बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सरकार छोड्न निर्णय गरेको पाँच दिनपछि कांग्रेसको पत्र माओवादीको हातमा

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह
मङ्गलबार, ०९ जेठ २०८०, १९ : ५२
मङ्गलबार, ०९ जेठ २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले जेठ ४ गते गरेको निर्णय माओवादी केन्द्र पार्टीपंक्तिमा पुग्न पाँच दिन लागेको छ । बैठकको निर्णयअनुसार कांग्रेसले माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन भन्दै पत्र पठाएको हो । 

संसदीय दलको तर्फबाट नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पत्र लेख्दै गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरेका हुन् । उक्त पत्र भने ५ गते पठाइएको भएपनि माओवादीको हातमा पुग्न ५ दिन लागेको हो । आफूहरुकहाँ आजै पत्र प्राप्त भएको आङ्बोले जानकारी दिए । 

संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धनअनुसार नै सरकार गठन भइसकेको अवस्था छ । गठबन्धन दलहरुको मर्म र भावना अनुरुप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरुप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गरिएको छ । ‘नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको मिति २०८०/०२/०४ को निर्णय बमोजिम तपाईहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्नुहुन आग्रह गर्दछु,’ काँग्रेस नेता थापाले लेखेको पत्रमा उल्लेख छ । 

कांग्रेसले २०७९ सालको आमनिर्वाचनमा विभिन्न राजनीतिक दलहरु मिलेर गठबन्धन गरी निर्वाचन लडेको विषय पनि उल्लेख गर्दै भनेको छ, ‘निर्वाचनको परिणामपछि गठबन्धन दलमा केही मतभेद देखा परी गठबन्धन दलमा केही फेरबदल भई सम्माननीय राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्धन दलहरु एकै ठाउँमा उभिएको कुरासमेत जगजाहेर छ ।’

माओवादी केन्द्र दलका नेता आङ्बोले भने उक्त पत्रबारे प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने बताएका छन् । ‘काँग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई जानकारी गराउँछु,’ उनले भने, ‘गठबन्धनको शीर्ष तहमा हुने सहमति र समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्नेछ ।’

विराटनगरस्थित प्रदेशसभा सचिवालयमा गत जेठ ४ गते बसेको काँग्रेस दलको बैठकले १० दलमा आबद्ध रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारबाट बाहिरिन औपचारिक आग्रह गर्ने निर्णय गरेको थियो ।

cc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप