कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
सारांश
- नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र यसले युवा पुस्तामा पारेको प्रभावबारे लेखिएको छ।
- आईटी क्षेत्रमा सरकारको नीति र पूर्वाधारको कमीले युवाहरूलाई चुनौती दिएको छ।
- साइबर सुरक्षा र डेटा सुरक्षाका सवालहरूमा नेपालको अवस्था र यसका चुनौतीहरू उल्लेख गरिएको छ।
काठमाडौँ । कामको अभाव र अन्योल भविष्यबिच सुरक्षाको खोजीमा आफ्नो थातथलो छाडेर पराई मुलुक जाने कथा नेपालीजनका लागि नयाँ होइन । भारतको कोइलाखानीमा होस्, चाहे बर्माका खेतीपातीमा । भुटान वा श्रीलङ्का नै किन नहोस् ! २०औँ शताब्दीसम्म नेपालीका पसिनाले नभिजेको भूगोल दक्षिण एसियामा बिरलै होला ।
दार्जिलिङको चौरस्तामा हातमा नाम्लो लिएर सामान ओसार–पसार गर्ने ग्राहक पर्खिरहेका हुन् वा मुम्बईका आलिसान बंगलाको ढोका र भान्सामा सलाम ठोकिरहेका नेपाली युवा– हिजोसम्म यस्तो दृश्य अनौठो मानिँदैनथ्यो ।
चलचित्रका पर्दाहरूमा त्यही उतारिए । नेपालीको विम्ब दरबान, भान्से वा कुल्लीको बन्न गयो । बिस्तारै टाउको उठाउँदै गरेको मध्यम वर्गले अमिलो मन बनाएर यी परिदृश्य निरीहतापूर्वक हेरिरहेको हुन्थ्यो ।
समय उस्तै रहेन । २१औँ शताब्दीले आफूसँगै परिवर्तन पनि बोकेर ल्यायो । भलै त्यहाँ विभेदको बाक्लो जालो पनि थियो । सन् ८० को दशकमा विश्वव्यापी हुन थालेको निजीकरण, उदारीकरण र विश्वव्यापीकरणका लहर नेपालमा पनि बिस्तारै छिर्न थाल्यो ।
यसैलाई अंग्रेजीमा ‘आइटी रिभोलुसन’ भनियो अर्थात् सूचना प्रविधिमा आएको क्रान्ति । यो क्रान्तिले नेपालीलाई आफ्नै सहरमा बसेर संसार हेर्न मात्रै सिकाएन । यससँग व्यापार गर्न पनि सिकायो ।
नेपाल उदारीकरणको लहरमा दक्षिण एसियाकै अग्रणी भएर लामबद्ध भयो । यसले नेपालमा पुँजी तथा प्रविधिको मात्रै खुला आवागमन गराएन, गाउँमा कृषि क्षेत्रको निम्न उत्पादकत्व, लुकेको बेरोजगारी तथा निम्न आर्थिक वृद्धिको मार झेलिरहेको ठुलो पङ्क्तिले अन्तर्राष्ट्रिय श्रम बजारको बाटो भेट्न थाल्यो ।
सरकारको स्वरूप पनि फेरियो । विदेशी सेनामा गल्लावालको साथ लगाएर आफ्ना नागरिक बेचिरहेको सरकार अब आफ्ना अड्डाहरूमा राहदानी र श्रम अनुमति पत्र बाँड्न व्यस्त हुन थालिसकेको थियो ।
त्यसपछिको समय पनि उस्तै रहेन । नेपाली युवाले फेरि कोल्टे फेरे । सन् ९० को दशकको सुरुवातमा विकास भएको इन्टरनेट तथा सफ्टवेयर उद्योगले सिर्जना गरेका अवसर र प्रभावलाई महासागरहरूले छेक्न सकेनन् । भूपरिवेष्टित हुनुको नियतिका कारण विविध वैश्विक सञ्जालमा जोडिन अप्ठेराहरू भोगिरहेको नेपाल पनि सूचना–सञ्चारको क्रान्तिमा जोडिन पुग्यो ।
गाउँबाट तीन–चार दिन पैदल हिँडेर राजधानीको मेनपावर कम्पनी आइपुगेको युवक मलेसियाको पेनाङको कुनै बहुराष्ट्रिय कम्पनीको ढोकाबाट पाँच वर्षे छोरासँग श्रव्य–दृश्यमा कुरा गर्न सक्ने भयो । एक पुस्ता अघिसम्म कथाजस्ता लाग्ने चिया पसलका गफहरू अब चौतारोमा बुढाबुढीका लागि पनि आश्चर्यको कुरा रहेन ।
यसले नेपालका नयाँ पुस्तालाई विस्तार हुँदै गरेको रङ्गमञ्चमा उभ्याइसकेको थियो । विश्वको करिब–करिब सबै ज्ञान इन्टरनेटको सञ्जालमा जोडिन तीन दशक पनि लागेन । दैनिक जीवनका धेरैजसो पाटोमा इन्टरनेट आइपुग्यो । चाहे त्यो मनोरञ्जनको क्षेत्रमा होस् वा ज्ञानको क्षेत्रमा । यो सबैको केन्द्रमा थियो– व्यापार ।
यसैलाई अंग्रेजीमा ‘आइटी रिभोलुसन’ भनियो अर्थात् सूचना प्रविधिमा आएको क्रान्ति । यो क्रान्तिले नेपालीलाई आफ्नै सहरमा बसेर संसार हेर्न मात्रै सिकाएन । यससँग व्यापार गर्न पनि सिकायो । त्यसैले त अहिलेका नेपाली युवा हलिउडका सिनेमाका लागि ग्राफिक्सको काम नेपालमै बसेर गर्ने भए ।
सूचना क्रान्तिले ‘सिलिकन भ्याली’ को काम फेवातालको लेक साइडमा बसेर गर्न सकिने बनाइदियो । सन् २०२३को जुनमा अनुसन्धान संस्था ‘आईआईडीएस’ ले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनका अनुसार आईटी क्षेत्रले करिब आधा खर्बभन्दा धेरैको सेवा निर्यात गरेको छ ।
यसमा रोचक के छ भने यस मामिलामा सरकार ढुङ्गे युगमा छ तर नेपाली युवा पुस्ता मार्समा विचरण गरिरहेको छ । अर्थात् नेपालको आईटी क्षेत्र धेरैले कल्पना गरेभन्दा निकै अगाडि छ । यो अर्थतन्त्रको नयाँ केन्द्रका रूपमा उदाइसकेको छ ।
स्वाभाविक रूपमा आईटी वैश्विक रूपमै कान्छो क्षेत्रमा पर्छ । त्यसैले नेपालमा पनि यो क्षेत्रमा काम गर्ने अधिकांश युवा पुस्ताकै छन् । र, उनीहरूले यसलाई उचाइमा पुर्याउन कडा मेहनत र परिश्रम गरिरहेका छन् ।

त्यस्तै युवामा पर्छन् खेमराज पोखरेल । उनी विगत एक दशकदेखि आईटीको क्षेत्रमा काम गरिरहेका छन् । नेपालीहरूले धेरै कुरा गर्न सक्ने र त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण क्षेत्र आईटी रहेको उनको भनाइ छ ।
‘हामीले एआईको प्रयोग धेरै ठाउँमा गर्न सक्छौँ । उदाहरणका लागि कुपोषणको सिकार अफ्रिकामा युवाहरूले एआईलाई रुँदै गरेको बच्चाको आवाज सुनाएर उसलाई के अप्ठ्यारो परेको हो भनी सोधे । कुपोषणबाट ग्रसित शिशुको आवाज अन्य स्वस्थ बच्चाको आवाजभन्दा भिन्न हुने रहेछ भन्ने निष्कर्ष निकालेर त्यो बच्चालाई कुन पौष्टिक आहारको कमी भएको हो भन्ने एआईलाई नै सोधेर कुपोषणबाट हुने मृत्युदर कम गर्न ठुलो भूमिका निर्वाह गरे । ठिक त्यसै गरी हामी पनि काम गर्न सक्छौँ,’ पोखरेलले भने ।
हिजोसम्म अनलाइन मार्फत ‘कोडिङ,’ सिक्ने युवाहरू, युट्युबमा ‘ट्युटोरियल’ हेर्दै ‘डिजाइन’ सिक्ने युवाहरू आज आफैँले त्यसलाई बखुबी बनाइरहेका छन् । आज आईटीको क्षेत्रमा काम गर्ने धेरै युवाहरू आउट सोर्सिङका धेरै कामहरू ‘फ्रिलान्सर’ का रूपमा काम गर्न थालेका छन् ।
आईटी क्षेत्रमा काम गर्ने युवा चाहे नवलपरासीको होस् वा सोलुखुम्बुको, सबैको मुखमा सहजै उच्चारण हुने शब्द हो– ‘फ्रिलान्सर’ । आउट सोर्सिङको दुनियाँमा धरानका मनोज घले निकै भिजिसकेका छन् । उनी विगत १५ वर्षदेखि विदेशी आईटी कम्पनीहरूको काम नेपालबाटै गर्ने गर्छन् ।

उनी आफ्नो काममा जति पोख्त छन्, त्यति नै उनको पारिश्रमिक पनि उच्च छ । ‘पहिले म सानातिना काम नै गर्ने गर्थेँ तर काम गर्दै जाँदा आजका दिन निराश हुनुपर्ने अवस्था छैन । मैले गर्ने काम नेटमा पाएँ भने सबै गर्न सक्छु,’ उनले रातोपाटीसँग भने ।
‘विजनेस प्रोसेस आउट सोर्सिङ’ भनिने उनको कामबारे नेपालमा धेरैलाई थाहा नहुन सक्ला तर उनले निकै राम्रो जीवन बाँच्न सक्नेगरी पारिश्रमिक पाउँछन् । ‘पहिले त हामीलाई पनि धेरै गाह्रो थियो, तर अब कामको स्तर बढ्दै जाँदा पछाडि फर्केर हेर्नुपर्ने अवस्था छैन,’ घलेले भने ।
तर, उच्च सम्भावना बोकेका नेपाली आईटी क्षेत्रका युवा भने सूचना–प्रविधिको क्षेत्रमा आधारभूत मानिने पूर्वाधारको संकटसँग जुधिरहेका छन् । राजधानीबाहिरको अधिकांश भूगोल अझै पनि टिकाउ र भरपर्दो इन्टरनेट कनेक्टिभिटीमा जोडिन सकेको छैन ।
प्रत्येक नयाँ बन्ने सरकारले ‘सूचना प्रविधिमा आएको क्रान्ति’ र ‘सूचना प्रविधिमा आएको क्रान्तिलाई विकासको आधार बनाउने’ भने पनि त्यो भनाइ र भाषणभन्दा अघि बढ्न नसकेको बुझाइ राख्छन् अधिकांश आईटी क्षेत्रको नेतृत्व गर्दै गरेको युवा ।
आईटीपार्क वा सुविधा सम्पन्न आईटी औद्योगिक क्षेत्र नेपालमा अझै बन्न सकेको छैन । सामान्यजस्ता लाग्ने विषयमा पनि सरकारको ध्यान जान सकेको छैन । ‘एकातर्फ प्रविधिमा तीव्रतम उतार–चढाव आइरहेको छ, अर्कोतर्फ हामीसँग आधारभूत पूर्वाधार पनि छैन,’ पोखरेलले भने ।
पोखरेलले भनेजस्तै सरकार यस मामिलामा साँच्चै सुस्त र ढुङ्गे युगमा छ । आजका दिन पनि नेपालमा सराहना गर्ने योग्य ‘साइबर सेक्युरिटी ल,’ ‘डाटा प्रोटेक्सन ल’ छैन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ भने अरूले भनेजस्तो नभई सरकार यस मामिलामा निकै सचेत र गम्भीर रहेको बताउँछन् । ‘विश्वभर आईटी क्षेत्रको विकास जुन स्तरमा भइरहेको छ, त्यसलाई मध्यनजर गरेर सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ,’ गुरुङले भने ।
सरकार गम्भीरतापूर्वक सोचिरहेको त छ तर कति गम्भीर र प्रभावकारी ढंगले भन्ने बेग्लै प्रश्न हो । सरकारले आफ्ना घोषणा, कार्यक्रम तथा योजनाहरूका कागजहरूमा सूचना–प्रविधिको सम्भावनालाई असाध्यै आशा जगाउने क्षेत्रका रूपमा लिएको देखिन्छ । तर, कागजभन्दा बाहिर व्यवहारमा भने यसबारे खासै रणनीतिक चासो राखेको भने पटक्कै देखिँदैन ।
प्रत्येक नयाँ बन्ने सरकारले ‘सूचना प्रविधिमा आएको क्रान्ति’ र ‘सूचना प्रविधिमा आएको क्रान्तिलाई विकासको आधार बनाउने’ भने पनि त्यो भनाइ र भाषणभन्दा अघि बढ्न नसकेको बुझाइ राख्छन् अधिकांश आईटी क्षेत्रको नेतृत्व गर्दै गरेको युवा ।
नाम कोट गर्न नचाहने सर्तमा एक आईटी व्यवसायी इन्जिनियरले भने, ‘सरकारले र नेताहरूले जे–जे भने पनि भाषणभन्दा एक पाइला अघि बढ्न सकेको छैन । तर, हामीले खुलेर सरकारको आलोचना पनि गर्न मिल्दैन । किनभने उनीहरूले भोलिदेखि नै हामीलाई गाह्रो पार्न थाल्छन् ।’
ती व्यवसायीले भनेको कुरालाई हामीले सरकारका आफ्ना आधिकारिक वेबसाइटहरू देख्न सक्छौँ । या त ती साइटहरू खुल्दैनन् वा खुलेका पनि अपलोड हुन समय लगाउँछन् । बल्लबल्ल खुले भने त्यसलाई सेवाग्राहीमैत्री अपडेट हुने स्तरको बनाइएकै हुँदैन ।
असुरक्षित सर्भर र कमजोर पासवर्डको आशीर्वादमा टिकेका सरकारी वेबसाइटहरू त्यही भएर ह्याक भइरहेको पनि यदाकदा सुन्न पाइन्छ । यसले पनि सरकारले यस विषयलाई धेरै गम्भीरतासाथ नलिएको देखिन्छ । सरकारी वेबसाइटहरू मात्रै होइन, कमजोर सर्भरमा नेपालका बैङ्किङ क्षेत्र पनि निर्भर हुनु परेको छ ।
- के नेपालको साइबर स्पेसको सार्वभौमिकता सुरक्षित छ ?
सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण प्रश्न हो– के नेपालको साइबर स्पेसको सार्वभौमिकता सुरक्षित छ ? हाम्रा संवेदनशील तथ्याङ्क कहाँ राखिएका छन् ? तिनीहरू कत्तिको सुरक्षित छन् ? नयाँ प्रविधिले राष्ट्रिय सुरक्षामा थपेको संवेदनशीलताबारे ध्यान कत्तिको पुगेको छ ?
आजका जमानामा ‘साइबरस्पेस’ मा पनि राष्ट्रको सार्वभौमिकता, राजनीतिक विचारधारा, आर्थिक प्रणाली तथा डेटा सुरक्षाको मामिला गम्भीर मामिला हो । नेपालले यसको रणनीतिक महत्त्वलाई खासै ख्याल गरेको भान हुँदैन ।
नेपालको अधिकांश ‘डेटा’ अन्य मुलुकका सर्भरबाट होस्ट हुने गर्छन् । संवेदनशील सूचनाको प्रयोग, सञ्चालनमा यसले पर्याप्त चुनौती ल्याउन सक्ने छँदैछ, तर यस विषयमा पनि सम्बन्धित क्षेत्रको ध्यान जान सकेको छैन ।
नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भारतका निजी कम्पनीहरू टाटा, एयरटेल सिफीजस्ता कम्पनीबाट इन्टरनेटको ब्यान्डविथ लिने गरेका छन् । अझ भारतको इन्टरनेट अडिटकै अन्तर्गत नेपालको इन्टरनेटको पनि अडिट हुने गरेको यस क्षेत्रका जानकार बताउँछन् ।
विभिन्न समयमा भुक्तानी लगायतका विवादका क्रममा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको कारण त्यही हो । आईटी क्षेत्रबारे कुरा गर्दै गर्दा हामीले बिर्सन नमिल्ने यस्ता कैयौँ विषय छन् तर सरकारले यसलाई धेरै गम्भीरतापूर्वक नलिएसम्म र यस क्षेत्रमा काम गर्ने विज्ञहरूले सार्वजनिक बहस नछेडेसम्म यी विषयमा धेरैको चासो नजान सक्छ र सरकारलाई दबाब नपुग्न सक्छ ।
त्यसैले आजैका दिनदेखि आम नागरिकमा डिजिटल लिट्रेसी बढाउन पर्ने खाँचो देख्छन् रविराज बराल । सायद हामी उनले भनेजस्तै डिजिटल्ली लिट्रेट भएर आफ्ना अधिकार र दायित्वको क्षेत्रमा सक्रिय हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण