हुम्लाको दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् ।
यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख धनराज ढकालले बताए । गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासुपुर पुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले बताए ।
गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको हो । गाउँगाउँमा पुगेर सेवा प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । त्यसैगरी, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको औलो रोगको नमूना सङ्कलन गरिएको ढकालले बताए । सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना सङ्कलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने उनले बताए ।
गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन् । मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना सङ्कलन गरिएको हो । स्वास्थ्य शाखाले औषधि छर्कने र झूल वितरण गर्ने काम गर्दै आएको छ ।
त्यसैगरी, मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ । दुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो । मासपुरमा सरकारी तवरबाट एउटा स्वास्थ्य संस्था र विद्यालयमात्र स्थापना भएका छन् । हालसम्म मालपोत कार्यालयमा लालपुर्जा भए पनि स्थानीयवासीको हातमा परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप
-
५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
-
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
-
ट्रकको ठक्करबाट एक युवकको मृत्यु
-
गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै