शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई शंकरको सुझाव : मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्नुहोला

मङ्गलबार, ०९ जेठ २०८०, १५ : १२
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । 

मंगलबारबाट काठमाडौँमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सामुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे । महासचिव पोखरेलले भने, ‘ आज सम्माननीय प्रधानमन्त्रीजीले तपाईहरुको बीचमा धेरै कुराको प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म यतिमात्र तपाईहरुको बीचमा भन्न चाहन्छु–सरकारका तर्फबाट सामुदायिक वनको क्षेत्रमा अगाडि बढाउन खोजेका रचनात्मक क्रियाकलापको सन्दर्भको बारेमा प्रमुख प्रतिपक्ष दलको तर्फबाट पूर्ण रूपमा साथ रहेनछ भन्ने कुराको वचनबद्धता र विश्वास दिलाउन चाहन्छु । तर यस्तो नभइदियोस्–प्राय हामी सुन्ने गर्छौँ, जहाँ गयो, मिठा कुरा गर्‍यो । फर्केपछि बिर्सियो । त्यो अवस्था निश्चय पनि हुनेछैन भन्ने म ठान्दछु । आज जे प्रतिबद्धता जाहेर गरिएको छ । त्यसमा सरकार प्रतिबद्ध रहनेछ । र, सरकारले अगाडि बढाएका सामुदायिक वनको क्षेत्रमा, वातावरण संरक्षणको क्षेत्रमा गर्ने कामहरूका सन्दर्भमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग रहनेछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । ’ 

पोखरेलले थपे, ‘वन क्षेत्रलाई आम जनताको गरिबी निवारणको माध्यमको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले सोच्नु जरुरी छ । त्यसरी सोचेनौँ भने हामीले स्वाभाविक रूपमा गरिबीमाथि विजय हासिल गर्न सक्दैनौँ भन्ने कुरालाई बुझ्न जरुरी छ । वन क्षेत्रमा रहेको जडीबुटी उत्पादन गर्ने र त्यसको प्रशोधन गर्ने कुराको सन्दर्भमा समुदायलाई अधिकार सम्पन्न बनाउन सकियो भने यसबाट आय आर्जनको माध्यम बन्न सक्छ भन्ने पक्षलाई पनि बुझ्न जरुरी छ । र, हाम्रा वन क्षेत्रभित्र स्वाभाविक रूपमा उत्पादनमूलक वृक्षारोपणको कामलाई अगाडि बढाउने हो भने नियमित रूपमा वन क्षेत्रले जनताको भोकमरीसँग लड्ने सामर्थ्य पनि प्रदान गर्न सक्दछ भन्ने मान्यताका आधारमा हामीले अहिले जुन प्रकारले वन संरक्षणको सन्दर्भमा काठजन्य पैदावारलाई मात्रै वन संरक्षणको विषयको रूपमा बनाइरहेका छौँ । त्यसलाई अन्य क्षेत्रमा पनि अगाडि बढाउने हो भने नेपालको गरिबीमाथि विजय हासिल गर्ने आधारमा रूपमा हामीले वन क्षेत्रलाई प्रयोग गर्न सक्दछौँ । र, त्यसको महत्त्वपूर्ण साझेदारको रूपमा सामुदायिक उपभोक्ताहरू समूहहरु बन्न सक्दछन् भन्ने मान्यताका आधारमा सामुदायिक वन उपभोक्ता महासंघले त्यस अनुसार नयाँ दृष्टिकोणका साथ अगाडि बढ्न सक्नु पर्दछ । त्यो ढंगले अगाडि बढ्यो भने स्वाभाविक रूपमा समुदायको हित पनि हुन्छ । राष्ट्रको समृद्धि र विकास पनि योगदान हुन्छ भन्ने कुरालाई बुझ्न आवश्यक छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप