शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारले नेपालको आर्थिक विकासलाई नागपासाको ९९ बाट २ मा झारेजस्तो गर्‍यो : केपी ओली

आइतबार, ०७ जेठ २०८०, १३ : ०४
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमालेलाई विस्थापित गरेर बनेको कांग्रेस माओवादी नेतृत्वको गठबन्धन नै नेपालको अर्थतन्त्रलाई सङ्कटको डिलमा पुर्‍याउने प्रमुख कारक भएको आरोप लगाएका छन् । 

सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष ओलीले नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्नका लागि कांग्रेस माओवादी लगायतका दलको गठबन्धन बनाइएको थियो भन्ने दाबी गरे । 

अध्यक्ष ओलीले भने–हरेक देशमा समस्या हुन्छ, समस्या नभएको कुन देश हुन्छ ? समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्छ र ? धेरै पर नआऔँ हाम्रै देशमा २०७४ सालभन्दा अगाडिको एक दशकमा ४ प्रतिशत भन्दा कम दर रहेको आर्थिक वृद्धि आर्थिक वर्ष २०७३÷०७४, ०७४÷०७५ र ०७५÷०७६ मा ३ वर्षमा सरदर ६ दशमलव ५ प्रतिशतले बढेको थियो । सोही अवधिको विश्लेषण गर्दै बेलायतबाट प्रकाशन हुने द इकोनोमिष्ट पत्रिकाले सन् २०१९ को नेपाललाई उच्च आर्थिक वृद्धि हासिल गर्ने विश्वका १० मुलुकभित्र समावेश गरेको थियो । कति छिट्टै २ वर्षमै तपाईँहरूले तीव्र आर्थिक विकास गर्ने १० ओटा देशभित्र पुगिसकेको नेपाललाई नागपासा खेलेझैँ ९९ बाट २ मा कसरी झार्नुभयो ?’

उनले गठबन्धन दलका कारण अर्थतन्त्र कमजोर भएको आरोप लगाए । अध्यक्ष ओलीले भने –‘विश्वको दोस्रो ठुलो अर्थव्यवस्था भएको मित्रराष्ट्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र मित्रराष्ट्र भारतको आर्थिक विकास सन् २०२३ मा आर्थिक वृद्धिदर क्रमशः ५ प्रतिशत र ६ दशमलव ४ प्रतिशत हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हाम्रो आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । पछि हेर्नुहोला यो पनि पुग्नेवाला छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप