बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खर्चिलो सामाजिकीको अनुकरण र अनुसरणले समाज कता जाँदै छ ?

शुक्रबार, ०५ जेठ २०८०, १० : ५१
शुक्रबार, ०५ जेठ २०८०

इतिहासलाई नियाल्दा मान्छेकै निरन्तर श्रममा समाजको रचना भएको देखिन्छ । यसकारण मानिसद्वारा गरिने सबैखाले श्रमको उपज नै आजको विकसित र प्रविधिमैत्री समाज हो । वस्तुतः मानिस सामाजिक प्राणी हो । समग्र मानवीय क्रियाकलापको संकेन्द्रण नै समाज हो । समाज समग्र हो भने मान्छे अंश हो । यही अंश–अंशहरूको समुच्चय नै समाज हो । 

अर्थात् विभिन्न व्यक्ति, परिवार र समुदायको बृहत्तर वा केन्द्रीकृत संरचना नै समाज हो । यसमा हरेक आयाम एकअर्कामा अन्तरनिर्भर, अन्तर्सम्बन्धित र परिपूरक हुन्छन् । एउटा आयामले गरेको सकारात्मक वा नकारात्मक गतिविधिले सिंगो सामाजिक भाष्यमा असर गरिरहेको हुन्छ । व्यक्ति, परिवार, समुदाय र समाजले खास अर्थराजनीतिक संस्कार र परम्पराअनुरूप गरिने सम्पूर्ण सामाजिक कर्मकाण्डलाई नै सामाजिकी भनिन्छ । खास समाजभित्र बसेर वा समाजको सदस्य भएर जन्मदेखि मृत्युसम्म निरन्तर गरिने सम्पूर्ण सामाजिक गतिविधि नै सामाजिकी हो । 

वस्तुतः सामाजिकी स्वतःस्फूर्त पैदा हुने विषय होइन । यो कसैलाई मनोगत इच्छा वा चाहना लाग्नेबित्तिकै रातारात स्थापित भइहाल्ने सवाल होइन । यसका लागि खास मानव समाजलाई कस्तो अर्थराजनीतिक दृष्टिकोणले दिशानिर्देश गरिरहेको छ भन्ने सारभूत आयाम निर्णायक हुन्छ । किनभने अर्थराजनीतिक दृष्टिकोण अनुरूप नै सांस्कृतिक रीतिरिवाज र परम्पराहरू निर्धारण हुन्छ । सिंगो सामाजिकीलाई राजनीतिक सत्ताजन्य विचारले नेतृत्व गरिरहेको हुन्छ । अर्थात् सामाजिकीको चरित्र राजनीतिक लगाम वा सत्ताअनुरूप हुने गर्छ । अर्को शब्दमा भन्ने हो भने सामाजिकीको सही र गलतपना अनि उत्पादनशील र अनुत्पादनशील भन्ने आधारभूत कुरा त्यसलाई नेतृत्व गर्ने राजनीतिक सत्ताको आधारभूत चरित्रमा निर्भर हुन्छ । 

वर्तमान मानव समाजले अभ्यास गरिरहेको समग्र सामाजिकीहरूलाई नवउदारवादी पुँजीवादी अर्थराजनीतिले निर्देश गरिरहेको छ । नवउद्धारवादी पुँजीवादको आधारभूत राजनीतिक, आर्थिक, सामरिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक सत्ताको चरित्र भूमण्डलीकृत हुन्छ । अर्थात् सबै सत्ताका आयामको विशेषता विश्वव्यापी हुने गर्छ । प्रभाव, पकड र नियन्त्रण पनि विश्वव्यापी नै हुन्छ । यही मेसोमा आजको नवउद्धारवादी अर्थराजनीतिक सत्ताको सांस्कृतिक पक्ष चरम उपभोगवादद्वारा निर्देशित रहेको छ । उपभोगवादद्वारा निर्देशित सांस्कृतिक सत्ताअन्तर्गत अभ्यास गरिने प्रायः सबै सामाजिकी आडम्बरी र तडकभडकपूर्ण हुने गर्छ । यो ढोंग, ढर्रा, रूपवादी र भड्किलो हुन्छ । यस्ताखाले सामाजिक–सांस्कृतिक सत्ताले नेतृत्व गरिरहेको समाजमा गरिने हरेक सामाजिकी असाध्यै अनुत्पादक र खर्चिलो हुने गर्छ । यो सामाजिकी अन्तर्गतको सार्वभौम नियम हो ।

यता नेपालको राष्ट्रिय अर्थराजनीति पनि नवउद्धारवादी पुँजीवादद्वारा निर्देशित रहेको छ । यहाँ पनि राजनीति, अर्थतन्त्र, सुरक्षा, संस्कृति र धर्ममा नवउद्धारवादी भूमण्डलीकृत सत्ताको प्रभाव छँदै छ । त्यसमध्ये पनि उपभोगवादी संस्कृतिको बाछिटा झनै भयावह देखिन्छ । किनभने सांस्कृतिक आयाम अझ भावनात्मक र संवेदनशील हुन्छ । उपभोगवादी संस्कृतिको प्रभाव विकसितभन्दा विकासशील मुलुकबा बढी हुन्छ । त्यहाँ भोक, प्यास र चाहना अत्यधिक वा असीमित हुन्छ वा इमोसनल पक्ष निर्णायक हुन्छ । धरातललाई अनदेखा गर्दै निरपेक्ष रूपमा देखासिकीमा बहकिने वा नक्कल गर्ने गरिन्छ । परिणामतः त्यस्तो समाजमा समग्र सामाजिकी असाध्यै आडम्बरपूर्ण र खर्चिलो हुने गर्छ । यही नियमअनुरूप नेपाली समाजको सामाजिकी असाध्यै खर्चिलो बन्दै गइरहेको छ, जुन साधारण, सोझो र औसत आम्दानीको स्रोत व्यवस्थापन गर्नेहरूलाई धान्न धौ–धौ परिरहेको कसैमा छिपेको छैन ।

उपभोगवादी सामाजिकीअन्तर्गत सम्पूर्ण सामाजिक क्रियाकलाप तडकभडक र आडम्बरमा आधारित हुन्छ । यसमा कामको उत्पादकत्व, औचित्य र व्यावहारिकतालाई नजरअन्दाज गरिन्छ । सामाजिक, सांस्कृतिक, धार्मिक तथा रीतिरिवाजजन्य सबै गतिविधिलाई रूप र रवाफवादी दृष्टिकोणको तराजुमा जोख्ने गरिन्छ । अनावश्यक इज्जत, प्रतिष्ठा, दम्भ र घमण्ड प्रदर्शनका रूपमा ग्रहण गरिन्छ । सान, मान र उपभोगवादी सोखमा सामाजिकी कैद हुन पुग्छ । आज हाम्रो समाजमा हुने प्रायः अधिकांश विवाह, भोजभतेर, व्रतबन्ध, पास्नी, पुराण, गुन्यू–चोली, पितृपूजा, शुद्धिकार्य र जन्मदिन जस्ता सामाजिक कार्यलाई प्रतिष्ठा र आर्थिक वैभवसँग जोड्न थालिएको छ । सामाजिक कार्यको तामझामबाटै उसको सामाजिक राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षमता र योग्यता मापन गरिन्छ । व्यक्तित्व, प्रभाव र पकडको मापदण्ड मानिँदै छ । सफलता र असफलता निर्धारण गरिन्छ । यस अतिरिक्त अन्य सबै खाले कार्यक्रमको प्रकृति पनि भड्किलो र खर्चालु बन्दै गइरहेको छ । अर्थात् उपभोगवादद्वारा निर्देशित समाजमा चुनाव पनि विकृत र भड्किलो बन्दै गइरहेको छ । चुनाव पनि उपभोगवादको भँड्खालोमा फसिरहेको छ ।

वस्तुतः नेपाली समाजलाई पनि उपभोगवादी संस्कृतिले नराम्ररी गाँजेको छ । यस्तो संस्कृति हाबी भएको समाजमा रूपवादी ढोंग, आडम्बर र रवाफजन्य हर्कतहरू सामान्य हुने गर्छ । सामाजिकीको सार नै मिडिया स्टन्टबाजी, हल्लाखल्ला र रूपवाद हुने गर्छ । सामान्य जन्मदिन मनाउन तराईबाट हिमाल, पूर्वबाट पश्चिम अनि उत्तरबाट दक्षिणसम्मको खर्चिलो यात्रा गरेर भए पनि निम्तोमा सहभागी भएर सामाजिकी कायम राख्नुपर्नेछ । 

जति हतार र जति अभाव होस्, जति टाढा होस् – उत्पादक र अनुत्पादक सबैखाले सामाजिकीलाई आत्मसात गर्नैपर्नेछ । यहाँसम्म कि जसले आडम्बरी र तडकभडकपूर्ण सामाजिकीको ठाउँमा वस्तुवादी र व्यावहारिक सामाजिकीको वकालत गर्दछ, ऊ एक्लो हुनेवाला छ । उसले एकलकाँटेको बिल्ला भिर्नुपनेछ । असामाजिक र असहयोगीको ट्याग सिउरिनुपर्नेछ । समयसापेक्ष समायोजन हुन नजान्ने पटमूर्ख हुनुपर्नेछ । तब यही भयका कारण उसले जसरी, जहाँ र जस्तोसुकै सामाजिक कार्यमा उपस्थित हुनैपर्छ । उपभोगवादी सामाजिक कार्यमा तडकभडकपूर्ण उपस्थिति जनाउनैपर्ने हुन्छ । तब मात्र ऊ औसत सामाजिकी बचाउन सफल हुनेछ ।

सामाजिकीको सार नै मिडिया स्टन्टबाजी, हल्लाखल्ला र रूपवाद हुने गर्छ । जसले आडम्बरी र तडकभडकपूर्ण सामाजिकीको ठाउँमा वस्तुवादी र व्यावहारिक सामाजिकीको वकालत गर्दछ, ऊ एक्लो हुनेवाला छ ।

अर्थात् यस्तो खर्चिलो सामाजिकीमा दृष्टि पर्दा ढाक्नका लागि कि त घरखेत बेच्नुपर्ने अवस्था छ, कि त सामाजिकीलाई इन्कार गर्नुपर्ने हुन्छ । यसलाई अस्वीकार गर्नु भनेको दुस्साहस गर्नु बराबर हो । किनभने सारा समाजको सामाजिक माहोल आडम्बरी सामाजिकीको गुरुत्व केन्द्र वरिपरि फन्को मारिरहेको छ । हाम्रो समाजको वस्तुगत धरातल र समाजका सदस्यको सचेतना र क्षमता अनुरूप कस्तो सामाजिकी वस्तुवादी हुन्छ भनेर न राजकीय न समुदायगत न संस्थागत न त व्यक्तिगत रूपमा कुनै बहस छलफल भएको छैन । समाज जे गर्छ, सबै ठिकै गर्छ भन्दै संगीतको धुन अनुरूप नाच्नुपर्छ भन्ने निरपेक्ष भाष्य जबर्जस्त रूपमा स्थापित गरिएको छ । यसलाई नाघ्ने हिम्मत एकल ढंगले सम्भव पनि देखिँदैन ।

हाम्रो सामाजिक संस्कार खर्चिलो मात्र भएको छैन । यसलाई उपभोगवादी, आडम्बरी, अनावश्यक र अनुत्पादनशील लेपन लगाएर सिंगो सामाजिक सौन्दर्य खडा गरिएको छ । यसो भएपछि धन, मन र तन हुने वा नहुने सबै बाध्य भएर भड्किलो सामाजिकी धान्न बाध्य हुन्छन् । उदाहरणका लागि घरको आँगनमा बनाइने मण्डपहरू महँगो र चर्चित पार्टी प्यालेसमा बन्न थालेका छन् । यहाँसम्म कि राजनीतिक कार्यक्रमहरूको अतिरिक्त व्रतबन्ध, बर्थ–डे, गुन्यूचोली, पास्नी, छेवर, पुराण, बिदाइ, स्वागत, बधाई वा सम्मान लिने–दिने सबै सामाजिक कार्य नाम चलेको पार्टी प्यालेसमा गर्नैपर्ने सामाजिकी बनिरहेको छ । तत्काल नसक्नेले म पनि पछि गर्छु भनेर चित्त बुझाउनुपर्नेछ । उपभोगवादले हमेसा देखासिकीको माग गरिरहन्छ । बधाई र सम्मान दिनैपर्ने लिनैपर्ने, खादा, माला र अबिर जात्रा गर्नैपर्ने, सम्मानपत्र छाप्नैपर्ने, श्रद्धाञ्जली व्यक्त गर्नैपर्ने, समवेदनापत्र दिनैपर्ने, फोटो खिच्नैपर्ने, सामाजिक सञ्जालमा हाल्नैपर्ने, लाइक–कमेन्टको अपेक्षा राख्नैपर्ने, भाइरल बनाउनैपर्ने, शुमकामना वा शुभेच्छा आदान–प्रदान गर्नैपर्ने, स्वागत र बिदाइ गर्नैपर्ने, भ्युटावरहरू चढ्नैपर्ने, पिक्निकहरू जानैपर्ने, फनपार्कहरू घुम्नैपर्ने, गेट टुगेदर गर्नैपर्ने, होटेल रेस्टुराको खानपान शैली अपनाउनैपर्ने, मौसमी र बेमौसमी भोजभतेर गर्नैपर्ने वा त्यसमा जानैपर्ने, परिणाम वा उत्पादनभन्दा ठूलो खर्च गर्नैपर्ने सामाजिकी कायम गर्न सबैलाई सजिलो छैन । अन्ततः यसले कुनै अमुक व्यक्ति र समुदायलाई मात्र होइन, सिंगो मुलुकको अर्थतन्त्रलाई समेत तहस–नहस पार्दै छ ।

मान्छे सामाजिक प्राणी हो । यस कारण समाजमा सबै खाले सामाजिकी अनिवार्य हुन्छ । यसमा हामी शतप्रतिशत सहमत छौँ, तर आजको हरेक सामाजिकी अलि बढी उपभोगवादी, रूपवादी, अनुत्पादक, आडम्बरी, भड्किलो र अति खर्चिलो हुँदै गएकोप्रति भने चासो राख्नु सचेत नागरिकको सचेत दायित्वभित्र पर्दछ । यस्तै तडकभडकपूर्ण सामाजिकीलाई अनुकरण र अनुसरण गर्दै जाँदा भोलि हाम्रो समाज कहाँ पुग्छ ? संस्कार र संस्कृतिको मौलिकता कता जान्छ ? मितव्ययिता, उत्पादनशीलता र व्यावहारिकता लोप भएर कता बिलाउँछ ? उपभोगवादी आडम्बरमा बहकिँदा र बरालिँदा त केही छैन, रसरङ्ग र रमाइलै हुन्छ, तर यस्तै सामाजिकीले समाजलाई अझ उन्नत, सभ्य, विवेकशील र अनुशासित बनाउने कुरा कल्पनै गर्न सकिन्न । यस कारण हामी सबैले यसबारे गम्भीर एवं सचेत पहल लिन जरुरी छ । 

यद्यपि हाम्रो सामाजिकीलाई दिशानिर्देश गर्ने मूलभूत पक्ष भनेको राजनीतिक दृष्टिकोण नै हो । वस्तुतः दलाल पुँजीवादमा आधारित नवउद्धारवादी पुँजीवादले निर्धारण गर्ने सामाजिकी भड्किलै हुने गर्छ । यसकारण सही, वस्तुवादी र व्यावहारिक सामाजिकी निर्माण गर्ने हो भने राजनीतिक प्रणालीको विकल्प खोज्न जरुरी छ । उन्नत मानव समाज व्यवस्थाको लामो र कष्टसाध्य ऐतिहासिक प्रक्रियामा क्रियाशील कम्युनिस्ट पार्टी वा सिद्धान्तबाट मात्र यसको सही समाधान सम्भव हुन्छ । अर्थात् आडम्बरी र भड्किलो सामाजिकीलाई विस्थापन गर्दै प्रगतिशील, विवेकशील र व्यावहारिक सांस्कृतिक थिति बसाल्ने हो भने वित्तीय पुँजीद्वारा निर्देशित नवउद्धारवादी अर्थराजनीतिक समाज व्यवस्थाको उन्नत विकल्प खोज्नैपर्ने हुन्छ । तब मात्र सामाजिक पर्व र त्यसलाई मनाउने तरिकाहरू कम खर्चिलो, उत्पादनमूलक र व्यावहारिक हुन्छ, तर नवउद्धारवादी विचारद्वारा निर्देशित भएर उन्नत र प्रगतिशील सामाजिक संस्कृति विकास सम्भव हुँदैन । कसैले त्यस्तो कल्पना गर्छ भने त्यो सरासर ढाँटछल मात्र हो ।

वास्तवमा मानिस सामाजिक प्राणी हो । यसकारण मान्छेलाई सामाजिकी जरुरी हुन्छ, तर समाज र यसले निर्धारण गरेको सामाजिक अनुशासनको पालनाविना समाजमा गतिशील वा परिणाममुखी उपस्थिति हुँदैन भनेर अति नै विकृत, अश्लील, अराजक, अनुत्पादक र खर्चिलो सामाजिकीलाई मान्नैपर्छ भन्ने हुँदैन । यसप्रति आलोचनात्मक दृष्टिकोण राख्नैपर्छ । यसकारण सामाजिक कार्यहरूमा अनुत्पादक र भड्किलो खर्च न्यूनीकरण गरौँ । राजकीय रूपमा विवेकशील, उत्पादनशील र व्यावहारिक सामाजिकीबारे जनचेतना मात्र नभएर अभियानकै रूपमा नीतिगत पहल थालौँ । उपभोगवादी, आडम्बरी र रूपवादी सामाजिकीलाई निरुत्साहित गरौँ । सहज, सभ्य, किफायत र प्रगतिशील सामाजिकीलाई स्थापित गरौँ । सामाजिकी अनुकरण गर्दै जाँदा टाट पल्टिने अवस्था नहोस् । गलत सामाजिकीप्रति आलोचनात्मक दृष्टिकोण राख्दा एकलकाँटेको ट्याग भिर्नु नपरोस् । तब मात्र प्रगतिशील र व्यावहारिक संस्कृतिसहितको सामाजिकी स्थापित गर्दै उन्नत समाजवादी समाज व्यवस्थामा सङ्क्रमण सम्भव हुन्छ । सबैलाई चेतना भया ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप