शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डोजरे विकासले विपद् जोखिम बढ्यो : मन्त्री श्रेष्ठ

बिहीबार, ०४ जेठ २०८०, २२ : १९
बिहीबार, ०४ जेठ २०८०

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले डोजरे विकासका कारण विपद् जोखिम बढेको बताएका छन् । बिहीवार चितवनको नारायणी किनारमा आयोजित जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अध्ययन विना नै गरिने विकास विपद्को मुख्य कारण रहेको धारणा राखे ।

प्रकृतिलाई घाउ लगाएर डोजरे संस्कृतिको विकास गर्दा विपद्का घटनाहरु बढिरहेको उनको भनाई थियो । उनले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले वातावरणमैत्री विकासको बारेमा विचार गर्नुपर्ने समय आएको बताए ।

मन्त्री श्रेष्ठले असीमित आवश्यकतालाई सम्बोधन र समाधान गर्ने क्रममा जथाभावी भौतिक पूर्वाधार निर्माण गरिनु नै बिपद्को प्रमुख कारक बन्न गएको जिकिर गरे । ‘भौगर्भिक अध्ययन नगरी जथाभावी वस्ती र बाटो विकास गरिरहेका छौँ । जसले मानव जीवन जोखिममा पर्नेदेखि विकास नै धेरै महँगो पर्न गएको छ ।’

उनले अगाडि भने, ‘डोजरे विकासको संस्कृतिले एकातिर प्राकृतिक विनास हुने गरेको छ भने अर्काेतिर योजना बिना विकास गर्न खोज्दा विपद् निम्तिरहेको छ ।’ डोजरे विकास संकृति रोक्न नीतिगत रुपमा नै सोच्नुपर्ने बेला आएको उनको भनाई थियो ।

मन्त्री श्रेष्ठले प्रविधिमा जोड दिएर वातावरण र पर्यावरण मैत्री संस्कृतिको निर्माण गर्नुपर्ने बताए । उनले संरचनात्मक तयारी, दक्ष जनशक्ति निर्माण, उद्दार तथा राहत सामग्रीको भण्डारण, जोखिमयुक्त पालिकामा मनसुन पूर्व नै आर्थिक सहयोगको उपलब्धता, खतराको सूचना प्रवाह लगायतका कार्य गर्न सके विपदबाट बच्न र क्षति न्यून गर्न सकिने बताए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट र रेडक्रसले जलउद्दार संयुक्त अभ्यासको नक्कल प्रदर्शन गर्नुका साथै विपद्सँग सम्वन्धित सामग्री र उपकरणबारे जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप