अमेरिकालाई राप्रपाको पत्र : हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्वीकार्य छैन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ ।
अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।
राप्रपाले सो प्रतिवेदन प्रति असहमति जनाउँदै नेपालस्थित अमेरिकी राजदूतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन् ।
अमेरिकी विदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको पनि अध्यक्ष लिङ्देनले जनाएका छन् । ‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ नागरिक समाजप्रति पनि अमेरिकन विदेश मन्त्रालयले अपुरो ज्ञानका आधारमा लेखेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ ।’
हिन्दु राज्य स्थापनाका लागि आफूहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्वीकार गरेको पनि पत्रमा उल्लेख छ । ‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट सद्भाव र शुभेच्छाको स्वागत गर्दछौँ । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ राप्रपाको स्पष्ट दृष्टिकोण उल्लेख गर्दै भनेको छ ।
सो प्रतिवेदनले नेपाल र अमेरिकाको बिचमा बैमन्यस्यता उत्पन्न गराउने पनि उल्लेख गरिएको छ । ‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो छविलाई धमिलो पार्छ,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौँ ।’
सो पार्टीले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मको सम्मानसहित हिन्दु राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि पत्रमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण