शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाहको सक्रियताप्रति के भन्छन् नेताहरु  ?

मङ्गलबार, ०९ जेठ २०८०, १८ : २४
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।  

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिए ।  उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए । उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे ।  उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए ।  

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियताबाट तर्सिनु नपर्ने बताएका छन् ।  दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए । 

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताए । उनले नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्त्वहरू सल्बराइरहने टिप्पणी गरे ।  उनले पूर्वराजाको सक्रियतालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । उनले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप