शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

तीन युवकद्वारा ६१ लाखको सुनचाँदी चोरी

बिहीबार, ११ जेठ २०८०, १८ : १३
बिहीबार, ११ जेठ २०८०

विराटनगर । ६१ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विके कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।

तीनजना मिलेर गत जेठ ३ गते महानगरकै वडा नम्बर ३ पिपलचोकमा रहेको जयकिशोर चौधरीको घरमा चोरी गरी २० तोला सुन र ३६ केजी चाँदी चोरी गरेका थिए । चौधरी र खाँ ज्वोलर्सका सञ्चालक ज्योति प्रसाद खाँ सुन चाँदीको कारोबार अन्तर साझेदारीमा गर्ने गरेका थिए जस कारणले उक्त सामानहरू चौधरी घरमा राखिएको प्रहरीको भनाई छ ।

राति चोरी हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय मोरङमा फोन गरेर जानकारी गराइएको थियो । घटना लगत्तै चोरीको अनुसन्धानका लागि छुट्टै ८ जनाको टोली परिचालन गरिएको थियो । लगातार ७ दिनको अनुसन्धान र निगरानीपछि उनीहरूलाई जेठ १० गते राति कोशी प्रोजेक्ट स्थित सडक खण्डमा पक्राउ गर्न सफल भएको थियो । उनीहरू २ वटा कालो भिर्ने ब्यागमा चाँदीको सामानसहित भारततर्फ जाँदै थिए ।

उनीहरूको साथबाट २५ केजी चाँदी तथा ८ ग्राम सुन बरामद भएको छ । उनीहरूले सुन यसअघि नै भारतको जोगबनीमा ७ लाख रुपैयाँमा बेचेको खुलेको प्रहरीको भनाई छ ।

पक्राउ परेका मध्ये विवेक कामतले यसैगरी अन्य घरमा पनि चोरी गरेको बयान दिएका छन् । तीनै जना विगतमा समेत चोरीको मुद्दामा संलग्न रहेकाले अन्य घरमा चोरी भएका घटनाको सम्बन्धनमा पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप