कोरला नाकामा भन्सार कार्यालय बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना
नवलपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट आएका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताए । “कोरलामा चीनतर्फ भन्सार निर्माणका लागि उनीहरूले सबै पूर्वाधार बनाइसकेका छन्”, उनले भने, “नेपालमा जग्गा प्राप्तिको काम सकियो, तर अब निर्माण गर्ने कुरामा कमी भएको छ ।” आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उनले बताए ।
“यो करिडोर राष्ट्रिय गौरवको परियोजना हो”, उनले भने, “यसबाट सामान्य आउजाउ मात्रै नभएर त्रिदेशीय व्यापारको लाभ नेपालले लिन सक्छ ।” कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ ।
अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताए । “अहिले पछिल्लो समय कामले केही गति लिएको छ, अबको तीन वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माणको काम पूरा हुनुपर्छ”, उनले भने, “आयोजनाको काम ढिलो हुँदा लागत पनि बढ्छ, हामीले सेवा पनि ढिलो पाउँछौँ । लागत बढी हुने कुरामा किन लाग्ने, त्यसैले काम छिटो गराउन सबै जना लाग्नुपर्छ ।” यस करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण