५ खेलबाट ८५ अंक जोडेका छन् । म्यानचेस्टर सिटी र आर्सनलबीच उपाधिका लागि चर्को होडबाजी चलेको छ ।

अर्कोतिर, न्युक्यासल, म्यानचेस्टर युनाइटेड र लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा देखिएका छन् । यसैगरी लेस्टर सिटी भने रेलिगेसनको खतराबाट जोगिने योजनामा देखिन्छ । लेस्टर हाल ३६ खेलबाट ३० अंक जोड्दै तालिकाको १९औं स्थानमा छ ।

अंक तालिकामा लेस्टरभन्दा तल रहेको साउथएम्पटन भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । लेस्टरका अतिरिक्त लिड्स युनाइटेड पनि रेलिगेस क्षेत्रमै छ । लिड्स युनाइटेडले ३६ खेलबाट ३१ अंक जोडेको छ ।

लेस्टरविरुद्घको खेलमा लिभरपुलले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो । लिरभपुलका लागि कर्टियस जोन्सले २ गोलको योगदान गरे । उनले ४ मिनेटको बीचमा २ गोल गरेका थिए । ३३औं मिनेटमा पहिलो गोल गरेका कर्टियसले ३६औं मिनेटमा अर्को गोल थपेका थिए ।

लिभरपुलका लागि अर्को एक गोल भने निर्धारित समयको ७१औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले थपेका थिए । योर्गेन क्लोपको प्रशिक्षकत्वमा रहेको लिभरपुल प्रिमियर लिगको पछिल्लो ७ खेलमा विजयी हुँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप