बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा

नेपाल पनि छनोटको दौडमा
बिहीबार, ०५ असार २०८२, १२ : ४८
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • सन् २०२६ को महिला टी-२० विश्वकप जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्याण्डमा आयोजना हुने भएको छ।
  • प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्, जसमा अघिल्लो संस्करणको तुलनामा दुई टोली थपिएका छन्।
  • भारत र पाकिस्तानबीचको खेल जुन १४ मा एजब्यास्टनमा हुनेछ भने फाइनल जुलाई ५ मा ऐतिहासिक लर्ड्स मैदानमा हुनेछ।

काठमाडौँ । सन् २०२६ को महिला टी-२० विश्वकप जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्याण्डमा आयोजना हुने भएको छ। २४ दिनसम्म सात विभिन्न मैदानमा ३३ खेल सञ्चालन हुने प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्।

यसपटकको विश्वकपमा अघिल्लो संस्करणको तुलनामा दुई टोली थपिएका छन्। प्रतियोगिताका लागि ग्रुप १ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान र छनोट हुन बाँकी दुई टोली छन् भने ग्रुप २ मा आयोजक इंग्ल्याण्ड, डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलङ्का र छनोट हुन दुई बाँकी टोली रहेका छन्।

उद्घाटन खेल जुन १२ मा एजब्यास्टनमा आयोजक इंग्ल्याण्ड र श्रीलङ्काबिच हुनेछ। डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डले जुन १३ मा साउथह्याम्प्टनमा वेस्ट इन्डिजविरुद्ध आफ्नो अभियान सुरु गर्नेछ भने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच म्यानचेस्टरमा सोही दिन भिडन्त हुनेछ।

भारत र पाकिस्तानबिचको बहुप्रतीक्षित खेल जुन १४ मा एजब्यास्टनमा हुनेछ। भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन २१ मा म्यानचेस्टरमा र अस्ट्रेलियाविरुद्ध जुन २८ मा लर्ड्समा खेल्नेछ। अस्ट्रेलिया र भारतबिचको भिडन्त समूह चरणको अन्तिम खेल हुनेछ।

ग्रुप २ मा इंग्ल्याण्डले सबैभन्दा बढी पाँच मैदानमा खेल्नेछ। टोलीले जुन २४ मा वेस्ट इन्डिजसँग लर्ड्समा र जुन २७ मा न्युजिल्यान्डसँग ओभलमा खेल्नेछ। श्रीलङ्काले जुन १६ मा न्युजिल्यान्डसँग साउथह्याम्प्टनमा र जुन २१ मा वेस्ट इन्डिजसँग ब्रिस्टलमा प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनल खेलहरू जुन ३० र जुलाई २ मा ओभलमा हुनेछ भने फाइनल जुलाई ५ मा ऐतिहासिक लर्ड्स मैदानमा हुनेछ।

प्रतियोगितामा इंग्ल्याण्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज अघिल्लो संस्करणका शीर्ष टोलीका रूपमा स्वतः छनोट भएका हुन्। पाकिस्तान र श्रीलङ्का आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा अक्टोबर २१, २०२४ सम्ममा उच्च स्थानमा रहेकाले छनोट भएका हुन्।

बाँकी चार स्थान २०२६ को सुरुवाततिर हुने ग्लोबल छनोट प्रतियोगिताबाट तय हुनेछ। बंगलादेश, स्कटल्याण्ड, अमेरिका, नेपाल र थाइल्याण्ड यस दस टोलीको छनोट प्रतियोगितामा सहभागी हुने पक्का भइसकेको छ। युरोप, अफ्रिका र पूर्वी एसिया-प्रशान्त क्षेत्रका छनोट प्रतियोगिता अझै बाँकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप