शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ–वार्ता

‘ईकोनोमिक भायाबिलिटी देखिए पोखरा विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार छ’

गौतमबुद्ध विमानस्थल सञ्चालनको सुरुवातमा नै ‘ल्याक अफ ट्रस्ट’ देखियो :  विजय श्रेष्ठ
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेपालसँग दुईवटा क्षेत्रीय विमानस्थलसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गत वर्षदेखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थल र यसै वर्षदेखि सञ्चालनमा आएको पोखरा विमानस्थलसमेतले नेपाली उड्डयन जगतलाई हौसला प्रदान गरेको छ । यद्यपि, गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने हालसम्म पनि एउटै अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन ।

गत जेठबाट सञ्चालनमा आएको भनिएको गौतमबुद्ध विमानस्थलले समेत विविध प्राविधिक तथा व्यावसायिक जटिलताकाबीच बिजनेस पाउन सकिरहेको छैन । गौतमबुद्ध विमानस्थल अझैँ पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । मुलुकमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दासमेत अझै केन्द्रमा आश्रित रहेको त्रिभुवन विमानस्थलमाथिको अन्तर्राष्ट्रिय उडानहरूको चाप कम हुन सकेको छैन । यसको एउटै कारण हो, पछिल्लो समय बनेका दुईवटा विमानस्थलहरूलाई स्रोत सम्पन्न नबनाइनु । भौतिक पूर्वाधारसँगै विमानस्थलमा आवश्यक सुविधाहरू नहुँदा उडानमा समस्या आएको हो । 

यसै विषयमा केन्द्रित हुँदै आज हामीले ‘रातोपाटी अर्थ संवाद’ मा नेपाली उड्डयन क्षेत्रको चर्चा गरेका छौँ । नेपाली उड्डयन क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका कुरा गर्दै समग्र क्षेत्रको भावी सम्भावनाको प्रसङ्गसमेत जोड्ने प्रयत्न गरेका छौँ । यस्तो छ निजी हवाई कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठसँग रातोपाटीका लागि प्रयास श्रेष्ठ गरेको संक्षिप्त वार्ता :

वर्तमान नेपाली उड्डयन क्षेत्रको अवस्था के छ ? प्रि–कोभिडको अवस्था फर्कियो कि अझै फर्किन बाँकी नै छ ?

–कोभिडपछिको समग्र एभिएसन क्षेत्रको अवस्थालाई मूल्याङ्कन गर्ने हो भने विश्वव्यापी र क्षेत्रीय दुवैतर्फ गतिशीलता प्राप्त भएको छ । नेपाली हवाई उड्डयन क्षेत्र मात्र नभएर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र समेत यतिबेला निकै सुधारात्मक स्थितिमा छ, अकुपेन्सी (प्यासेन्जर) को हिसाबले र रेभिन्यूका हिसाबले पनि । यो हिसाबले सिङ्गो उड्डयन क्षेत्रले प्रि–कोभिडकै अवस्था छुने स्थिति बनेको छ । 

यता आन्तरिक उडानतर्फ हेर्ने हो भने त ‘फूल फेज’मा नै अप्रेसनमा आइसकेको छ । समग्रमा हेर्ने हो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय उड्डयनको क्षेत्र पछिल्लो समय लयमा फर्किने क्रममा रहेको छ । यो क्षेत्रले छिट्टै फड्को मार्ने देखिन्छ ।

हिमालय एयरलाइन्सकै कुरा गर्नुपर्दा आफ्नो एयरक्राफ्टको व्यवस्थापन गर्ने सवालमा, एयर रुट कभर गर्ने सवालमा, सेवा सुविधा प्रदान र आफ्नो पूर्ण व्यावसायिक सञ्चालन तथा मानवसंशाधनको व्यवस्थापनमा प्रि–कोभिडको अवस्थामा आइसकेको अवस्था छ । सारांशमा भन्ने हो भने अहिले हिमालय एयरलाइन्स व्यावसायिक सफलतातर्फ अघि बढिरहेको छ । 

पर्यटनको कुरा गरिराख्दा हामीले के मनन गर्न आवश्यक छ भने हाम्रो सम्भावित पर्यटन बजार कुन हो र त्यहाँको आर्थिक स्थिति अहिले के छ ? पर्यटकहरूको खल्तीमा पैसा छ कि छैन ? खर्च गर्न सक्छन् कि सक्दैनन् ?

कोभिडपछि पर्यटन क्षेत्र लयमा फर्किँदैछ । पछिल्ला महिनाहरूमा लाखको हाराहारीमा विदेशी पर्यटकहरू नेपाल भित्रिरहेका छन् । चीनतर्फबाट थप पर्यटक भित्र्याउन हिमालय एयरलाइन्सको भूमिका कस्तो रहन्छ ?

–प्रतिशतमा हेर्ने हो भने हिमायल एयरलाइन्सको कूल यात्री सङ्ख्याको ९० प्रतिशत हाराहारी वैदेशिक रोजगारीमा जाने र आउनेहरूकै छ । बाँकी ९–१० प्रतिशत यात्रुहरू पर्यटक पर्छन् । छिमेकी देश चीनसँग सोझै उडान भर्ने एक मात्र स्वदेशी एयरलाइन्स भएकाले त्यतातर्फको उडानमा हिमालय एयरलाइन्स पर्यटनसँग सोझै जोडिन्छ । हिमालय एयरलाइन्सले काठमाडौँ–कुनमिङ, कुनमिङ–काठमाडौँ गरी हप्तामा दुई वटा फ्लाइट नियमित गरिरहेको छ । यो गन्तव्यबाट आउने सबैजसो यात्रुहरू पर्यटक हुन् । यो मानेमा हिमालय एयरलाइन्सले चिनियाँ पर्यटक भित्र्याउन निकै सहयोग गरिरहेको छ । यसको अलावा हिमालय एयरलाइन्सले अप्रिल यता हरेक हप्ताजस्तो एउटा चार्टर्ड फ्लाइट गरेर हरेक उडानमा १८० जनाको दरले चिनियाँ पर्यटक भित्र्याइरहेको छ । 

अब छिट्टै चीनका अन्य पर्यटन बजारको सम्भावना भएका सहर तथा गन्तव्य (एयरपोर्टहरू) लाई काठमाडौँसँग जोड्ने र पर्यटन भित्र्याउने योजनामा हिमालय एयरलाइन्स छ । यही कार्ययोजना तथा कार्यनीतिबाट अहिले हामी अघि बढिरहेका छौँ । सकेसम्म आगामी महिनाबाटै चीनमा फ्लाइट बढाउने हाम्रो योजना छ । 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा उक्त मुलुकको प्राइमरी एयरपोर्ट (नेपालको त्रिभुवन विमानस्थल) को पारवहन क्षमता स्याचुरेसन प्वाइन्टमा पुगेको हो कि होइन भन्ने महत्त्वपूर्ण हुन्छ ।

तर, पर्यटनको कुरा गरिराख्दा हामीले के मनन गर्न आवश्यक छ भने हाम्रो सम्भावित पर्यटन बजार कुन हो र त्यहाँको आर्थिक स्थिति अहिले के छ ? पर्यटकहरूको खल्तीमा पैसा छ कि छैन ? खर्च गर्न सक्छन् कि सक्दैनन् ? कोभिडपछि धेरै देशहरू रिभाइभ त भएका छन् तर पछिल्लो वैश्विक आर्थिक मन्दीका कारण समस्या छन् । यसका बाबजुद पनि हामीले सम्भावना भएका मुलुकहरूबाट पर्यटक भित्र्याउने योजना बनाउनुपर्छ । यता चीनतर्फबाट त पर्यटक भित्रन थालिसकेका छन्, यसमा हामी सफल नै हुन्छौँ भन्ने मलाई लाग्छ ।

श्रम गन्तव्यतर्फको उडानको अवस्था चाहिँ के छ ? हिमालय एयरलाइन्सले यस्ता कति श्रम गन्तव्यहरूमा उडान भरिरहेको छ ?

–‘प्वाइन्टस् अफ अप्रेसन’ उडान गन्तव्यहरूको नेटवर्क हेर्ने हो भने काठमाडौँ बाहेक ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा हिमालय एयरलाइन्सले नियमित उडान भरिरहेको छ । कुवेत, दमाम्, साउदी (रियाद), दोहा, दुबई, क्वाललम्पुर, ढाका र कुनमिङ, यी ८ गन्तव्यहरूमा हिमालयले उडान भरिरहेको अवस्था छ । यसमध्ये कुनमिङ बाहेक ७ वटा गन्तव्यहरूबाट वैदेशिक रोजगारकै यात्रा हुने हो । 

नेपालको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँबाट पनि हिमालय एयरलाइन्सले उडान सुरु गरेको थियो । तर, अहिले उडान रोकिएको छ । यसको कारण के हो ? फेरि उडान कहिले सुरु हुन्छ ?

– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा उक्त मुलुकको प्राइमरी एयरपोर्ट (नेपालको त्रिभुवन विमानस्थल) को पारवहन क्षमता स्याचुरेसन प्वाइन्टमा पुगेको हो कि होइन भन्ने महत्त्वपूर्ण हुन्छ । पहिलो विमानस्थलको क्षमताले नधान्ने स्थिति बनेपछि अर्को विमानस्थल बनाउनुपर्छ भन्ने मान्यता हो । नेपालको सन्दर्भमा गौतमबुद्ध विमानस्थलसँगै पोखरामा विमानस्थल एकैपटक बन्यो । अप्रेसनका हिसाबले यी दुवै विमानस्थलमा समस्या छन् । 

बिक्रेताले बोल्ने तर क्रेताले नपाउने यो सानो विषयमा नै ‘ल्याक अफ ट्रस्ट’ देखियो । सुरुआतमा नै विश्वास गुमेपछि पछि राम्रो हुन्छ भन्ने आधार देखिएन ।

यी विमानस्थल सञ्चालनमा आएसँगै सरकारले सबै एयरलाइन्सहरूलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन फ्रि गर्ने भनेको छ । यो नेपालका लागि नौलो हो । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा हेर्ने हो भने यस्ता विविध खालको सेवा सुविधा दिने चलन छ । विमानस्थलमा नयाँ नयाँ एयरलाइन्सहरूलाई भित्र्याउन त्यहाँको केन्द्र सरकारदेखि प्रदेश सरकार, विमानस्थलले इन्सेन्टिभका रूपमा आकर्षक सेवा सुविधा प्रदान गर्ने गर्छन् । यही प्रयोग नेपालले गर्न खोजेको हो । यसलाई हामीले स्वागतयोग्य भनेका छौ । सँगै सरकारले नयाँ विमानस्थलहरूमा ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय उडान कम्पनीहरूलाई समेत यो सर्कुलेसन थमाएको स्थिति छ । तर, यो सुविधा कुनैपनि उडान कम्पनीहरूले पाएका छैनौँ ।

गौतमबुद्ध विमानस्थलकै कुरा गर्नुपर्दा हिमालय एयरलाइन्सले नोभेम्बरदेखि डिसेम्बरसम्म करिब डेढ महिना उडान–अवतरण गर्‍यो तर, अहिलेसम्म ग्राउन्ड ह्यान्डलिङमा छुट पाएको थाहा छैन । नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन भएको स्थिति छैन । बिक्रेताले बोल्ने तर क्रेताले नपाउने यो सानो विषयमा नै ‘ल्याक अफ ट्रस्ट’ देखियो । सुरुआतमा नै विश्वास गुमेपछि पछि राम्रो हुन्छ भन्ने आधार देखिएन । त्यसैले अन्य विदेशी एयरलाइन्सहरूले समेत गौतमबुद्ध विमानस्थलबाट उडान भर्न चाहिरहेका छैनन् । सँगै गौतम बुद्ध विमानस्थलका लागि आवश्यक स्रोत साधनको समस्याका कारण फूल फेजमा सञ्चालनमा आउन नसकेको हो ।   

ग्राउण्ड हेन्डिलिङकै विषयमा सेल्फ हेन्डिलिङको सुविधा दिने गरी हिमालयले अनुमति पाएको थियो । पछि खोसियो, यसको मुद्दा कहाँ पुग्यो ?

–यो मुद्दाले किनारा पाएको छैन । सरकारी ऐन, नियम, व्यवस्था सरकारले नै पालना नगरेको अवस्था हो । यो देशका लागि दुर्भाग्य हो । देशको ऐन, कानुन, नीति, निर्देशिका कार्यविधि अनुसार सेल्फ ग्राउन्ड हेन्डिलिङ गर्न पाउने अधिकार अनुसार हिमालय एयरलाइन्सले लाइसेन्स पाएको हो । तर पनि त्यो लाइसेन्स हामीले प्रयोग गर्न नपाएको स्थिति छ । 

योबीचमा हामीले नेपाल सरकार, सम्बन्धित क्षेत्र, नियमापक निकायमा धेरै पटक अनुरोध गर्‍यौँ, लिखत मौखिक सबै तरिकाले गर्‍यौँ । तर अहिलेसम्म हाम्रो अधिकार नपाएको र माग सुनुवाइ नभएको स्थिति छ । यसको विरुद्धमा हामी कानुनी उपचारमा गएका छौँ । 

नेपालको कानुनअनुसार ‘वैदेशिक लगानी भएको स्वदेशी उद्योगलाई लगानीको आधारमा स्वदेशी र विदेशी कम्पनीबीच कुनै खालको भेदभाग गरिने छैन’ भनिएको छ । त्यो उल्लेख भए अनुसार नीति नियमको परिपालना भएन । हामी लगानी सम्मेलन गर्ने भनिराखेका छौँ, तर व्यवहार भने यस्तो छ । हिमालय एयरलाइन्स जस्तो ज्वाईंन्ट भेन्चर भएको विदेशी लगानीको कम्पनीलाई गर्नुपर्ने न्यूनतम काम पनि सरकारले गरिदिएको छैन भने थप लगानी कसरी भित्र्याउन सकिन्छ ?

लगानीको वातावरण छ भनेर देखाउन हिमालय एयरलाइन्स उपयुक्त कम्पनी बन्न सक्थ्यो । एयरलाइन्स जस्तो जोखिमयुक्त क्षेत्रमा समेत विदेशी लगानी आइरहेको छ भनेर अन्य क्षेत्रमा समेत उदाहरण पेस गरेर लगानी भित्र्याउन सकिन्थ्यो । तर, सरकारले त्यो वातावरण बनाउन सकिरहेको छैन । 

बनेको कानुन अक्षरशः पालना गर्ने हो भने धेरै काम हुन्छन् । कटिबद्धताका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने र देशको विद्यमान कानुन ऐन नियम र जनताप्रति उत्तरदायी हुने हो भने ९० प्रतिशत समस्याको हल हुन्छ । 

सरकारी नीतिमा कहाँनिर कमजोरी भयो जस्तो लाग्छ ?

–वास्तवमा सरकारी नीति पुरै खतम छ भन्ने पनि होइन । धेरै राम्रा पक्षहरू पनि छन् । सवाल कार्यान्वयनको हो । हामी कानुन, नीति, नियम बनाउँछौँ, तर कार्यान्वयन गर्दैनौँ । यो हामी नेपालीहरूकै संस्कृति हो कि ? त्यो म जान्दिन । बोल्ने तर बोले अनुसार कार्यान्वयन नगर्ने । यसले समस्या ल्याएको हो । 

बनेको कानुन अक्षरशः पालना गर्ने हो भने धेरै काम हुन्छन् । कटिबद्धताका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने र देशको विद्यमान कानुन ऐन नियम र जनताप्रति उत्तरदायी हुने हो भने ९० प्रतिशत समस्याको हल हुन्छ । 

फेरि म पुरानै प्रश्नमा फर्किए हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान कहिलेबाट गर्छ ?

–गौतमबुद्ध विमानस्थलको भविष्य छ । क्षेत्रीय विमानस्थलका रूपमा अघि सारिएको यस विमानस्थलबाट पर्याप्त लाभ लिन सकिन्छ । तर यसो भनिराख्दा खेरी अहिलेको सवालमा तत्काल सो विमानस्थलबाट लाभ लिन कठिन छ । मैले यसअघि पनि भनेको थिए, पहिलो प्राथमिकता त्रिभुवन विमानस्थल नै हो । अझै त्रिभुवन विमानस्थलको पारवहन क्षमता सकिसकेको अवस्था होइन । टीआइएको स्याचुरेसन फेजमा गइसकेपछि मात्र विकल्पमा अन्य विमानस्थलमा जानु उपयुक्त हुन्छ । 

म सम्झिन्छु, गौतमबुद्ध विमानस्थलबाट पहिलो फ्लाइट गर्नुपर्दा काठमाडौँबाट रातारात गरेर गाडीमा प्यासेन्जर चढाएर लैजानु परेको थियो । किन कि त्यहाँ श्रम परमिटको व्यवस्था नै थिएन ।

अप्रेसनल कस्टका कारण अहिले अन्य विमानस्थलले बिजनेस पाउने म देख्दिन । अर्को पक्ष राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको गौतमबुद्ध विमानस्थल एकैपटक फूल फेजमा सञ्चालनमा जाने र एकै वर्षमा नाफा कमाउने भन्ने होइन । क्रमशः बिजनेस लिँदै जाने वृद्धि विकास गर्दै जाने हो । 

यसको भविष्य छ । तर, अहिले एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा चाहिने आवश्यक सबै पूर्वाधारहरू स्रोतहरू गौतमबुद्धमा उपलब्ध छैन । एउटा इकोसिस्टम जस्तै विमानस्थलमा धेरै कुराहरू जोडिएका हुन्छन् । विमानस्थलसँगै जहाज, त्यहाँको भौतिक पूर्वाधार, सुरक्षा, जहाज वर्कसप (इन्जिनियरिङ) सँगै होटलको व्यवस्थापन समेत हुनुपर्छ । गौतमबुद्ध विमानस्थलबाट हुने भनेको श्रम गन्तव्यको उडान नै हो । तर, त्यहाँ श्रमको अनुमति दिने कार्यालय नै भइदिएन । भन्सार नीति नै छैन भने कसरी प्यासेन्जर जान्छन् ? 

म सम्झिन्छु, गौतमबुद्ध विमानस्थलबाट पहिलो फ्लाइट गर्नुपर्दा काठमाडौँबाट रातारात गरेर गाडीमा प्यासेन्जर चढाएर लैजानु परेको थियो । किन कि त्यहाँ श्रम परमिटको व्यवस्था नै थिएन । साँचो कुरा गर्नुपर्दा एयरलाइन्सहरूको बिजनेस भने पनि आम्दानी भने पनि जे भने पनि यात्रुहरू नै हो । यात्रु नै छैन भने त्यस्तो ठाउँमा एयरलाइन्सहरू किन जाने ? एउटा विमान उडाउन धेरै कुराको प्रबन्ध मिलाउनुपर्ने हुन्छ । खर्चका हिसाबले धान्ने स्थिति नै नभएपछि गौतमबद्धबाट उडान रोक्नुपरेको हो । 

चिनियाँ लगानीबाटै हालै मात्र सम्पन्न भएको पोखरा विमानस्थलबाट चाहिँ हिमालय एयरलाइन्सले उडान भर्छ कि भर्दैन ? कतिको सम्भावना देख्नुभएको छ ?

–म के स्पष्ट गर्न चाहन्छु भने हिमालय एयरलाइन्सले चीनको कुनमिङबाहेक अन्य ७ वटा गन्तव्यहरूमा अहिले पनि नियमित फ्लाइट गरिरहेको छ । योभन्दा अघि अन्य देशहरू जस्तो म्यानमार, श्रीलंकामा हामीले फ्लाइट गरिसकेको अवस्था हो । हामीलाई भारतले उडान पर्मिट नदिएका कारणले मात्र त्यहाँ उडान गर्न नसकेका हौँ । 

तथापि, नेपाल र भारतको सिभिल एभिएसन अर्गनाइजेशनको म्यान्डेटेड फ्रेमवर्क अनुसार एयरसर्भिस एग्रिमेन्ट भएर एक देशले अर्को देशको जहाजलाई उडान गर्न दिने भन्ने दुई देशीय हवाई सम्झौता भएको छ । यो सार तत्त्व अहिले कार्यान्वयन नभएको स्थिति हो । 

यही नीति अनुसार छिमेकी देश चीनसँग हिमालय एयरलाइन्सले अहिले उडान भरिरहेको छ । नेपाल–चीन उडानमार्फत दुई देशीय पर्यटन प्रवर्द्धन गर्ने खास उद्देश्य हो । चिनियाँ पर्यटक भित्र्याउन हिमालय एयरलाइन्सले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ, जुन भावी दिनहरूमा पनि खेल्ने छ । 

अब कुरा आयो पोखरा विमानस्थलको । मैले अघि पनि भने कुनै पनि विमानस्थल सञ्चालनसँगै जोडिएर आउने पक्ष हो, त्यसको ‘अप्रेसन भायाबिलिटी’ । विमानस्थल सञ्चालन त्यसको सफलता असफलता त्यहाँ उपलब्ध हुने स्रोत साधन र पूर्वाधारमा भरपर्छ । आवश्यक तयारी पूरा हुन्छ र सरकारले चाहन्छ भने हामीले सरकारलाई सहयोग नगर्ने भन्ने हुँदै हुँदैन । कयौँ कठिनाइका बाबजुद पनि हामीले सरकारलाई नै सहयोग गर्ने उद्देश्यले गौतमबुद्ध विमानस्थलबाट उडान गर्‍यौँ । 

अर्को कुरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए लगत्तै हामीले परीक्षण उडान गरेका थियौँ । जुन पोखरा विमानस्थलका लागि एउटा कोशेढुङ्गाको रूपमा स्थापित हुनेछ । अब रह्यो उडानको, व्यावसायिक उडानका लागि विमानस्थलको अप्रेसन, इकोनोमिक भायाबिलिटीको कुरा, त्यो देखिए पोखरा विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइसेन्स तयार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया