सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
सारांश
- सुनचाँदी व्यवसाय नेपाली जनजीवन र अर्थतन्त्रसँग जोडिएको संवेदनशील क्षेत्र हो ।
- अस्वस्थ प्रतिस्पर्धा, संस्थागत असमन्वय, आचारसंहिताको कमजोर कार्यान्वयन र सुरक्षा चुनौतीले यस व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
- यस समस्यालाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका विभिन्न सुनचाँदी व्यवसायी संघसंस्थाका अध्यक्षहरूलाई एउटै साझा मञ्चमा ल्याएर अध्यक्ष फोरम गठन गरिएको छ ।
सुनचाँदी व्यवसाय नेपाली जनजीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । मुलुकको अर्थतन्त्रमा राम्रै योगदान दिइरहेको यो व्यवसाय संवेदनशील र विश्वासमा आधारित छ । लाखौं उपभोक्ताको भरोसा, हजारौं व्यवसायीको लगानी र पुस्तान्तरण हुँदै आएको सीपमूलक व्यवसाय भएकाले सुनचाँदी क्षेत्र विशेष छ ।
तर पछिल्ला केही वर्षयता सुनचाँदी व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत असमन्वय, आचारसंहिताको कमजोर कार्यान्वयन र सुरक्षा चुनौतीले यसलाई थप व्यवस्थित बनाउनुपर्ने टड्कारो आवश्यकता देखाएको छ ।
राजधानी समेत रहेको काठमाडौँ उपत्यका देशकै सबैभन्दा ठुलो सुनचाँदी व्यवसायको केन्द्र हो । उपत्यकामा विभिन्न जिल्लागत र स्थानीय संघसंस्थामा आबद्ध सयौं व्यवसायी सक्रिय छन् । संस्थाहरूको अस्तित्व आ-आफ्ना ठाउँमा महत्त्वपूर्ण भएपनि साझा विषयमा एउटै धारणा बनाउन नसक्दा व्यवसायीहरूले अनावश्यक समस्या भोग्नुपरेको यथार्थ कसैबाट लुकेको छैन ।
यही आवश्यकतालाई महसुस गर्दै काठमाडौँ उपत्यकाका विभिन्न सुनचाँदी व्यवसायी संघसंस्थाका अध्यक्षहरूलाई एउटै साझा मञ्चमा ल्याएर अध्यक्ष फोरम गठन गरिएको हो । यसको उद्देश्य कुनै संस्था वा छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको विकल्प बन्ने होइन । बरू महासङ्घसँग समन्वय गर्दै व्यवसायका साझा समस्या समाधान गर्ने, संस्थाहरूबिच सहकार्य बढाउने र व्यवसायलाई अनुशासित तथा व्यवस्थित बनाउने हो । फोरम गठनदेखि सञ्चालनसम्मका सम्पूर्ण गतिविधि महासङ्घका अध्यक्ष तथा जिम्मेवार पदाधिकारीहरूको जानकारी र सहमतिमै अघि बढाइएको छ ।
एउटै व्यवसायमा फरक–फरक अभ्यास हुँदा उपभोक्तामा अन्योल सिर्जना हुन्छ भने व्यवसायीबिच अनावश्यक प्रतिस्पर्धा बढ्छ । साझा निर्णयले त्यस्ता विकृति नियन्त्रण गर्न मद्दत पुग्छ ।
आज सुनचाँदी व्यवसाय क्षेत्रले भोगिरहेको एउटा मुख्य चुनौती आचारसंहिताको प्रभावकारी कार्यान्वयन अभाव हो । कुनै संस्थाले कारबाही गरेको व्यवसायी अर्को संस्थामा आबद्ध भएर सहजै व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छ, त्यसले व्यावसायिक अनुशासन स्थापित हुन सक्दैन । यसले इमानदार व्यवसायीलाई निरुत्साहित मात्र गर्दैन, संस्थागत निर्णयको प्रभावकारितामाथि पनि प्रश्न उठाउँछ । त्यसैले उपत्यकाभित्रका सबै संघसंस्थाले साझा निर्णय कार्यान्वयन गर्ने प्रणाली विकास गर्नु जरूरी छ ।
व्यवसायीहरूको सुरक्षा अर्को गम्भीर विषय हो । सुनचाँदी व्यवसाय उच्च जोखिमयुक्त भएकाले चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाको सम्भावना सधैं रहन्छ । यस्तो अवस्थामा कुनै व्यवसायी जुनसुकै जिल्लामा आबद्ध भएपनि उपत्यकाभित्र समस्या पर्दा सबै संस्थाले एकजुट भएर सहयोग गर्ने संस्कार विकास हुनुपर्छ । यसका लागि नेपाल प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग नियमित समन्वय गर्न अध्यक्ष फोरमले प्राथमिकता दिएको छ ।
बजार व्यवस्थापनका सवालमा पनि साझा मापदण्ड आवश्यक छ । शनिबार सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय होस् वा पुराना गरगहनाको खरिदमा एउटै मापदण्ड लागु गर्ने निर्णय यी कुनै व्यवसायीलाई फाइदा वा बेफाइदा पुर्याउने उद्देश्यले गरिएका होइनन् । यी निर्णयको उद्देश्य बजारमा अनुशासन, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा कायम गर्नु हो । एउटै व्यवसायमा फरक–फरक अभ्यास हुँदा उपभोक्तामा अन्योल सिर्जना हुन्छ भने व्यवसायीबिच अनावश्यक प्रतिस्पर्धा बढ्छ । साझा निर्णयले त्यस्ता विकृति नियन्त्रण गर्न मद्दत पुग्छ ।
आजको आवश्यकता संस्था थप्ने होइन, संस्थाहरूबिचको दूरी घटाउनु हो । हामी सबै एउटै व्यवसायका प्रतिनिधि हौं । हाम्रो सफलता पनि साझा हो र चुनौती पनि साझा हो । त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायको दीर्घकालीन हितलाई केन्द्रमा राख्न सकियो भने मात्र यो क्षेत्र थप विश्वासिलो, मर्यादित र व्यवस्थित बन्न सक्छ ।
अध्यक्ष फोरम गठन यही सोचको सुरुवात हो । यसको सफलता कुनै एक व्यक्ति वा संस्थाको सफलताभन्दा पनि सम्पूर्ण सुनचाँदी व्यवसायको सफलतासँग जोडिएको छ । यदि हामी सबैले एकता, अनुशासन, पारदर्शिता र सहकार्यलाई व्यवहारमा उतार्न सक्यौं भने काठमाडौँ उपत्यकाबाट सुरू भएको यो अभ्यास भविष्यमा देशभरका सुनचाँदी व्यवसायीका लागि अनुकरणीय बन्न सक्छ । व्यवसाय बलियो हुँदा मात्र व्यवसायी बलियो हुन्छन्, व्यवसायी बलियो हुँदा मात्र संस्था बलियो बन्छ र संस्था बलियो हुँदा मात्र समग्र सुनचाँदी व्यवसायको भविष्य सुरक्षित हुन्छ ।
(खेम तिरूवा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण